कानुनको सहयोगी भूमिकामा ‘मुखिया’

अमृत बास्कुने, म्याग्दी

हिमालपारीको जिल्ला मुस्ताङ । जहाँ अहिले पनि मुखिया प्रथा कायम छ । जनताका समस्या समधान गर्नको लागि जनताले दोस्रो पटक जनप्रतिनिधी चुने । मुस्ताङमा पनि स्थानीय जनप्रतिनिधी चयन भएका छन् । तर, मुखिया चुन्ने प्रथा अझै रोकिएको छैन ।

थासाङ गाउँपालिका भित्र अहिले एक मिर मुखिया सहित १२ मुखिया छन् । त्यस्तै घरपझोङ गाउँपालिका, बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिका, लोघेकर दामोदर कुण्ड एव्म लोमन्थाङ गाउँपालिका क्षेत्रमा पनि मुखियाप्रथा कायमै छ । मुखियाको लागि काम गर्ने सिमा क्षेत्र निर्धारण गरिएको पूर्व मुखिया समेत रहेका बाह्रगुङ मुक्ती क्षेत्र गाउँपालिका–१ का वडा सदस्य पेमा छिरिङ गुरुङ बताउनुहुन्छ ।

‘मुखियाको कार्यकाल एक वर्षको हुन्छ,’ पेमा छिरिङ भन्नुहुन्छ ‘सो अवधिमा जनताका समस्या समधान गर्नु जनताको काम गर्नु उसको मुख्य जिम्मेवारी हो ।’ मुस्ताङको मुक्तीनाथ क्षेत्रमा छ वटा गाउँ छन् । पुराङ गाउँ, खिङ्गा, झारकोट मुक्तीनाथबाट बग्ने खोला भन्दा एकापट्टी पर्छन् भने अर्को पट्टी छ्याङ्गुर, झोङ, पुटाक रहेका छन् ।

आफ्नो गाउँका कुनै पनि झै–झगडाहरु आफ्नो गाउँका मुखियाले मिलाउन नसकेको खण्डमा छिमेकी गाउँका मुखियाहरुको सहयोग लिएर समाधान गरिने पूर्व मुखिया पेमा छिरिङ बताउनुहुन्छ । आफ्नो क्षेत्रको समस्या मिलाउनका लागि नसकेमा पुराङ गाउँ, खिङ्गा र झारकोटका मुखियाहरुको समेत सहयोग लिएर समस्या समाधानको प्रयास गर्ने गर्दछन् भने अर्को पट्टीको गाउँकाहरुले पनि त्यही बिधि अपनाउने गरेका छन् ।

पहिले पहिले मुखियाको कार्यकाल तीन वर्षको हुन्थ्यो । सोही व्यक्ती दोहोरिएर तीन पटक सम्म मुखिया हुन्थे । तर, अहिले भने त्यस्तो चलन नरहेको कोबाङका मिर मुखिया ज्वार भट्टचनको भनाई छ ।

मुखिया चुन्ने चलन भने मुस्ताङकै तल्लो र उपल्लो भेगमा फरक छ । तल्लो क्षेत्रका गाउँहरुमा भने मुखियाको पनि हेड अर्थात मिर मुखिया छनौट गर्ने प्रचलन छ । माथिल्लो भेगमा मुखियाको कार्यकाल एक वर्ष भएपनि तल्लो थासाङ क्षेत्रमा भने १५ औं वर्षदेखि मुखियाको जिम्मेवारी सम्हालेका व्यक्तीलाई भेट्न सकिन्छ ।

मुखियाले निस्वार्थ विना पारिश्रमिक समाजसेवीको रुपमा राज्यको कानुनको सहयोगी भूमिका निर्वाह गर्दै आएको ८४ वर्षीय मिर मुखिया भट्टचनको भनाई छ । भट्टचन पछिल्लो ४ वर्ष देखि मिर मुखियाको जिम्मेवारीमा हुनुहुन्छ ।

थासाङ गाउँपालिका–२ लेतेमा ७४ वर्षिय रबिन्द्र तुलाचन पछिल्लो १५ वर्ष देखि मुखियाको जिम्मेवारीमा हुनुहुन्छ । गाउँलेले चुनेर पछिल्लो १५ वर्षदेखि मुखियाको जिम्मेवारी सम्हाल्दै आएको रिबन्द्रको भनाई छ ।

स्थानीय सरकार हुनुभन्दा पहिले मुखिया गाउँको प्रमुख हुन्थे । तर राज्यको नियम अनुसार वडा अध्यक्ष प्रमुख भएपनि वडा अध्यक्ष र मुखियाको समन्वयमै गाउँका काम हुने रबिन्द्रको भनाई छ । जनताले व्यवहारिक रुपमा जनप्रतिनिधीलाई भन्दा मुखियालाई विश्वास गर्ने उहाँको भनाई छ ।

बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिका–२, छ्युङ्गरका पूर्व मुखिया गमबहादुर गुरुङ आफुहरु तान्त्रीक लामाका सन्तान भएको बताउनुहुन्छ । मुखिया फेर्नु पूर्व लामाले पुजा गर्ने यहाँको चलन छ ।

फौजदारी मुद्धामा मुखियाले हस्तक्षेप नगर्ने भन्दै गाउँघरका विवाद समधानमा मुखियाको समन्वयले गाउँलेको समय र पैसा दुवै बचत भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *