पोखरा, अन्तर्राष्ट्रिय विमानस्थल र आशा

सम्पादकीय
गण्डकी प्रदेशको राजधानी पोखरा, उसो त पोखरा आफैमा नेपालको पर्यटकीय राजधानीको उपमा पाइरहेको शहर । सुन्दर, स्वच्छ, तालैतालको शहर । यहाँको रहनसहन, चालचलन, संस्कार संस्कृतिमा पनि उस्तै विविधता । यसर्थ पोखरा सम्भावना नै सम्भावनाको शहर हो । यसलाई नेपालकै आकर्षक गन्तव्य बनाउन निरन्तर पहल र प्रयास त भइरहेको थियो नै, पछिल्लो समय अन्तर्राष्ट्रिय पर्यटक र यात्रुको सिधा गन्तव्य स्थल समेत बनाउन प्रयासहरु जारी छन् । यसकै एक महत्वपूर्ण प्रयास र उपलब्धि हो पोखरा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल । अनेकन प्रश्न, संशय, आशंका, अनुमानका बाबजुद अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ । र पोखरेली तथा समग्र गण्डकी प्रदेशबासीमा फरक खालको उत्साह र खुसी छाएको छ । यो सँगै अब नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या तीन पुगेको छ । यो खुसी कति दीगो रहन्छ ? त्यो भने हेर्न बाँकी नै छ ।

नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उद्घाटन गरिएको छ । चीन सरकारको २२ अर्ब ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरावासीको ५० वर्षदेखिको सपना थियो । जसले अहिले बल्ल साकार रुप लिएको छ । चिनियाँ मापदण्ड अनुसार डिजाइन र निर्माण गरिएको विमानस्थलमा चिनियाँ इन्जिनियरिङको उच्च गुणस्तर झल्किन्छ । जुन नेपालको राष्ट्रिय गौरवको प्रतिकको रुपमा उभिएको छ । विमानस्थल निर्माण र शुभारम्भको खुशियालीमा पोखरा महानगरपालिकाले आइतवार सार्वजनिक बिदा दिएको छ । ५० वर्ष अघि अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गर्ने शंकरराज पाठकलाई नागरिक अभिनन्दन गरिएको छ । पाठक तिनै पात्र हुन्, जसलाई राजा वीरेन्द्र पोखरा आउँदा टाउन प्लानिङ कमिटीको अध्यक्ष बनाइदिएका थिए । पोखराको टाउन प्लानिङ भएपछि र पोखराको न्युरोड खोलेपछि वीरेन्द्रसँगको कुराकानीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने शंकरराजले बताएका थिए । उद्घाटन समारोहमा पोखरेलीहरुको उत्साहजनक उपस्थितिले पनि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले जगाएको उत्साह र खुशी अभिव्यक्त गरेको छ ।

हुन त कुनै पनि चिज निर्माण हुनु एक उपलब्धि र खुसीको कुरा हो । तर, यो मात्रै प्रयाप्त भने होइन र हुन सक्दैन । अब अहिले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नु मुलुककै लागि एक उच्चतम उपलब्धि त हो । यसले अहिले काठमाडौैंको विमानस्थलको उच्च चापलाई कम र विश्व बजारमा पोखरालाई ब्राण्ड बनाएर पर्यटन मार्फत मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउन टेवा पुग्नेछ । विमानस्थलको यथेष्ट उपयोग, सञ्चालन र निरन्तरतामा भोलिका दिन सम्म उल्लेखनीय उपलब्धि रहन सकेमा मात्र बल्ल यसको सार्थकता देखिनेछ । अहिले नै यस अन्तर्राष्ट्रिय विमानस्थलका सन्दर्भमा अनेकन संशय उठिरहेका छन् । प्रयाप्त यात्रुहरुको आगमन नहुने र सञ्चालनमा नागरिक उड्ययन प्राधिकरणले घाटा बेहोर्नुपर्ने चिन्ता समेत प्रकट भइरहेको अवस्था छ । यात्रुको चाप र भारतीय सहयोगको अभावले गर्दा भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलकै नियति भोग्नुपर्ने त होइन ? पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ ठुलो ऋण सहयोगमा बनेकाले नेपालका लागि ‘सेतो हात्ती’ हुने त होइन ? यी र यस्ता प्रश्न र संशयलाई गलत सावित गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चाँडै उडान भरियोस् । ती उडानहरु सदैव सुरक्षित, निरन्तर र चुस्त व्यवस्थापनका साथ सञ्चालन होस् । विश्व बजारमा पोखराको प्रचार प्रसार गरेर पर्यटकको यथेष्ट चाप हुने अवस्था बनाउन सरकार, सरोकारवाला, पोखरेली सबैको हर सम्भव सहयोग, एकता र सकारात्मक भूमिका जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *