जाडोमा सरकार संवेदनाहीन नबनोस्

सम्पादकीय
नेपालको संस्कृति, चालचलन, रितिरिवाज, जातजातिहरुमा जे जस्तो विविधता देखिन्छ, उस्तै विविधता मौसममा पनि देखिन्छ । यतिबेला सत्ताको रस्साकस्सीले देशको राजनीतिक माहोल तातिरहेको छ । तर, मौसममा भने निकै चिसोपना बढ्दो छ । जसका कारण मानिस र समग्र प्राणी जगतको जनजीवन कष्टप्रद बन्दैछ । चाहे हिमाली जिल्लाहरुमा होस् या पहाडी या तराइका जिल्लाहरुमा होस् । जाडो पुसको दोस्रो साता लाग्दै गर्दा अचाक्ली बढेको छ । जाडोले तराइ क्षेत्रमा शितलहरको खतरा बढेको छ भने हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना नजिकिँदो देखिन्छ । नेपालमा हिउँदका तीन महिना (मंसिर, पुस र माघ) मा निकै जाडो हुने गर्दछ । जसबाट हरेक वर्ष कठ्यांग्रिएर कैयनको अकालमै मृत्यु हुने गरेको छ ।

बर्खायाममा अत्यधिक वर्षा हुने र त्यसबाट बाढी, पहिरो, भुक्षय जस्ता प्राकृतिक प्रकोपका घटना हुन्छन्, जसमा हरेक वर्ष दर्जनौ मानिसहरुले ज्यान गुमाउन परेको, घाइते, अंगभंग भएका समाचार आइरहन्छ । हिउँदयाममा बर्खायामको तुलनामा उति धेरै प्राकृतिक प्रकोपका घटना नभए पनि चिसोबाट भने ज्यान गइरहन्छ । जाडोयाममा ज्यान जानुको कारण शितलहर, हिमपात मुख्य कारण हो । यसबाट चिसो बढ्ने र विपन्न, गरिब, सडकमा बेवारिसे जीवन बिताइरहेकाहरु न्यानोको जोहो गर्न नसक्दा अकालमै ज्यान गुमाउन बिबश भइरहेका छन् । जाडोको मारमा सबैभन्दा बढी दलित समुदायका बालबालिका, बूढापाका, गर्भवती, सुत्केरी र अपाङ्गता भएकाहरू अर्थात् अपेक्षाकृत कमजोर वर्गका नागरिक पर्छन् । यो वर्ष पनि तराईमा शीतलहर सुरु नहुँदै मधेस प्रदेशका दुई जिल्लामा जाडोले कठ्याङ्ग्रिएर नागरिकहरूको ज्यान गएको समाचार आइसकेको छ । अबको एक महिनामा यस्तो अप्रिय घटना र समाचार नचाहँदा नचाहँदै धेरै सुन्न अभिसप्त हुनुपर्ने छ ।

जाडोयाम प्रकृतिको नियमितता हो, यो जरुरी छ । यसलाई कदापि कसैले चाहेर पनि रोक्न सकिदैन । तर, जाडोयामबाट वर्षेनी अकालमै ज्यान जाने घटना छ, यसलाई रोक्न सकिन्छ, रोक्न नसके पनि कम गर्न सकिन्छ । जाडोयाममा तराईमा आउने शितलहर, हिमालमा हुने हिमपातसँगै यसबाट हुन सक्ने सम्भावित क्षति र खतराबारे तीन तहको सरकारले राज्यका तहबाट समयमै यथेष्ट तयारी र समन्वय गर्नुपर्छ । राज्यका तर्फबाट ‘न्यानो लुगा’ बितरण लगायतका कार्यक्रहरु भएको चाही देखिन्छ । यद्यपि, अधिकांश समय र घटनामा जाडोयामबाट मरेपछि मात्र परिवारजनलाई सान्त्वना र समवेदना दिइएको मात्र देखिन्छ ।
लोकतान्त्रिक शासन व्यवस्थामा यस्तो संवेदनहीनता सह्य र स्वीकार्य हुनुहुँदैन । यसैले विपन्नहरू विशेषगरी जाडो वा गर्मीजस्ता सामान्य प्राकृतिक चक्रमा पनि ज्यान गुमाउनु पर्ने विपन्न, गरिब र पछाडि पारिएका समुदाय र व्यक्तिहरूप्रति राज्य अत्यन्त संवेदनशील हुनुपर्छ । जुनसुकै दल या व्यक्ति सरकारमा होउन्, यति हो कि चिसो मौसममा कठ्याग्रिंएर कोही अकालमै मर्न नपरोस् । राज्य यसमा संवेदनशील र गम्भिर बनोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *