सम्पादकीय
देश राजनीतिक परिवर्तन, व्यवस्था र प्रणालीका हिसाबले अघि बढिरहेको छ । पुरानो राजतन्त्रात्मक शासन व्यवस्था बदलिएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको छ । र पनि समाज विकासमा आउनु पर्ने अनेकन आयामहरुमा अपेक्षित र उल्लेख्य उपलब्धि प्राप्त हुन सकिरहेको छ । बरु समस्या, बेथितिहरु बढ्ने क्रममा छन् । प्रदुषण नेपालको एक अर्को गम्भिर समस्याको रुपमा देखा परिरहेको छ । चाहे त्यो राजनीति भित्रको फोहोर (प्रदुषण) होस् या समाजका अनेकन पाटामा जकडिएर टाँसिएर बसेका प्रदुषणहरु होउन् । हरेकजसो क्षेत्रमा प्रदुषित मानसिकता, कार्यशैली, पात्र र प्रवृत्ति हाबी देखिन्छ । यस्ता अनेकन प्रदुषण मध्ये वायु प्रदुषणको समस्या बढ्दै छ । जसबाट मानव स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने र कतिपय सवालमा यसकै असरबाट ज्यान समेत जान सक्ने जोखिम देखिन थालेको छ ।
नेपालमा मुख्यगरी संघीय राजधानी काठमाडौं लगायतका शहर बजार, सदरमुकामहरु बढी प्रदुषित छन् । उसो त नेपालको पहिलेको तुलनामा पनि वायु प्रदुषण बढ्दै गएको अध्ययनहरुले देखाएको छ । नेपालमा वातावरण विभाग मार्फत सञ्चालित २७ वटा वायु गुणस्तर मापन केन्द्रमध्ये १० वटा मात्र अहिले सञ्चालनमा छन् । राजधानी काठमाडौंको शंखपार्क, गण्डकी प्रदेशको राजधानी पोखरा (जिबिएस केन्द्र), ललितपुरको खुमलटार, सुनसरीको झुम्का र कञ्चनपुरको महेन्द्रनगरको वायु प्रदूषण खराब अवस्था (रेडजोन)मा छ भने काठमाडौंको रत्नपार्क र धनकुटाको वायु पनि अस्वस्थकर छ । यस्तै, भरतपुर र हेटौँडामा प्रदूषणको मात्रा बढ्दै गएको पाइएको छ । बुधबारको ‘रियल टाइम पोलुसन डेटा’ हेर्दा पिएम–२.५ को मात्रा झुम्कामा १८३, शंखपार्कमा १६०, खुमलटारमा १५४ र महेन्द्रनगरमा १५२ छ । यो सूचकांक रत्नपार्कमा ११९, पोखरा (जिबिएस) मा ११३, धनकुटामा १०९, भरतपुरमा ७३ र हेटौँडामा ६८ छ । वायु मापन केन्द्र मध्ये राराको वायुको अवस्था मात्र स्वस्थकर देखिएको छ । जहाँ पिएम–२.५ (पार्टिकुलेट म्याटर)को मात्रा २९ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ, जुन स्वस्थकर हो । यस्तो सूचकांक १०० देखि १५० पुग्नुलाई बालबालिका तथा वृद्धका लागि तथा श्वासप्रश्वास सम्बन्धी रोग भएकाहरूका लागि अस्वस्थकर मानिन्छ भने १५० देखि २०० सम्मलाई सबै उमेर समूहलाई स्वास्थ्य समस्या देखिन सक्ने जोखिम हुन्छ । जसका कारण यस्तो बेला घरबाहिर धेरै समय नबिताउन सुझाइन्छ ।
यी तथ्यांक, तथ्य र खोज अध्ययनहरुले देशमा वायु प्रदुषण बढ्दै गएको देखिन्छ । हिउँदयामको सुक्खा मौसममा धुलोधुँवा बढी हुन्छ । इँटाभट्टाको धुँवा पनि मिसिने हुन्छ । यो सिजन प्रदुषणका हिसाबले बढी जोखिमपूर्ण मानिन्छ । हावा कम चल्ने र पानी नपरेका कारण प्रदूषण बढाउने तत्व तल्लो वायुमण्डलमा थिग्रिएर बस्छ । अर्को तर्फ जलवायु परिवर्तन मात्र होइन, मानवीय आचरणजन्य क्रियाकलाप अनुशासनको अभावमा पनि प्रदुषण बढेको छ । यस्तो प्रदुषण रोक्न न त संघीय सरकारसँग ठोस योजना र रणनीति छ, न त प्रदेश र स्थानीय तहको सरकारले नै कुनै आवश्यक सम्भाव्य पहल थालेको छ ? अब यही रफ्तारमा वायु प्रदुषण बढ्दै जाने हो भने भोलिका दिनमा अझ थप जटिलताहरु आउने निश्चित छ । अतः वायु प्रदुषण रोक्न ठोस नीति, कार्यक्रम, योजनादेखि नागरिक स्वयंम् समेत सचेत र जिम्मेवार बन्न बनाउन सबैको भूमिका आवश्यक छ ।