उखु, बेसार र अदुवा उत्पादन गर्दै सिम्रिक सहकारी


–खेमराज गौतम, बागलुङ

बागलुङको सृम्रिक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले उखु बिक्रि गर्न थालेको छ वर्ष पुग्यो ।

सहकारीले बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखराको दुई स्थानमा १० रोपनी बाँझो जग्गा भाडामा लिएर उखु खेती गर्दै आएको छ । सहकारी संस्थाले अहिले प्रति वर्ष १५ देखि २० क्विन्टल उखु बिक्रि गर्दै आएको छ ।

यस वर्षको उखु प्रति केजी रु. १५का दरले विक्रि गरिएको सहकारीका अध्यक्ष चुडामणी उपाध्ययले जानकारी दिनुभयो । संस्थाले बागलुङ नगरपालिका–४ कुडुँलेमा दुई रोपनी जग्गा भाडामा लिएर बेसार खेती र बागलुङ नगरपालिका–७ तितौरेमा २ रोपनी जग्गामा अदुवा खेति गर्दै आएको छ ।

कतिपय सहकारीहरु उदेश्य अनुरुप नचलेको सन्र्दभमा सृम्रिक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले थोरै लगानीमा भएपनि उखु, बेसार र अदुवा खेति गरेको छ ।

“सहकारीको सानो प्रयास मात्रै भएको छ, बजारीकरणको लागि उखु र बेसार पेल्ने औजार खरिद गरेका छौं, शेयर सदस्य किसानहरुले समेत उत्पादन गरेको उखु, बेसार र अदुवा पिसेर ब्राण्डीङ गरेर विक्रि गर्ने सहकारीको लक्ष्य छ” अध्यक्ष उपाध्ययले भन्नुभयो “उत्पादन गर्ने क्षमता बढाउछौं, किसानको उत्पादनलाई समेत खरिद गर्नेछौं र सहकारीको नामबाट बजारीकरण गर्ने हाम्रो लक्ष्य हो ।”

संस्थाले शेयर सदस्यहरुलाई समेत व्यावसायिक उत्पादनमा जोड दिनका लागि सापटमा बेसारको बिउँ समेत उपलव्ध गराउदै आएको सहकारीका कोषाध्यक्ष तथा अगुवा कृषक जग्गन्नाथ सापकोटाले बताउनुभयो । उहाँले उत्पादन भइरहेको बेसारलाई बिउँका रुपमा शेयर सदस्यलाई सापटी दिइएको छ भने अहिले उत्पादन भएको बेसारलाई खनेपछि बिक्रि गर्ने लक्ष्य सहकारीको छ ।

“गत वर्ष पाँच क्विन्टल बेसार उत्पादन भएको थियो, केही किसानलाई बिउँको रुपमा वितरण गरियो, अहिले पानी परेपछि बेसार खन्ने तयारीमा छौं”–सापकोटाले भन्नुभयो ।

उहाँले पाँच केजी अदुवाको बिउँ दिएको कृषकलाई उत्पादनपछि छ केजी फिर्ता गर्नेगरी किसानलाई प्रर्बद्धन गरिरहेको बताउदै सापकोटाले शेयर सदस्य किसानहरुको उत्पादनलाई बजारीकरण समेत गर्न सहयोग गरिरहेको बताउनुभयो । कोषध्यक्ष सापकोटाका अनुसार सहकारी संस्थाको शेयरपूँजीको ४० प्रतिशत भन्दा बढी लगानी व्यावसायिक उत्पादनमा लगाउनेगरी सहकारी अगाडी बढेको छ ।

हाल सहकारीमा ७७३ शेयर सदस्यहरु रहेका छन् भने एक करोड ३३ लाख शेयरपूँजी रहेको छ । सहकारीले २०७५ सालबाट भिमापोखरामा उखु खेती गरेको छ भने दुई वर्ष देखि कुडुँलेमा बेसार र तितौरेमा अदुवा खेती गरिरहेको छ ।

सहकारीले साधारणसभाको अवसरमा शेयर सदस्यहरुलाई तरकारी खेती गर्नका लागि निःशुल्क बिउँ बितरण गर्दै आएको छ । सहकारीले कृषिप्रति आर्कषण गराउनका लागि विभिन्नस्थानमा पुगेर कृषि मेला प्रर्दशनी गर्ने कृषि ज्ञान केन्द्र संग मिलेर धान दिवस मनाउने, सौलियत मुल्यमा संस्थाबाट नियमित बिउँ विक्रि गर्ने र शेयर सदस्यहरुले पालेको पशुको निःशुल्क गोबर परिक्षण र औषधी वितरण समेत गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *