आत्महत्या, अदालत र आदेश

सम्पादकीय
पछिल्लो समय नेपालमा आत्महत्या बढेको छ । आत्महत्याका कारणहरुबारे यथोचित अध्ययन अनुसन्धान र खोज अझै हुन नसकेको देखिन्छ । यद्यपी, बिभिन्न समयमा गरिएका खोज अध्ययनहरुका आधारमा आत्महत्याको कारणमा गरिबी, घरेलु हिसां, सामाजिक सञ्जाल, प्रविधिको दुरुपयोग लगायत मुख्य देखिन्छन् । यही आत्महत्याको अनुक्रममा देश तरंगित हुने आत्महत्याको घटना चितवनमा भयो । जुन घटनामा चर्चित टेलिभिजन पत्रकार रवि लामिछाने त दुरुत्साहन मुद्धामा मुछिए नै । त्यसमा बागलुङका उत्साही उदियमान पत्रकार युवराज कंडेल पनि गम्भिर आरोपमा फसिए । जसका पक्ष र बिपक्षमा तर्क बितर्क चलिरहे । त्यही क्रममा चितवनमा जनआन्दोलनकै झझल्को दिने गरि नागरिक सडकमा ओर्लिए पछि घटना र बिषयले अर्कै मोड लियो ।

शालिकराम पुडासैनी प्रकरण पछि आत्महत्या दुरुत्साहनका अनेक बिषय आए । त्यसपछि दुरुत्साहन फितलो बन्ने जोखिम बढेको भन्दै सर्वत्र चिन्ता व्यक्त भयो । जसले जसको नाम लिएर पनि दुरुत्साहन आरोप लगाउन सक्ने खतरानक नजिर अदालतले स्थापित गर्छ की भन्नेमा सर्वत्र चासो र चिन्ता व्यक्त थियो । यो स्वभाविक पनि यसकारण थियो की बिश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार बिश्वमा प्रत्येक बर्ष करीव ८ लाख मानिसले आत्महत्या गर्छन् । यस आधारमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गरेको हुन्छ । नेपालमा आत्महत्या गर्नेहरुमध्ये करीव ७२ प्रतिशतले झुण्डिएर आत्महत्या गर्छन् । बिष सेवन गरेर, आफूले आफैंलाई गोली हानेर, आगो लगाएर, हामफालेर, करेण्ट लगाएर, हातहतियारको प्रयोग गरेर आत्महत्या गर्ने गरेको पाइन्छ । नेपाल प्रहरीको पछिल्लो पाँच बर्षको तथ्यांक हेर्दा २४ हजार ६३९ जनाले आत्महत्या गरेका छन् । यस अवधिमा आत्महत्या गर्नेहरुमा ११ हजार ६४५ महिला छन् । कुल आत्महत्या गर्ने मध्ये १ हजार १४६ बालबालिका छन् । यस आधारमा देशभरिमा प्रत्येक दिन १४ जनाले आत्महत्या गर्छन् भन्ने हिसाव निकाल्न सकिन्छ । तथ्याङ्क हेर्दा प्रत्येक बर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गइरहेको छ । यो तथ्याङ्क प्रहरीसम्म आएको जानकारी मात्रै हो ।

अब आत्महत्यालाई हत्या भएको भन्दै मुद्दा धेरै पर्न थालेका छन् । यसले सामाजिक सम्वन्धमा खलल त पु¥याउँछ नै । आत्महत्यालाई आफ्नो माग पूरा गराउने सौदाबाजीको रुपमा प्रयोग गर्दा साँच्चिकै दुरुत्साहनमा पर्नेहरुले न्याय नपाउने बिडम्बनापूर्ण अवस्था विद्यमान बनेको छ । शालिकराम आत्महत्या प्रकरणमा पनि त्यसको केही परिदृश्य देखियो । एउटा जमात र अनुसन्धान गर्ने प्रहरी निकायको पनि पूर्वाग्रह साध्ने मेलो पनि बन्यो । जसको अन्तिम फैसलामा पाएको सफाईले ती मिथ्या थियो भन्ने प्रमाणित गरिदियो । अदालतमा बहस चल्दै गर्दा पत्रकार लामिछाने र कंडेलको पक्षमा हजारौ नागरिक सडकमा आउँदा भीडले न्याय दिने होइन भन्ने वहस पनि जरुर भयो । यो वहस अन्यथा थिएन पनि । निश्चित हो, न्याय भीडले दिने होइन । तर त्यस बखतको त्यो ठुलो उभारले सत्यलाई कुनै न कुनै रुपमा प्रतिबिम्बित गरेर रखवारी नगरेको भए कम्तीमा पनि रवि लामिछाने, युवराज कंडेल पूर्पक्षका नाममा कथित कारागारमा बस्ने निश्चित प्रायः थियो । अब यो प्रकरणले अनुसन्धान गर्ने निकायदेखी अदालत सम्मलाई पूर्वाग्रहमा होइन, बहकाउमा होइन । तथ्यमा आधारित हुन पाठ सिकाएको छ । न्याय भीडले होइन, न्यायिक निकाय हाम्रा अदालतले नै दिन सक्षम छन् भन्ने राम्रो सवक पनि हामीलाई सिकाएको छ । -जागरण दैनिकको सम्पादकीयबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *