कागतीको माग बढेपछि निसीखोलाका कृषक दंग


आदर्श अनलाइन, बागलुङ

१५ वर्ष कतारमा सवारी चालकको रुपमा काम गर्दै आउनुभएका निसीखोला गाउँपालिका–४ झिम्पाका ३७ वर्षिय रेम बहादुर क्षेत्रीलाई कतारको लोभलाग्दो तलबी जागिरलाई छुटाएर गाउँ फर्कायो ।

पछिल्लो समय बागलुङमा व्यावसायीक कागती खेति गर्ने क्रम बढिरहेको छ । बागलुङ नगरपालिका, गलकोट नगरपालिका र निसीखोला गाउँपालिकामा कागतीको व्यवसायिक खेती थालिएको छ ।

तर बागलुङको निसीखोला गाउँपालिकाका क्षत्री सहितका केही किसानले भने कागती खेतिको व्यवसायीक विक्रि वितरण थालिसक्नुभएको छ ।

अगुवा कागती किसान रिम बहादुर क्षेत्री, निमलाल पौडेल र धरमराज पोख्रेलले उत्पादन गरेको कागतीले राम्रो बजार पाउन सफल भएको छ ।

नौं वर्षअघि १० बोटबाट कागती खेति थाल्नुभएको रेम बहादुर क्षेत्रीको फर्ममा अहिले ४०० कागतीका बोट रहेका छन् । अहिले ४०० बोटमध्ये १५० बोटले कागती उत्पादन दिइराखेको छ । उहाँले गत वर्ष मात्रै कागती विक्रिबाट दुई लाख आम्दानी गर्नुभएको र यस वर्ष आम्दानी बढेर तीन लाख ५० हजार पुग्ने बताउदै कागतीको माग राम्रो भएको बताउनुभयो ।

“कागतीको राम्रो संभावना देखेरै कागतीका विरुवा रोपेको थिए, नियमित हेरचाह गर्न नपर्ने खेतिभएकाले विरुवा थप्दै विदेश जादै गरे, जब उत्पादन थाल्यो त्यसपछि विदेशलाई बिट मारेर यही व्यवसायमा लागे” क्षत्रीले भन्नुभयो “अहिले यहाँको कागती बुर्तिवाङ बजार, बुटवल, पोखरा र काठमाण्डौं पुग्छ, यो वर्ष १६ क्विन्टल विक्रि गरिसके बगैचामा अझै १० क्विन्टल विक्रि गर्न बाँकी छ, होलसेलमा प्रतिकेजी एक सयमा विक्रि गरिरहेको छु, यो वर्ष मात्रै तीन लाख आम्दानी हुनेछ ।”

क्षत्रीले बजारको माग राम्रो भएकाले थप २० रोपनी जग्गामा कागती र टिमुर खेती गर्ने योजनामा रहेको बताउदै कागतीको बजार राम्रो भएकाले निसिखोलाका कृषक कागती खेतिप्रति जागरुक भएको बताउनुभयो ।

३७ वर्षिया क्षेत्रीले निसीखोला गाउँपालिका–४ छिम्पामा जीवन पोल्टी फर्म तथा विविध कृषि केन्द्र स्थापना गरी २०७४ सालदेखि फर्म दर्ता गरेर आफ्नै १५ रोपनी जग्गामा कागती खेति गर्दै आउनुभएको छ । क्षत्रीले विदेश गएर कमाएको रकमले फर्म व्यवस्थापन गरेको श्रीमती लिला पौडेलले फर्ममा सहयोग गर्दै आएको बताउनुभयो ।

क्षत्रीको फर्ममा कागती खेति संगै १० घार मौरी र २०÷२० बोटबाट हलुवावेद र अमिलो समेत उत्पादन भइरहेको छ ।
अहिले कागतीको माग धान्नै धौ भएको क्षत्रीको भनाई छ । कागतीको दाना संगै चुक र अचाँर समेत विक्रि गर्न सकिने उहाँको भनाइ छ । क्षेत्रीले वार्षिक ४० लाख आम्दानी गर्ने योजनाका साथ कागती खेति विस्तारमा लागेको बताउनुभयो । यस्तै निसीखोला गाउँपालिका–४ बडाचौरका निमलाल पौडेलले यस वर्ष ३० क्विन्टल कागती विक्रि गरिसक्नुभयो ।

२६ रोपनी जग्गामा उहाँका नयाँ तथा पुराना विरुवा गरी ४५० बोट रहेका छन् । अहिले उहाँको कागती बगानमा झण्डै ३० क्विन्टल कागती अझै विक्रि गर्न बाँकी रहेको छ । पौडेलले २०५५ सालमा १०० बोटबाट शुरु गरेको कागती खेतिलाई क्रमश व्यावसायीक बनाउदै आउनुभएको छ । उहाँले उत्पादन भइरहेको कागतीलाई बुटवल, काठमाण्डौ र पोखरा लगायतको क्षेत्रमा विक्रि हुनेगरेको बताउनुभयो ।

“सुन्तला तत्कालै विक्रि नगरे विग्रन्छ, तर कागतीको दाना एक महिना केही हुँदैन, विक्रि नभए चुक बनाएर वर्षौ टिकाउन सकिन्छ भनेर कागती खेति थालेको थिए, अहिले त विक्रि राम्रो छ, चुक बनाउनै पदैन” पौडेलले भन्नुभयो “अहिलेको बजार हेर्दा कागती खेतिलाई अझै विस्तार गर्न आवश्यक छ, निसीखोलामा कागतीको राम्रो खेति भएको पाएका छौं, यहाँका धेरै कागती खेति गर्ने किसानहरु मिलेर एकमुष्ट बजारीकरण गर्दै आएका छौं ।” पौडेलले कागतीलाई प्रतिकेजी १५० देखि एक सय सम्म विक्रि गर्ने बताउनुभयो ।

केही फलफुल व्यापारी गाडी लिएर कागती लिन आउछन्, कहिले आफै लगेर विक्रि गर्ने गरिने पौडेललको भनाई छ । उहाँले सृष्टि कृषि तथा पशुपालन फर्म दर्ता गरेर व्यावसायीक कागती खेति गर्दै आउनुभएको छ ।

यस्तै निसीखोला गाउँपालिका–५ का धर्मराज पोख्रेलले समेत व्यावसायीक रुपमा कागती खेती उत्पादन गर्दै आउनुभएको छ । पोख्रेलको कागती बगानमा अहिले ४०० बोट हुर्किरहेका छन् । कागतीका लागि उपयुक्त भोगोल भएकाले निसीखोलाका किसान त्यसतर्फ आकर्षति भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराइले बताउनुभयो । उहाँले त्यस क्षेत्रमा कागती नर्सरी निर्माणका लागि ज्ञान केन्द्रले अनुदान दिने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *