म्याग्दीमा टेलिभिजन प्रयोगकर्ता घटे

अमृत बास्कुने, म्याग्दी
हिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय टेलिभिजन प्रयोगकर्ताहरुको संख्या ठूलो संख्यामा गिरावट आएको छ ।

सरकारले ल्याएको नीति अनुसार एनालग प्रविधिबाट डिजिटल प्रविधि तर्फ स्तरोन्नती एवम् कोभिड–१९ को प्रभावले गर्दा इन्टरनेट प्रयोगकर्ताको संख्यामा आएको बृद्धि संगै टेलिभिजनका प्रयोगकर्ता घटेका हुन् ।

म्याग्दीको बेनीमा रहेका म्याग्दी काली सञ्चार सहकारी संस्था लिमिटेड र पब्लीक भिजन केबुल नेटवर्क सहकारी संस्था लिमिटेडको तथ्याङ्कले टेलिभिजन प्रयोगकर्ताको संख्यामा गिरावट आएको देखाएको हो । म्याग्दी जिल्ला भर कभरेज क्षेत्र रहेका यी दुई सहकारीले मात्रै टेलिभिजन सेवा प्रदान गर्दै आएकोमा पछिल्लो ४ वर्षको अवधिमा प्रयोगकर्ताको संख्या ८० प्रतिशत भन्दा धेरै गिरावट आएको देखिएको छ ।

म्याग्दी काली सञ्चार मार्फत ४ वर्ष अगाडी सम्म चार हजार दुई सय ६० परिवार प्रयोगकर्ता रहेकोमा चालु आर्थिक वर्षमा जम्मा छ सय २० जना मात्रै टेलिभिजन प्रयोग गर्ने बाँकी रहेको संस्थाका सचिव सुविन श्रेष्ठले बताउनुभयो । म्याग्दी उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठका अनुसार सहकारी संस्था मार्फत इन्टरनेट सेवाका प्रयोगकर्ताहरु भने एक हजार छ सय ६० रहेका छन् ।

इन्टरनेट, केबुल र एफएम सञ्चालन गरेको म्याग्दी काली सञ्चार सहकारीका रेडियो र टेलिभिजन घाटामा गएको भए पनि इन्टरनेट भने फाइदामै सञ्चालन भएको श्रेष्ठ बताउनुहुन्छ ।

पब्लीक भिजन केबुल नेटवर्क सहकारी संस्था लिमिटेडको पनि अवस्था उस्तै छ । चार वर्ष अगाडी सम्म चार हजार दुई सय ५० परिवार टेलिभिजन प्रयोगकर्ता रहेकोमा अहिले आएर एक हजार चार सय ४० मात्रै बाँकी रहेको सहकारीका कोषाध्यक्ष एकेन्द्रबहादुर रावलले बताउनुभयो ।

पछिल्लो समय इन्टरनेटको प्रयोग बढ्नु, इन्टरनेट मार्फत चल्ने टेलिभिजनहरुको प्रयोगमा बृद्धि आएको भए पनि केबुल नेटवर्क मार्फत सञ्चालन हुने टिभिको प्रयोग घटेको उहाँको भनाई थियो । संस्थाको शनिबार भएको साधारणसभामा प्रस्तुत भएको प्रतिवेदनमा पनि केबुल टिभि प्रयोग घटेको पब्लीक भिजन केबुल नेटवर्क सहकारीका अध्यक्ष लक्ष्मण शर्माको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *