नमस्ते ३

शिवशरण ज्ञवाली
अघिल्लो दिन सात बजे उठ्ने भनिए पनि मनिषजी र म उठ्दा साढे सात भइसकेको थियो । विद्यार्थीहरु उठेर तयार भइसकेका रहेछन् । गन्तव्यतर्फको उत्साहले उर्जा भरिदिएछ कि उनीहरुलाई ?

चिया खाजाका बेला हामीलाई फिस्टेल लजका मालिकले चोर औंलाले सेतो हिमालतर्फ हाम्रो गन्तव्यस्थान देखाउँदै भने, ‘तपाईंहरु त्यो हिमाललाई पछाडि पारेर अझ माथि जानुहुनेछ । यहाँबाट ऊ त्यसरी फनक्कै घुम्नुहुनेछ ।’

उनले त्यसो भन्दा चिसो बिहानमा विद्यार्थीहरु उत्साहले कोहोलो हाल्दै चिच्याए । मानौं, उनीहरुको आवाजको केही अंश त्यही सेतो हिमालमा ठोक्किइ प्रतिध्वनित हुँदै हामीतिरैतिर फर्किएको थियो भने केही अंश हामी आइपुगेका छौँ भन्ने सन्देश बोकेर हिमालको चुचुरो नाध्दै अन्नपूर्ण पुगेको थियो । त्यहीबेला आकाशमा एउटा काग होटलका मालिकले देखाएको दिशातिर वेगवान् थियो ।

पृष्ठभूमिमा माछापुच्छ«ेले हामीलाई खिसिक्क दाँत देखाएर मुस्कान छरिरहेको थियो । हामीले माछापुच्छे«को मुस्कानमा मुस्कान मिलाउँदै फोटोहरु खिच्यौँ । हाँस्न नजान्नेहरुलाई पच्चीसका नियम लगाउने टोली नेता सृष्टि नै थिइन् कि ? बिहानको पारिलो घामले स्पर्श गरे पनि त्यो त्यति न्यायो भइसकेको थिएन । शरीर त हिडाइले मात्रै तात्ने निश्चित थियो । हिजोको थकाइ रातभरिमा ‘रिचार्ज’ भइसकेको थियो ।

बिहानको चिया खाजा खाएर छुमरुङबाट हिड्दा त्यस्तै सवा आठ बज्दै थियो होला । सबैका हातहातमा लौराहरु थिए । कसैले बजारिया लौरा टेकेका थिए त कसैले बाटोमा भेटिएका निगालोका लौराहरु टेकेका थिए । सबैका काँधमा सामल बोकिएका झोलाहरु थिए । झोलाहरुको तौल बढीमा पच्चीस केजीसम्म हुँदो हो । झोलाका गोजीका उनिएका ससाना थर्मसहरु गुरुङ्सेनीले दुई कानमा उनेका रङ्गीबिरङ्गी फूल जस्तै देखिन्थे, पछाडिबाट हेर्दा । मान्छेहरु पनि रङ्गीबिरङ्गी नै थिए नि ! वर्णदेखि लुगासम्म । हिडाइ पनि बेतालको थियो । कोही अगाडि पुगिसकेका थिए त कोही निकै पुछारमा थिए । कोही लमकलमक लामा पाइला हाल्थे कोही बिस्तारै मुस्किलले पाइला चाल्थे । वृद्ध दमका रोगीहरुले मुखमा स्प्रे हान्दै अगाडि बढ्थे ।

हाम्रा अगाडि खच्चर पनि देखिए । ती खच्चरहरु रातभरी किर्लिङ किर्लिङ घन्टी बजाउँदै ओहोरदोहर गरेको सुनिन्थ्यो । खच्चर गोठालोको चर्को आवाजले हाम्रो निद्रालाई पनि बेलाबेला बिथोलिदिन्थ्यो । त्यो बाटो छुमरुङबाट ओरालो खोलामा झरेर ठाडो उकालो र तेरपायँ हुँदै सिन्वा निस्किदो रहेछ । छुमरुङ र सिन्वालाई झोलुङ्गे पुलले जोड्दो रहेछ । त्यो झोलुङ्को पुलको छेडोबाट देखिने त्यो हिमाल क्याम्पसबाट देखिने धौलागिरिजस्तै सेतो थियो । तर धवलागिरि नै भने होइन है ।

सिन्वा निस्कने तेरपायँ बाटोमा होटल रेष्टुरेन्टहरु निकै रहेछन् । निकै सफा बँसु बँसु लाग्ने रेष्टुरेन्टहरु ! हामीमध्ये कसैले पारि तेरपायँ गोरेटो चोर औंलाले देखाउँदै भन्यो, ‘ऊ त्यही बाटो सिन्वा पुग्ने हो रे !’ मैले मनमनै जवाफ दिएँ, ‘हिड्ने बेला बाटो नहेर्नु, श्रमका बेला काम नहेर्नु ।’

झोलुङ्गे तरेर ठाडो उकालो लाग्दा खुट्टाका पिडांैला बटारिए । हामीमध्ये कसैले भन्यो, ‘कतिखेर सकिन्छ यो उकालो ?’ अगाडिबाट आइरहेका यात्रीले भनें, ‘अलि मास्तिरसम्म मात्रै हो त्यसपछि तेर्सो आउँछ ।’ उकालो चढ्न हिडेकालाई तेर्सोको के पर्वाह भयो र ? ती यात्री त्यही बाम्बो सिन्वा छुमरुङतिर रुमल्लिइरहने यात्री पो हुन् कि ? नजिकको तीर्थ हेला भनेजस्तै उनलाई त्यो अन्नपूर्णसँग के सरोकार थियो होला र ?

छुमरुङको ओरालो झर्दा आँगनको डिलमा उभिएर हामीलाई हेरिरहेका एकजना वृद्धसँग केहीबेर मैले भलाकुसारी गरें । गुरुङ थरका उनले भने, ‘हामी त पहिल्यै यहाँ आएका हौँ । आजकाल बागलुङ म्याग्दीबाट पनि मानिसहरु व्यापारका लागि आएका छन् । यो ठाउँमा खास खेती हुँदैन । उही व्यापार व्यवसायको भर हो । २०४६ पछि यसरी मानिसहरु हिमाल हेर्न आउन थाले अनि यहाँका मानिसहरुले पैसाको मुख देखे ।’

आजकाल जस्तो कहाँ पहिलापहिला पैसाको मुख देख्न पाइन्थ्यो र ? बाहरुले निकै दुखका कथा सुनाउनुहुन्छ, हामीलाई । बाँसको छेस्कालाई कलम बनाएर ध्वाँसोको मसीमा चोपी पढेको कथा त हामीलाई रोचक पो लाग्छ । बनारसमा पढ्दा आधा पेट खाएको कथाले मन कटक्क हुनुबाहेक के गर्न सक्छ र ? दुई रुपैयाँ रिणका लागि दुई दिन अर्काको मेलामा मकै खन्नुपरेको कथा पनि बाकै हुन् । भातका सिता देख्न दशैं कुर्नुपर्ने कथा आजकालका मानिसहरुलाई के थाहा ?

ती वृद्धले त्यही पैसाको कथा सुनाए । उनले खेती हुन्न भने पनि घरको बार्दलीमा मकैका झोत्ताहरु देखिन्थे भने बारीमा आलु रोपिएको थियो । टाउको उठाएर माथि हेर्दा डरलाग्दो भीर देखिन्थ्यो । उनलाई मैले सोधें, ‘तपाईं पनि होटल व्यवसाय गर्नुहुन्छ कि ?’ उनले जवाफ दिदैं भने, ‘त्यति धेरै त होइन चार पाँच जनासम्म पाहुना म पनि राख्न सक्छु ।’

मैले फेरि उनलाई माथिको पहरोतिर देखाउँदै सोधें, ‘बा ! यो माथिको भीर त खस्दैन ?’ उनले जवाफ दिएँ, ‘अहँ ! यो कहिल्यै खस्दैन ।’

मैले यस्तो पहरो खस्दैन भन्ने कुरा सानिमाको घर जाँदा पत्तो पाएको हुँ । सानिमाको घरमाथि त्यस्तै ठूलो पहरो थियो । तलबाट हेर्दा निकै डरलाग्दो भए पनि त्यो कहिल्यै खसेन । त्यसो त जीवन सकिनका लागि ढुंगाको पहरो खस्नै पर्छ भन्ने रैनछ । २०७६ को माघ महिनाको कुनै दिन बिहानै अठाचालिस उन्नचास वर्षको उमेरमा करिब पाँचै मिनेटभित्र मुटुभित्र पहरो खस्दा सानिमाको जीवन सकियो । हामी एकछिन भरङ्ग र सदाका लागि एक्ला भयौँ । भाइहरु र बहिनी अचानक टुहुरा र मर्माहत भए । सानबा अकल्पनीय एकल पो हुनुभयो ।

मैले उनीसँग गफ गर्दा हाम्रा विद्यार्थीहरु खोलामा पुगिसकेका थिए । गफ गर्ने मनलाई चटक्कै रोकेर म उनीसँग बिदा भएँ । छुमरुङबाट ओरालो झर्ने सिंढीमा ढुङ्गा छापिएको थियो । त्यहाँ भंैसीहरु चराइदो रहेछ । घोडा, खच्चर र भैंसीको गोबरले गर्दा बाटो गन्थ्याउँथ्यो । तर मलाई भने गोबर गोबर गन्हाउनुभन्दा बढी बसायो । गोबरको पनि आफ्नै सुगन्ध छ नि !

सानामा हामी गाइगोरु हेर्ने छिपछिपे पानी हुँदै दहका घनघोर जङ्गल जान्थ्यौँ । गाउँभरिका साथीभाइहरु जम्मा भएर गाइगोरुको लस्कर लगाउँदै कोहोलो हाल्दा रनवन घन्किन्थ्यो । कहिलेकाही बाघले झुक्काएर गाइगोरुको भोक्रो फोरिदिन्थ्यो । हामीले थाहा पायौँ भने बाघले फोरेको भोक्रो त्यही गोबर टालिदिन्थ्यौँ । गाइगोरु जुधेरे सिङ फुकाले भने पनि त्यही गोबर उपयोगी हुन्थ्यो । पशुप्राणीको उपचार गर्ने प्राथमिक तौरतरिका त्यही थियो । तिनै गोबरे हात पुछेर हामीले बाँदर वा डुक्रे मुसाले खाइ फालेका मर्दीका आँपका खैला चुस्थ्यौँ ।

जीवनमा गोबरका पनि आफ्नै कथा हुँदा रहेछन् । हामी हिडिरहेको बाटोको दुवै छेउतिर घर र खेतीबारीहरु थिए । वस्तुभाउहरु थिए । घर त के भन्नु ती सब होटलहरु रहेछन् । विद्यार्थीहरु भन्दै थिएँ, ‘ऊ खोले साग रहेछ । टिपी पखालेर भुटेर खान मिल्छ ।’

हाम्रो घरतिरकाले भन्दा बागलुङ म्याग्दी तिरका मानिसहरुले खाने जडीबुटी बढी भेटाउँछन् । हाम्रातिर खासै धेरै खान जानिदैन । मैले पनि धेरैथोक खान सिकेका यतै आए पछि हो ।

मनिषजी र म छुमरुङको चेकपोष्टमा पसेर इन्ट्री ग¥यौँ, एक्यापमा । त्यही इन्ट्री गर्दागर्दै बीचमा एकजना हाफ ज्याकेट र पहेलों कपडा लगाएकी युवती पनि आइपुगिन् । उनले टिकट लिएर आएकी थिइन् । मनिषजीले उनको टिकट देखेर कर्मचारीलाई सोध्नुभयो, ‘हामीले के के गर्नुपर्छ ?’

कर्मचारीले जवाफ दिए, ‘नेपालीले केही गर्नु पर्दैन । विदेशीका लागि मात्रै हो ।’ मैले ती युवतीलाई खास ध्यान दिएको थिइन् । बरु मनिषीजीकै कुरा भइसकेको रहेछ । पछि उहाँले त्यो कुरा मलाई भन्नुभयो ।

त्यहाँ मनिषजीले चेकपोष्टका कर्मचारीको अन्तर्वार्ता सहितको भिडियो पनि खिच्नुभयो । उनले हामीलाई भने, ‘राति नहिड्नुहोला । वन्यजन्तुको पनि खतरा हुन्छ । बाटो पनि अप्ठ्यारो छ । बाटो ढुङ्ग्यान छ । चलुवा ढुङ्गामा परेर कोही लड्न सक्छन् । बाघ भालुले आक्रमण गर्न सक्छन् । रात पर्नुभन्दा एकाध घन्टा अगाडि नै बास बस्नुहोला ।’

उनले भने जस्तै विदेशीहरुले त्यसै गरेको पाइयो । तर नेपालीहरु भने भीरपाखामा अभ्यस्त नै थिए । त्यसैले राति अबेरसम्म पनि हिडिन्थ्यो । हामी पनि हिड्यौँ । तर त्यसरी हिड्नु जोखिम नै हो । त्यो जोखिमले कुनै दुर्घटना निम्त्याउन बित्तिबेर लाउँदैनथ्यो ।

मलाई रातमा हिड्दा विगतको सम्झना भयो । एकपटक सानामा राति बार बजे उठेर रेसुङ्गामा नुन हाल्न गएका थियौँ । भलाएचौर माइला बुबाकोमा लक्ष्मीवर्तीको पूजाको समापनको क्रम थियो, त्यो । हामी बाउ छोरा खोर्लेवाबाट हिडेका थियौँ भने भलाएचौरबाट ठुलाबुबा माइला बुबा लगायत शायद दाइहरु पनि हुनुहुन्थ्यो होला । हाम्रो ठूलोपोखरामा भेट भयो । बिहान पाँच बज्दा त हामी रेसुङाको माइती ओढार पुगेका थियौँ । त्यहाँबाट तल घरतिर फर्केर हेर्दा सम्मो परेको फाँट देखियो । रेसुङ्गाबाट मधेश देखिन्छ भन्ने किस्सा सुनेको मैले बालाई त्यो फाँट देखाउँदै भने, ‘ऊ बा ! हेर्नु त मधेश देखियो ।’ बाले भन्नुभयो, ‘मधेश होइन कुहिरो लागेर सम्मो देखिएको हो ।’ बाले त्यसो भन्दा मलाई आफ्नै अबोधपनदेखि लाज लागेको थियो । रेसुङ्गा जाने बाटोको त्यो माइत ओढार आज आफैमा किस्सा बनिसकेको छ ।

हामी झोलुङ्गे तरेर सिन्वाका लागि उकालो लाग्यौँ । उकालोको मुखमा रहेको पसलमा एकजना झापाका विद्यार्थीसँग कुराकानी भयो । झापाली भने पछि पूर्व प्रधानमन्त्री केपी ओली र उनले पाएको चुनावी सफलताका विषयमा हाम्रो कुरा चल्यो । हामी सँगसँगै एकजना युवती हाम्रो पछिपछि आइरहेकी थिइन् । उनलाई मैले सोधें, ‘तपाई पनि झापाबाट हो ?’ उनी अक्क न बक्क भए पछि बल्ल बुझें, मैले । ती नेपाली रहिनछन् । अनि मैले सोधें, ‘ह्वेयर आर यु फर्म ?’ तब उनले हिन्दीमा जवाफ दिइन्, ‘मे बेग्लोर से हुँ । आप ?’ मैले जवाफ दिए, ‘यु आर मस्ट वेलकम ! आइ एम नेपाली !

अनि उनीसँग म कुरा गर्दै उकालिएँ । उनी एक्लै आएकी रहिछन् । आइटी क्षेत्रमा काम गर्दि रहिछन् । दश दिन बिदा लिएर पदयात्रामा निस्केकी रे ! सुस्तसुस्त निरन्तर हिडिरहने स्वभाव रहेछ उनको । उनी त्यो उकालोमा दश पन्ध्र मिनेट जान्थिन् अनि रोकिन्थिन्, केही मिनेट । पानी खान्थिन् फेरि उकालो लाग्थिन् । मैले उनलाई मनिषजीसँग पनि चिनजान गराएँ । हामी हिन्दी र अङ्ग्रेजीमा कुराकानी गरिरहेका थियौँ । उनीसँग कुराकानी गरेर हिडेको देखेर विद्यार्थीहरुले मलाई जिस्काउँदै भने, ‘सर ! सुनवालीका पछाडि लाग्नुभयो ।’

बेग्लोरबाटै एक्लै आएकी पदयात्री भेट्दा मेरा मनमा अनेक कुरा खेले । भारत मानव सागर भएको देश भए पनि त्यहाँ महिलालाई खासै गिन्ती गरिदैन । मान्छे मानिदंैन । दिल्लीमै बलात्कार गरेर मारिएका खबरहरु आउँछन्, त्यो पनि बसमै । इज्जतदार महिलाहरु समेत मारिन्छन्, बलात्कारमा । संसदमा महिलामाथि जुत्ता हानिन्छ । बाटोको मोटरसाइकल चलाइरहेको युवक युवती देख्यो भने रोकेर दुव्र्यवाहर गरेर जान्छ । सकेसम्म महिला काममा नदेखिनु इन्डियन रीति हो । तापनि ती साहसी युवती पदयात्रामा एक्लै हिडिरहेकी थिइन् ।

हामी बिस्तारै अप्पर सिन्वा पुग्यौँ । अप्पर सिन्वामा चिया खाएर फेरि ओरालो लाग्यौँ । बम्बोमा पुगेर खाना खाने योजना थियो । सिन्वा कटेपछि भने मानव बस्ती पातलो हुँदै गयो । खेतीपाती पनि त्यसपछि देखिएन । वस्तुप्राणीहरु देखिएनन् । खच्चर पनि हिड्न छाडे । बाटो पनि साँगुरो र अप्ठ्यारो हुँदै गयो । पदयात्रीहरुको भिडभाड पनि बढ्दै गयो । लस्कर लागेर मानिसहरु हिडिरहेका थिए । मनमनमा लाग्थ्यो, ‘यी मानिसहरु कहाँ र किन हिडिरहेका होलान् ?’ अप्पर सिन्वाबाट ओरालो लागेर फेरि जङ्गलतिर बाटो उकालो लाग्यो । बीचमा खोला पनि आयो । पानी खानका लागि बाँसको धारो काटेर बनाइएको सानो तिरतिरे धारो पनि भेटियो, बाटोमा । आफ्नो पधेँराको जस्तै धारो देख्दा मन घरै पुग्यो । त्यो ठाडो खोला छिचोल्दै हामी तेर्सो गएर ओरालो लाग्यौँ ।

बाटोमा काँकडभिट्टा बहुमुखी क्याम्पसबाट आएका विद्यार्थी दिपेश नेपालसँग भेट भयो । उनी आफ्नो क्याम्पसको अन्नपूर्ण आधार शिविर यात्रा व्यवस्थापन समितिको सचिव रहेछन् । उनी भन्दै थिए, ‘हामीलाई प्रतिविद्यार्थी क्याम्पसले एक हजार रुपैयाँ दिएको छ । बाँकी स्थानीय निकाय तथा संघ संस्था र हामी स्वयंले उठाएर जुटाएका छौँ ।’

मैले उनलाई सोधें, ‘तपाईहरु यहाँबाट फर्किएर गए पछि यात्राका बारेमा कुनै लेख रचना प्रकाशित गर्नुहुन्छ कि नाइ ?’

उनले जवाफ दिदै भने, ‘हाम्रो त्यस्तो कुनै योजना छैन । विशुद्ध भ्रमणको उद्देश्यले आएका हौँ ।’ उनीसँग मेरो समसायिमक राजनीतिक विषयमा पनि केही कुराकानी भयो । नहोस् पनि किन झापाले राष्ट्रिय राजनीतिमा उल्लेख हस्तक्षेप गरेको छ नि !

म सबैलाई छाडेर अलिक अगाडि पुगिसकेको थिएँ । बाटो बाम्बोको ओरालो लाग्दै थियो । कति सिंढी थियो त कतै ढुंगाको बाटो थियो । छेउतिर भिर थियो । त्यो ओरालोमा मेरो एकजना मलेसियनसँग साक्षात्कार भयो । औपचारिक कुराकानीपछि मैले उनलाई सोधें, ‘सो मेनी नेपाली पिपुल आर वर्किङ इन योर कन्ट्री डु यु नो ?’

उनले जवाफ दिदैं भने, ‘यस ! आइ नो ?’ उनी बुद्धिष्ट रहेछन् । उनले नेपालमा हिन्दूहरु छन् कि बुद्धिष्ट छन् भनेर मलाई प्रश्न गरे । मैले उनलाई जवाफ दिदैं भनें, ‘नेपालमा हिन्दूहरु बढी छन् तर बौद्ध धर्मसँग हिन्दूहरुको भाइचाराको सम्बन्ध छ ।’ उनले मलाई लुम्बिनी नजिकको आफ्नो एकजना नेपाली साथी भएको बताए ।

म उनलाई छाडेर अगाडि लागें । ओरालोको फेदमा पुगेपछि बाम्बो आइपुग्यो । म त्यहाँ पुग्दा त्यस्तै साढे एक बजेको थियो होला । म पुग्नुभन्दा पहिल्यै तारा, धन, सन्तोषी र राम पुगिसकेका रहेछन् । उनीहरुले त्यहाँ पुगेर खाना खाइसकेका थिए । उनीहरुले मलाई भने, ‘सर छिटोछिटो खाना खानुस् र सँगै जाऊँ हामीसँग ।’

बेग्लोरकी मनस्वीनि (विद्यार्थीका भाषामा सुनवाली) पनि त्यहाँ लेमन जुस र बिस्कुट खाँदै थिइन् । उनी हाम्रो बाटोभर मनस्वीनिभन्दा पनि सुनवाली भनेर प्रख्यात भइन् । संयोग पनि कस्तो भने उनले त्यसदिन लगाएको पोसाक पनि सुन जस्तै पहेंलो थियो । त्यहाँ मैले उनलाई भनेको थिएँ, ‘हेलो मनस्विनीजी ! यु आर भेरी फास्ट ।’ उनले खिसिक्क हाँसेर जवाफ दिइन्, ‘मे जा रहा हुँ ।’ मैले भने, ‘ओके गुडलक !’

त्यति भए पछि विद्यार्थीहरुलाई के चाहियो ? उनीहरुले मलाई जिस्काउन छाडेनन् । हिमालयमा पुगेर बास बसेका बेला पनि उनीहरुले ‘सुनवाली’ तल्लो होटलमा बसेकी छन् भन्दै जिस्काए । झापाका विद्यार्थीहरु होटलको चौरमा फालिएका थिए । पछि हामी त्यसैगरी चौरमा बसेर थकाइ मा¥याँै ।

बाम्बोमा खाना खाने बेला केही भरियाहरुले हामीलाई तर्साउने कुरा गरे । उनीहरुले भने, ‘देउरालीभन्दा माथि लागे पछि ढुंगा खस्न सक्छ, माथि भीरमा वन्यजन्तुहरु हिड्दा । ख्याल गर्नुहोला ।’

उनीहरुले यो पनि थपे, ‘परार साल दुर्घटना भएर पर्यटकहरु पनि मरे ।’ त्यो कुराले विद्यार्थीहरु डराए पनि । तर मैले उनीहरु नडराइकन हिड्न प्रेरित गर्नुपथ्र्यो । गरिरहें । हामी जति माथि जान्थ्यौँ, त्यति घनघोर जङ्गल थियो । त्यति विकट थियो । त्यति अन्कन्टार थियो । भित्र मनमा कतै केही भइहाले उपाय छैन है भनेजस्तो लाग्थ्यो । त्यही भएर मैले विद्यार्थीलाई भनेको थिएँ, ‘तिमीहरु चिन्ता नगर्नु । कुनै समस्या आएमा म तिमीहरुलाई हेलिकप्टरबाट सुविधाजनक ठाउँमा लैजाने बन्दोबस्त मिलाउँछु । हामी ठूलो संस्थाबाट आएका छौँ । काँध थाप्न सजिलो छ । कोही नभए म छँदैछु ।’

पछि एकाध विद्यार्थीले बाटोमा कतै भनेको सुनेको थिएँ, ‘सरले हामीलाई आँट दिनुभयो ।’ बाम्बोबाट अगाडि लागेपछि नौलो आभाष हुन थाल्यो । घनघोर जङ्गलको बीचबाट उकालो बाटो अगाडि बढ्यो । मानिसहरुको ताँती थियो । झमक्क साँझ पर्ने बेला हामी एउटा खोंचमा पुग्यौँ । त्यो खोचको पारिपट्टि निकै धेरै छहराहरु खसिरहेका थिए । निकै सुन्दर थिए, ती छहरा । ती छहराहरु सात सय वटा छन् रे ! त्यहाँभन्दा माथि डिगाबाच्छा समेत लगिदैंन रहेछ । डिगाबाच्छा लगे पनि त्यो ठाउँमा पुगेपछि कराउँदैनन् रे आदिआदि मिथ सुन्दै हामी अगाडि बढ्यौँ ।

त्यति धेरै र लामा छहराहरु मैले आजसम्म देखेको थिइन् । गल्कोटको गाइघाटको छहरा एक पटक पुगेको थिएँ । पोहर सालको साउनमा तम्घास जाँदा हामी बाउछोराले ह्वाक्ने छहरालाई पृष्ठभूमिमा राखेर निकै फोटो खिचेका थियौँ । कालीगण्डकी कोरिडोर जाँदा पनि एउटा छहरा आउँछ, पूर्तिघाटको नजिकै । तर त्यो खोचमा निकै धेरै छहराहरु बगिरहेका थिए । निकै माथिबाट बगेका थिए । सुन्दर !

हिमालय पुग्नका लागि त्यहाँबाट सिधै नाके ठाडो उकालो सिढी चढ्नु पर्दो रहेछ । त्यस्तै सय पचासवटा सिंढी हुँदा हुन् । हामी गाउँघरतिर त्यस्तो उकालालाई ठाडो डहर भन्थ्यौँ । झमक्क साँझ पर्दा हामी उकालो चढ्यौँ । अँध्यारो नै भइसक्दा बल्लबल्ल हामी हिमालय पुगेका थियौँ । त्यो उकालोमा हामीले झापाली केही विद्यार्थीहरु बडो मुस्किलले हिडिरहेको भेट्यौँ । त्यो उकालो अब अन्नपूर्णतिर नै चढ्दै थियो । कुन्ती मोक्तानको गीत थियो नि ‘माथि माथि शैलुङ्गीमा…’

हिमालयमा हामीले अष्ट्रेलियन नागरिक निकलाई पनि भेट्यौँ । सागरले निकसँग एकछिन भलाकुसारी पनि गरे । म पनि थपिएँ । विदेशीहरु भने अँध्यारो हुनुभन्दा एकाध घन्टा पहिल्यै बास बस्दा रहेछन् । उनीहरुले फोटो पनि जथाभावी खिच्दा रहेनछन् । केही नौँलो लाग्यो भने मात्रै फोटो खिचेको देखिन्थ्यो ।

यात्राको दोस्रो दिन हामी हिमालयको रोयल होटलमा गएर बस्यौँ । हिमालय नयाँ व्यापारिक केन्द्र रहेछ । स्थापित भएको भर्खर चार पाँच वर्ष भएको रहेछ । छेउमा भयङ्कर आवाजमा बग्ने मोदी खोला र हिमालयभन्दा तल खोचमा वराहको मन्दिर निर्माण हुँदै रहेछ ।

हिमालयको माथिपट्टि निकै ठूलो भीर थियो । त्यही भीर मुनि हामी बास बस्यौँ । त्यहाँ भविष्यमा कुनै भवितव्य नआउला भन्न सकिन्न । त्यहाँको वातावरण अत्यन्त चिसो थियो । साँझमा पनि कुहिरो लागेको थियो । तल बाटोमा अन्नपूर्णतिरबाट ओर्लने यात्रीले हामीलाई भनेका थिए, ‘आज माथि हिऊँ परिरहेको छ ।’

हामी थकित पनि थियौँ । चिसो पनि थियो । त्यसैले त्यहाँ खास नाचगानको कुरा त भएन । प्रविनाको जन्मदिन मनाएर रमाइलो ग¥यौँ ।

त्यसदिन हामीले थुप्रै विदेशीहरु भेटिसकेका थियौँ । बाटोबाटोमा सहयात्री बन्थे क्षणक्षणमा । कोही जर्मन कोही अष्ट्रेलिया कोही मलेसिया कोही उत्तर कोरिया कोही चेक रिपब्लिक कोही अष्ट्रिया कोही इग्ल्यान्ड कोही भारत फरकफरक कता हो कताका संसारबाट कहाँ हो कहाँ आएका मानिसहरुसँग हाम्रो दोस्ती हुन्थ्यो । हामीलाई उनीहरुको साहरा नचाहिए पनि उनीहरुलाई हाम्रो सहारा चाहिन्थ्यो ।

यो बाटोमा मानिसहरुका लस्करबाहेक अरु केही देखिएन । होटलहरु पनि विदेशीहरुले भरिभराउ थिए । छेउमा ठूलो आवाजमा बग्ने मोदी खोला थियो । वर्खामा कत्रो पो हुँदो हो ? यहाँसम्म आइपुग्दा हामीले पर्यटक भेटिए भने नमस्ते भन्न सिकेका थियौँ । हामीले विदेशी पर्यटकलाई मात्रै होइन, नेपालीहरुलाई पनि नमस्ते भन्न थालेका थियौँ । फरक के थियो भने विदेशीहरुले हामीले नमस्ते भन्दा नमस्ते भनेर जवाफ फर्काउँथे तर नेपाली पर्यटकहरुले भने खिसिक्क हाँसेर टार्थे । पहिलेपहिले गरिने नेपाली अभिवादन पर्यटकहरुले पो पुर्नजीवित गरेका रहेछन् । भोलि अन्नपूर्ण हिमालको चुचुरो देख्ने सपनासँगै, हामीले पदयात्रा बिसायौँ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *