खानेपानी संस्थान पोखराले तेस्रो मर्दीको काम थाल्ने

आदर्श अनलाइन, पोखरा
नेपाल खानेपानी संस्थानले पोखराको खानेपानी व्यवस्था गर्न तेस्रो मर्दीको कल्पना गरेको छ । दिनानुदिन बढ्दो सहरीकरण र जनघनत्वलाई ध्यान दिँदै हाल उत्पादन भएको पानीले नपुगेको अवस्थामा यस्तो बताईएको हो ।

शुक्रबार नेपाल खानेपानी संस्थान हेम्जा शाखाको नवनिर्मित भवन र सुर्खास्थित ५ लाख क्षमताको पानी पोखरी उद्घाटन गर्ने क्रममा संस्थान सञ्चालक समितिका अध्यक्ष गुणाखर भुषालले पोखराको बसाईसराईको चापलाई ध्यान दिँदै खानेपानी संस्थानले पानीको जोहो गर्न बजेटको अभाव हुन नदिने बताउनुभयो ।

पोखरामा हाल मर्दी मुहानबाट १६ र २० इन्चबाट पानी आइरहेपनि हेम्जा तथा सिंगो महानगरमा अर्को पाइपलाईन विस्तारको लागि अध्ययन थाल्न आग्रह गरेका हुन् । अध्यक्ष भुषालले कर्मचारीको अभावलाई पुर्ति गर्न सञ्चालक समिति लागिपरेको बताउँदै कर्मचारी सेवासर्त विनियमावली मन्त्रालयबाट ल्याउन सवै कसरत गरिरहेको उल्लेख गर्नुभयोे ।

संस्थानका महाप्रवन्धक इश्वर प्रसाद र अध्यक्ष भुषालद्वारा संयुक्तरुपमा उद्घाटन भएको भवन र पानीपोखरीलाई व्यवस्थित बनाउँदै कर्मचारीको वृद्धिविकास र स्वच्छ पिउने पानी वितरण संस्थानले नै पुरा गर्ने महाप्रबन्धक इश्वर प्रसादले बताउनुभयो ।

उहांले सवै मिलेर संस्थानको हित गर्नु पर्ने समय आएको भन्दै कर्मचारीलाई तालिम र उपकरणमा सक्षम बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयोे । अर्थमहाशाखा प्रमुख रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको सभामा पोखरा महानगरका प्रवक्ता एवं पोखरा २५ का अध्यक्ष मोतिलाल तिम्सिनाले मौलिक अधिकार रहेको पानीलाई सिंगो महानगर वासीलाई सर्वसुलभ प्रदान गर्न संस्थानलाई आग्रह गर्नुभयोे ।

उहांले पानीकै लागि हेम्जाका नागरिकले पटक पटक संघर्ष गर्नु परेको स्मरण गर्दै छलफल र समन्वय गर्न महानगर तयार रहेको उल्लेख गर्नुभयो । अध्यक्ष तिम्सिनाले प्रशोधित शुद्धपानी हेम्जावासीले पिउन पाउनु पर्ने भन्दै ट्रिटमेन्ट प्लान्टको अवधारणा ल्याउन संस्थानसँग अनुरोध गर्दै आवश्यक जग्गा तथा समयमै सक्ने योजनालाई साथ दिन वडा तयार रहेको धारणा व्यक्त गर्नुभयो ।

केन्द्रीय कर्मचारी प्रशासन शाखाका प्रमुख कमल थापाले सञ्चालन गरेको सभामा हेम्जा शाखाका कार्यालय प्रमुख इन्जिनियर संतोषकुमार दासले स्वागत गर्दै स्थानीयस्तरमा सवैसँग सहकार्य र हातेमालो गर्दै जनताको सेवा गर्न आफू तयार रहेको बताउनुभयो । प्रमुख दासले आफूले जिम्मेवारी सम्हालेदेखि उपभोक्ताको हितमा क्रियाशील भएको स्मरण गर्दै वडासँग निरन्तर छलफल र समस्या समाधानमा लागिपरेको धारणा राख्नुभएको थियो ।

सभामा नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय अध्यक्ष केदार धमलाले संस्थान भनेको कर्मचारी भएको बताउँदै कर्मचारीको हितमा हुने कामलाई स्वागत र अहितमा हुने कामको खुलेर विरोध गर्ने बताउनुभयो । अध्यक्ष धमलाले कर्मचारी सेवा सर्त विनियमावली ल्याउनु पर्ने, तहगत तालिमको व्यवस्थापन गर्नुपर्ने, भेदभाव रहित कामको जिम्मेवारी प्रदान गर्नुपर्ने, दक्षता अभिवृद्धिकोलागि तालिम दिनु पर्ने, संस्थानमा मितव्ययिता अपनाउनु पर्ने लगायत धारणा व्यक्त गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *