चिसो सिरेटोमा स्याउको बगैचा व्यवस्थापनमा व्यस्त मुस्ताङका कृषक

अमृत बाास्कुने, म्याग्दी
अहिले हिमालपारीको जिल्ला मुस्ताङको तापक्रम स्याउ उत्पादन हुने क्षेत्रमा माइनस १५ सम्म पुगेको छ । यही माइनस १५ डिग्रीको तापक्रममै भए पनि स्याउ कृषकहरु अहिले बगैचा व्यवस्थापनमा व्यस्त रहेका छन् । चिसो ठिहिराउँदो सिरेठोलाई झेल्दै उजाड बनेका स्याउका बोटलाइ आगामी दशैँ तिहारको सिजनमा रसिलो स्याउ फलाउने कल्पनासहित सक्रिय रुपमा खट्दै छन् कृषक ।

रसिलो स्याउको राजधानीको रुपमा रहेको मार्फा, कोवाङ, टुकुचे, जोमसोम, ठिनि, पुरानो मार्फा, ताङ्वे लगायतका क्षेत्रका स्याउ कृषकहरु स्याउ जातका फलफुलको बगैचा व्यवस्थापनमा खटिरहेका छन् ।

कार्तिकको अन्तिम सम्ममा स्याउ टिपेर विक्री गरिसकिएको र अहिले स्याउको बैगचा व्यवस्थापन गर्ने समय रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्यनाथ आत्रेयले बताउनुभयो ।

‘शीतोष्ण हावापानीमा हुने तरकारी तथा फलफुल एवम् बीउ उत्पादन गर्ने सरकारी कार्यालय भएकोले पनि उत्पादन राम्रो बनाउनका लागि हाम्रो भूमिका रहन्छ’ उहाँ भन्नुहुन्छ–‘यदी यो समयमा हिमपात भएको खण्डमा हिउँले बालीलाइ राम्रो प्रभाव पार्ने थियो । शीतोष्ण हावापानीमा हुने फलफुत तथा तरकारीका लागि आवश्यक पर्ने तापक्रम व्यवस्थापन हुनका लागि हिमपातले राम्रो गरिदिन्छ ।’

पुसको पहिलो सातादेखि माघको दोश्रो सातासम्म मुस्ताङका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्छ । मुलुक भित्र तथा बाहिर पनि स्याउ उत्पादनको दृष्टिकोणले प्रसिद्ध मानिएको हिमाल पारीको जिल्ला मुस्ताङका किसान यतिबेला स्याउ बगैंचा व्यवस्थापन कार्यमा जुटेका छन् ।

मुस्ताङको स्याउ बगैंचामा लटरम्म फलेका यसवर्षको स्याउ बोटबाट टिपेर बजार पु¥याएपछि अहिले बोट नाङ्गा र उजाड छन् । न त स्याउको दाना बोटमा छ न त स्याउका हरिया पात नै । यिनै उजाड देखिएका स्याउ बोटको काटछाट तथा यसको अन्य व्यवस्थापन कार्यमा किसान जुटेका हुन् ।

स्याउको उपयुक्त बगैंचा व्यवस्थापनमा कृषकले ध्यान नदिंदा स्याउका बोटले राम्रो र गुणस्तरीय फल दिन नसक्ने भएकाले समयमै बगैचा व्यवस्थापन अनिवार्य हुने आत्रेयको भनाई छ । कृषकहरुले अहिले बगैंचा व्यवस्थापनकार्यका साथै खेर गएका र बाझो जग्गामा समेत नयाँ स्याउका बिरुवा लगाउनका लागि तयारी गर्ने गरेका छन् ।

घरपझोङ गाउँपालिका मार्फाका कृषक दिपक लालचनले गुणस्तरीय स्याउ उत्पादनका लागि स्याउ कटिङ अनिवार्य भएको बताउनुभयो । उहाँले स्याउ कटिङ नगरेमा वा जथाभावी बिना तालिम स्याउ कटिङ गर्नाले उत्पादन क्षमता तथा गुणस्तरमा समेत कमी आउने भएकाले पनि उपयुक्त बगैंचा व्यवस्थापन आवश्यक हुन्छ भन्नुहुन्छ ।

स्याउ बगैंचामा रहेका बोटको पुरै पात झरिसकेपछि स्याउ कटिङ गरी आवश्यक औषधि तथा किटनासक विषादी पनि दिने गरिन्छ । यो समयमा काँटछाट गरिएन भने उत्पादन राम्रो नहुने उच्च घनत्व स्याउ २ हजार पाँच सय र स्थानीय जातका पाँच सय गरी तीन हजार बोट रहेका कृषक लालचनले बताउनुभयो ।

स्याउका बोटमा फैलिने अनावश्यक हागाबिगाको उपयुक्त व्यवस्थापन गर्न आवश्यक हुन्छ । स्याउको बोटमा फैलिने हागाबिगाहरुको उपयुक्त किसिमले काटछाट गरेमात्र सूर्यको प्रकाश बोटको चारैतर्फ पुग्ने र स्याउले राम्रो उत्पादन दिने भएकाले स्याउ काँटछाँट गर्नु पर्ने कृषकको भनाई छ ।

आवश्यक मलजल गर्ने र बोटमा लाग्ने विभिन्न रोग कीराको प्रकोप नियन्त्रण गर्न विभिन्न विषदी तथा किटनाश औषधि छर्किने र आवश्यक सिचाईको व्यवस्था पु¥याउन सकेमात्र स्याउ बोटले राम्रो फल दिने भएकाले यो समयमा स्याउ कृषकहरुले बगानमा मेहनत गरी रहेका छन् ।

यो समयमा हिमालपारीको जिल्ला मुस्ताङको पाँच वटै स्थानीय तहमा स्याउ बगैंचा व्यवस्थापन तथा स्याउ कटिङको काम भइरहेको आत्रेयले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *