बुद्ध बहुउद्देश्यीयका सञ्चालकलाई क्षमता अभिवृद्धि तालिम

आदर्श अनलाइन, बेनी
म्याग्दीको बेनी बजारमा सञ्चालित बुद्ध बहुद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले सोमबार एक दिने तालिम सम्पन्न गरिएको छ ।

वर्तमान परिवेशमा सहकारी ऐन, सहकारी नियमावली, सन्दर्भ ब्याजदर, सम्पत्ती शुद्धिकरण निर्देशिका लगायतका समसामयिक विषयमा सञ्चालकहरुलाई जानकारी गराई थप सक्रिय बनाउने उदेश्यका साथ तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष प्रमोद कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

तालिमको उद्घाटन गर्दै सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी

सहकारी ऐनले बहुउद्देश्यीय सहकारीहरुलाई मुख्य कारोबारका रुपमा बचत तथा ऋण गर्न नपाइने व्यवस्था गरेको छ, आगामी दिनमा बहुउद्देश्यीय सहकारीलाई कसरी अगाडि बढाउने, सहकारीका ऐन नियममा भएका व्यवस्थाहरुलाई कसरी व्यवहारमा कार्यान्वयन गर्ने विषयमा सञ्चालकहरु सचेत हुनु पर्ने भएकाले तालिम उपयोगी भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

तालिमको सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारी ऐन र नियमावलीमा भएका व्यवस्थाहरुलाई कार्यान्वयन गर्दै सहकारी व्यवसायलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । सहकारी सदस्य केन्द्रीत व्यवसाय हो, यसको मुख्य काम सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण भएकाले त्यसैलाई मध्यनजर गरेर अगाडि बढेमा मात्रै सहकारीले लक्ष्य प्राप्ति गर्ने जिसीको भनाइ थियो ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष जीवन विश्वकर्माले सहकारीहरुलाई व्यवहारिक रुपमा होइन, नीतिगत रुपमा सञ्चालन गरेमा मात्रै दीगो रुपमा सञ्चालन गर्न सकिने भएकाले त्यसै अनुसार अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

सहकारीलाई व्यवस्थित रुपमा सञ्चालनका लागि सहकारी ऐन, नियमावली र संस्थाको विनियममा भएका विषयहरुका बारेमा प्रशिक्षक जिसीले सहजीकरण गर्नु भएको थियो ।

माछापुच्छ्र्रे सहकारीका रुपमा दावा दोर्जेले शुरुवात गरी रकम उठाएर वेपत्ता भएको संस्थालाई बुद्ध बहुउद्देश्यीय बनाई व्यवस्थित रुपमा अगाडि बढेको संस्थालाई आगामी दिन थप प्रभावकारी र व्यवस्थित रुपमा अगाडि बढाउनका लागि स्तरीकरण कार्यक्रममा सहभागि हुने तथा वित्तीय व्यवस्थापन, नीति विधि र प्रविधिको अधिकतम उपयोग गरी अगाडि बढ्ने लक्ष्य लिएको अध्यक्ष प्रमोदकुमार श्रेष्ठले बताउनुभयो । संस्थामा हाल २० करोड बराबरका कारोबार रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *