नारी जागृति महिला सहकारीद्वारा सर्वोत्तम पीठो बनाउने तालिम

आदर्श अनलाइन, बागलुङ
बेनी नगरपालिका–८ बीरेन्द्रचोकमा रहेको नारी जागृति महिला विकास बहुउद्दश्यीय सहकारी संस्थाले नगरपालिका भित्रका महिलाहरुका लागि सर्वोत्तम पिठो बनाउने तालिम प्रदान गरेको छ । बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित डम्बरा, माझखेत र चुत्रेनी क्षेत्रका महिलाहरुलाई सर्वोत्तम पीठो उत्पादनसम्बन्धी तालिम दिइएको हो । ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरेर ‘सक्षम महिला समानान्तर पाइला’ भन्ने कार्यक्रमअन्तर्गत गाउँमै सर्वोत्तम पीठो उत्पादन गर्नेगरी तालिम प्रदान गरिएको हो ।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखरा र बेनी नगरपालिका–६, नम्बर वडा कार्यालयको आर्थिक सहयोग र समन्वयमा नारी जागृति महिला विकास बहुउद्दश्यीय सहकारी संस्थाले तालिम आयोजना गरेको थियो । तालिममा मिलन म्याग्दीले प्राविधिक सहयोग गरेको मिलन म्याग्दीका सहसचिव प्रताप बानियाँले बताउनुभयो । ७ दिनसम्म चलेको तालिममा सहभागी महिलाहरुले मकै, भटमास, गहुँ, काजु र चिनी लगायतका खाद्यान्न मिश्रिण गरी सर्वोत्तम पीठो उत्पादन गरेर प्रदर्शन गरेका थिए ।

स्थानीयस्तरमा पाइने मकै, गहुँ र भटमासलगायतको मिश्रण गरेर सर्वोत्तम पीठो बनाइएको सहकारीकी अध्यक्ष चिना बानियाँले बताउनुभयो । तालिम अवधिभरमा प्रशिक्षकहरुले महिलामा व्यावसायिक क्षमताको वृद्धि, सर्वोत्तम पीठो उत्पादन गर्ने तरिका, बनाउने विधि, समावेश गर्नुपर्ने कच्चापदार्थ र बजारीकरणलगायत विविध विषयहरुमा सहजीकरण गरिएको उहाँले बताउनुभयो ।

तालिमको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय गण्डकी प्रदेश पोखराका खाद्य निरीक्षक पूर्णकला थापा, सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, योजना अधिकृत बाबुराम आचार्य, बेनी नगरपालिकाको शाखा अधिकृत एवं खाद्य सुरक्षा तथा निर्देशक समितिका फोकलपर्सन युवराज थापाले सहजीकरण गर्नुभएको थियो ।

स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल, पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष हरिकृष्ण गौतम, मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालु, सुआहारा कार्यक्रमको विज्ञ बालकुमारी पुन, तालिम आयोजक सहकारीका अध्यक्ष चिना बानियाँ र सल्लाहकार तथा महिला अधिकार मञ्च म्याग्दीका सचिवालय संंयोजक जमुना आचार्यले सहजीकरण गर्नुभएको थियो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गाउँगाउँमा रहेका आमा समूहका भवनहरुलाई तालिम सञ्चालन केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले तालिम लिएपश्चात् अब तालिमको अवधिमा सिकेका ज्ञान, सिपलाई पूर्ण रुपमा व्यवहारमा उतार्नुपर्ने बताउँदै नगरपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराइने हुँदा महिलाहरु आयआर्जन र उत्पादनको क्षेत्रमा आबद्ध हुनुपर्नेमा जोड दिनुभएको थियो ।

बेनी नगरपालिका–६, का वडा अध्यक्ष कृष्णसिङ बानियाँले गरिबीबाट मुक्त हुनका लागि व्यावसायिक र उत्पादनमूलक क्षेत्रमा आबद्ध भई आर्थिक उपार्जन गर्नुपर्ने बताउनुभएको थियो ।

तालिमकै क्रममा उद्योग सञ्चालनका लागि भुजु बानियाँको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । आयोजक संस्था नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारीले सर्वोत्तम पीठो उद्योग सञ्चालन गर्न समितिलाई विद्युतीय मिल र प्याकिङ मेसिन हस्तान्तरण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *