शिवशरण ज्ञवाली
नामै हिमालय कामै हिमालय । चिसो हिमालय । कठ्याङ्ग्रिदो बिहानमा सिरक छाड्नै नमोनेको ज्यानलाई जबरजस्ती उठायौँ हामीले । बिहानको सात बजेतिर खाजा खायौँ । एकमुष्ट हिसाबमा खाइदो रहेछ, बिहानको खाजा । छुमरुङमा पन्ध्र सय, हिमालयमा सत्र सय र एबिसीमा दुई हजार !
अनौठो ठाउँमा पो बास बसिएछ । हामी सुतेको घर माथि त भयङ्कर अग्लो र डरलाग्दो पहाड रहेछ । वर्षाको समय भएको भए त ? आबुई ? सम्झँदा मात्रै पनि आङ्भरि काँडा उम्रिएँ । पारिपट्टि पनि त्यस्तै पहाड । ती दुई पहाडले आफैमा सुन्दरताको खोल्सो रचना गरेका रहेछन् । दुई इन्चको अन्तरमा दुई हातलाई धारे पार्दा जस्तो बन्दछ, त्यस्तै थियो त्यो पहाडिया रुप सौन्दर्य । आकाश हेर्न पनि तेस्रो पर्नुपर्ला जस्तो ! छेउमा मोदी खोला ठूलै आवाजमा छङ्छङ बग्दै थियो । पारिपट्टिको पहाडबाट छहरा छङछङ ! सागर त्यो खोचिलो खोल्सोको तस्वीर खिच्नमै मस्त थिए ।
एउटा कृति त ताराले पनि किन नरच्नु र ? उनले सबैलाई जम्मा गरेर फोटो खिच्दाखिच्दै भनिन्, ‘सबैले लठ्ठी ठड्याऊ त आकाशतिर ।’ टेक्ने लठ्ठी आकाशतिर ठड्याऊ भन्दा ज्यान थेग्न नसकेको मैले उनलाई भने, ‘के चाहिने नचाहिने कुरा गर्छे, तारु !’ गर्छे र तारुका बीचको मिठो सम्बन्ध प्रिय विद्यार्थी ताराले नबुझ्ने कुरै भएन । उनी पनि के कम ? झोक्किदैं भनिन्, ‘नकराइकन लठ्ठी ठड्याउनु त सरले छिटो ।’ त्यसरी झोक्किने उनको विछ्ट्टैको शैली उनकी साथी सिम्रोन र दिदी जुनालाई अवश्य पनि थाहा छ ।
उनले भनेपछि मैले मान्नैपर्ने नियम छ, एघार कक्षादेखि नै । मैले पनि लठ्ठी आकाशतिर उचालिदिएँ । सबै लठ्ठी एकमुख पो भए । त्यहाँ अन्नपूर्ण रचना भएको मैले देखें । एउटा सुन्दर कृति ! ताराको सिर्जना देखेर उनका साथीहरु चिच्याए, ‘वाह !’ मैले पनि वाहमा वाह मिलादिएँ बिस्तारै ।
हामीलाई माथिमाथि जानु थियो । शैलुङीमा को थियो र के थियो हामीलाई थाहा थिएन । तर कुन्ती मोक्तानको गीत त गुन्गुनाउनै प¥यो, ‘माथि माथि शैलुङ्ीमा चौरी डुलाउनेलाई……….’
माथितिर जङ्गलको पनि आफ्नै रङ्ग थियो । खरको पनि आफ्नै ढङ्ग थियो । खरहरुले पनि चुल्ठी बाटेका थिए । बाटोको पनि आफ्नै ढाँचा थियो । पारिपारि सुन्दर छहराहरु बग्थे । त्यति माथिबाट छहरा बगेको मैले कैल्यै र कही देखेको थिइन । हिमालयबाट टोपी खस्ने ठाडो उकालो चढी हामी बिसौनी ठाउँमा पुग्यौ । ठूलो ढुङ्गामुनि सुन्दर बस्ने ठाउँमा बनाइएको छ । छहरा पहरा सबै देखिन्थे, त्यो बस्ने ठाउँबाट ।
त्यहाँबाट पन्ध्र मिनेट तेर्सो हिडेपछि देउराली आइपुगियो । देउरालीमा पुगेर हामीले चिया खायौँ । आजकालका युवाहरु चिया खादैनन् । जोगिन्छ भनेर हो कि लत लाग्छ भनेर हो ? तर त्यहाँ चिया त पाँचमुठीको कपमा भरिभरि खाइदो रहेछ । मैले पनि चियाका लागि कप होइन गिलास प्रयोग गर्न सिकें । जाडोमा चिया खाँदा शरीरलाई न्यायो हुने कुरा ती हिमालीहरु बुझ्छन् ।
त्यताबाट फर्केपछि हरि सर म विद्या मन्दिर पुस्तकालय गयौँ । सरलाई मैले वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठको नेपाल शीर्षकको पुस्तक पढ्न सिफारिस गरें । सरले विद्यामन्दिर पुस्तकालयबाट नेपाल ल्याउनुभयो मैले डाक्टर भगवान कोइरालाको हृदय ल्याएँ । हरि सरले ल्याएको पुस्तकमा चियाको बारेमा लेखिएको देखेथें । हिजो साँझ हामी बागलुङ बजारको कफी हाउसमा चिया खान गएको बेला मैले उहाँलाई सोधें, ‘सर ! चियासम्बन्धी लेखमा तीर्थबहादुर श्रेष्ठले के लेखेका रहेछन् ?’ सरले भन्नुभयो, ‘नियमित चिया खानु फाइदाजनक छ रे । चियामा क्यान्सर प्रतिरोधी तत्व हुन्छ रे !’ मेरा मुखबाट अचानक फुत्किहाल्यो, ‘यो कुरा मैले पहिल्यै थाहा पाएको भए चिया नखाने उनलाई चिया खान प्रेरित गर्थे कि ?’
देउरालीमा चिया खाँदा बुद्ध देखें, जिज्ञासुहरुले । पारि माथिको पहाडमा बुद्धको आकार देखियो रे । लुम्बिनीका बुद्धलाई देउराली आइपुग्दा लेक लागेन होला र ? झापालीहरुलाई त तलै हिमालयमै लागेर वाक्य र विक्ये भएका कथा हामीले सुनेकै थियौँ । विद्यार्थीहरुले मलाई पनि चौर औलाले बुद्धको तस्वीर देखाए । मैले देखिन । फेरि देखाए । अनि मैले देखेजस्तो गरिदिएँ । बोलीमा लोली मिलाएँ । हो मा हो मिलाउँदै भने, ‘देखें देखें । ऊ त्यहाँ होइन त ?’ मलाई देखाउने सफलतामा पाएकोमा उनीहरु खुशी भए । खुशी त जगत्को रचनाकर्ता !
बुद्ध त आँखाले देखेर मात्रै कहाँ देखिन्छ र ? बुद्ध मन र आँखा दुवैले पो देखिनुपर्छ । त्यही भएर होला मैले नदेखेको । बाटो अब सागुरिदैं खोलाको बगरैबगर जान थाल्यो । साँगुरा पहाडहरु टाढाटाढा हुन थाले । बाटो फराकिलो हुन थाल्यो । लाग्थ्यो, ‘अब हामी अन्नपूर्ण आधार शिविरको नजिकै आइपुगेका छौँ ।’
दुईतिर पहाड र बीचमा बगरको बाटो हामी अगाडि बढ्यौँ । सेता हिमालहरु नजिकै देखिन थालेका थिए । टुरिष्ट गाइडहरु पनि बाटोमा भेटिन्थे । पर्यटकहरु सबैले भेटमा नमस्ते भनेकै थिए । हामी माछापुच्छे« बेसक्याम्पसको नजिक हुन्छौँ ।
तेर्सै तेर्सो खोलामा पुगेर बाटो माछापुच्छे« बेस क्याम्पतिर उकालो लाग्यो । खोला तरेर पारि पुग्दा नपुग्दै हिम पहिरो गएको आवाज र दृश्य दुवै सुन्यौ हे¥यौँ । वाह ! विद्यार्थी शैली फेरि आइपुग्यो । त्यहाँ एउटा नक्सा टाँसेको रहेछ, बोर्डमा । विद्यार्थीहरुले फोटो खिच्न थाले । मलाई पनि बोलाए । मलाई त भाउन्न भइसकेको रहेछ । मलाई माया गरेर सुतेकै ठाउँको फोटो खिचिदिए, उनीहरुले । बडो मुस्किलले म माछापुच्छ«े बेस क्याम्पमा निस्किएँ । त्यहाँ होटलमा खाना खाइसके पछि हामी उकालो लाग्यौँ । होटलको साहुले हामीलाई गंगपूर्ण, माछापुच्छे«, गन्धर्वचूली र अन्नपूर्ण गरेर चार हिमालहरु देखाए । उनी भन्दै थिएँ, ‘यी हिमाल यहीबाट मात्रै देखिन्छन् । माथि गए पछि देख्न
सकिदैन ।’
मैले उनीसँग हिमालको छेउछाउको वातावरणसँग अनुकूलित कसरी हुन सकिन्छ भनेर सोधें । उनले मलाई भने, ‘अत्यन्त बिस्तारै जानुस् । हतार गर्दै नगर्नुस् । सुस्तसुस्त बेस क्याम्प पुग्नुस् ।’ उनीसँग सल्लाह लिए पछि हामी अगाडि बढ्यौँ । निकै सुन्दर देखिएका थिए ठाउँहरु । वरिपरि जताततै हिमश्रृङ्ख्याहरु थिए । मोदी खोलाको मुहानमै हामी पुगेका थियौँ । जताततै हिउँ नै हिउँ थियो । हिउँ पग्लिएर सानो कुलोजस्तो भागमा कलकल पानी बगिरहेको थियो । माछापुच्छे«को टुप्पोको छेउमा देखिएको चन्द्रमाले झन् सुन्दरता थपेको थिए । ती हिमालहरु हेर्दै हामी पाइला चाल्दै थियौँ । त्यहाँ पुगेपछि सिर्जनाले भनिन्, ‘सर ! हिमाल भनेको त पहाडमा हिऊँ पर्नु पो रहेछ । हिउँले पुरिए पछि पहाड हिमाल बन्दो रहेछन् ।’
मैले क्याम्पस हिडाल्ने ब्याग बोकेर गएको थिएँ । त्यो ब्यागमा वासुदेव त्रिपाठीको साहित्य सिद्धान्त शोध तथा सृजनविधि, चूडामणि बन्धुको अनुसन्धान विधि र सरुभक्तको चूली उपन्यास परेछन् । कर्ण शाक्यको खोज र पौल किलिनिथिको ह्वेन बे्रथ विकम्स इयर शीर्षकको पुस्तक म जानीजानी झोलामा राखेको थिएँ । यिनै कुनै किताब पनि मैले बाटोमा खासै हेरिन ।
चुली उपन्यासमा सगरमाथा चढ्ने यात्रीका बारेमा लेखिएको छ । त्यो उपन्यासमा सगरमाथामा क्षणक्षणमा मौसम बदलिने अर्थात बादल लाग्ने र हिउँ पर्ने तथा क्षणमै खुल्ने कुरा छन् । माछापुच्छ«े बेस क्याम्पसबाट अगाडि बढ्दा ठ्याक्कै मौसम त्यस्तै भयो । क्षणमै घाम लाग्थ्यो क्षणमै बादल लाग्थ्यो । फेरि उत्तिनै खेर बादल लागेर पानी पर्ला जस्तै पो हुन्थ्यो । अनि फेरि छ्याङ् घाम लाग्थ्यो । मलाई हिमालको वातावरण साक्षात्कार गर्दा चुलीको सम्झना भयो । मैले त्यो पुस्तकका बारेमा विद्यार्थीहरुसँग पनि कुरा गरें । सिर्जनाले भनिन्, ‘सर दिनुहोला त माथि गए पछि पढौँला ।’
माथि गएर कहाँ पढ्नु सक्नु ? हामी आफै चुली बनिरहेका थियौँ । चुली सजिलो हुँदो रहेनछ । जीवनको चुली पनि त्यस्तै होला । म त बिस्तारै पछाडि पो पर्दै थिएँ । झन्झन् पछाडि सर्छु । कताकता रिंगटा लागे जस्तो, लडुँला लडुँला झैं पो हुन्छ त ।
मलाई भाउन्न पो भयो । चक्कर घनचक्करमा परिणत भइरहेको छ । आँखाअगाडि हिमालहरु कुन्ती मोक्तानको डालीडालीमा गीतको बोलमा नाचिरहेका पो छन् । मैले डढेलोले कालो भएको खरबारी देखें । हिउँ सकिएर कालै भएको माछापुच्छे« देखें । मोदी सुकिरहेको देखें । भविष्यमा मोदीबाट निस्कने बिजुली बन्द भएको र पानीको अभावमा छट्पिट्एका जलचर र थलचर देखें । धूलो र धूवाँ उडाइरहेका गाडी र डढेलोले टिम्मुर र लसुन विनास भएको देखें । तिनीहरुले अन्नपूर्णबाट मुस्ताङ छिचोलेको देखें । ट्वाइलेट पेपरले बढाइरहेको फोहोर देखें । मान्छेले आफ्नोपन गुमाइरहेको देखें । म भावुक भएर रोएँ ।
फेरि टाढा आवाज गुन्जिएको देखें सुनें । अन्नपूर्ण हिमाल त वरिपरिका हिमालहरुका बीचमा रहेछ । उसलाई त गंगपूर्ण, माछापुच्छे« गन्धर्वचूलीले घेरेका रहेछन् । ऊ त अङ्ग्रेजी वर्णको वाइको बीचको खाली ठाउँमा ढसमस्स बसेको रहेछ । पानी वाइको खुट्टातिरबाट पो बग्दो रहेछ । माछापुच्छे«ले चोर औंला उठाएर खबरदारी गरिरहेको सुनें । आकाशको जून माछापुच्छे«को देब्रेतिर आएर साक्षी बसेको पनि देखें । कानमा पानीको कलकलसँगै कठोर आवाज गुन्जिन थाल्यो, ‘अन्नपूर्ण ! हेर है । तेरो आँगनमा मान्छेले आगो लगाइरहेछ । तलाई ध्वस्त पार्न खोजिरहेछ । तैले किटानी जाहेरी दिनैपर्छ । पनाति, खनाति, झनाति, ज्ञनाति पुस्तौपुस्ता तँ बाचिरहनुपर्नेछ । पाजी मान्छे त केही दिनको पाहुना हो ।’ माछापुच्छ«ेको खबरदारीमा अन्य हिमालहरुले ऐक्यबद्धता जनाए छन् कि क्या हो ? सुकेको खरमा लगाइएको आगोमा पानी छम्किएर कालो बनाइ सकेको रहेछ, अन्नपूर्णले । हिमालको जीवनमाथि धुँवाको रिंगटा लगाइदिने मनुवालाई मैले पनि बेहोसीमै सरापें ।
अलि होसमा आएर छामछुम गर्दा मेरो झोला मेरा विद्यार्थीहरुले बोकेका रहेछन् । म दमले पीडित बृद्धबृद्धाजस्तै बिस्तारै पाइला चाल्दै र सुस्केरा हाल्दै बासस्थानको आँगन टेक्न खोज्दै थिएँ । मलाई एघार कक्षादेखि पदयात्रामा समेत सुनवाली भन्दै जिस्काइरहने ताराले ढाडस दिंदै भन्दै थिइन्, ‘सर ! म त रोटट्रयाक्ट हुँ के चिन्ता नगर्नु न । सेवा गर्न सिकेकी छु ।’ अघि मलाई पानीका थर्मस बोकाउनेहरुले मलाई डो¥याइरहेको पो पाएँ । आफ्नो कमजोरीमाथि लाज लागेर म खिस्स हाँसे, कसैले थाहा नपाउने गरी ।
४१३० मिटर अग्लो ठाउँमा रहेको पिसफुल होटलमा पुग्दा भाउन्न हुनेको संख्या बढ्दै गएको चालै पाइयो । त्यो मलाई मात्रै नभएर तारा, धन हुँदै सिर्जनामा पुगेको रहेछ । करेन्टको करेन्टिलो स्वादपछि भने अन्नपूर्णलाई विद्यार्थीहरुले च्यालेन्ज गरिहाले । तर त्यो चुनौती त्यति सरल थिएन, वक्र थियो । जीवनलाई चुलीमा पु¥याउन पनि त्यस्तै वक्रता सहनुपर्छ । भोलि त्यो चुलीको सुन्दरता अवश्य देखिनेछ ।