संगीतको धुनमा डरलाग्दो घुन !

सम्पादकीय
गीत संगीत श्रुति मधुर, कर्णप्रिय हुन्छ । जसको आल्हादित भएका मनहरुमा सान्त्वना भर्ने शक्ति हुन्छ । दुखेको तन मनहरुमा मलमको काम गर्ने सामथ्र्य हुन्छ । अरु कुनै पनि काम र क्षेत्रबाट नपाइने बिशिष्ट प्रकारको आनन्द र सन्तोषको अनुभूति गीत संगीतले दिन्छ । अरु कोही साथमा नहुँदा पनि गीत संगीत बजाए या सुने एक्लोपनको आभाष हुँदैन । एउटा असल साथी र सारथीको रुपमा संगीतले साथ दिन्छ । समग्रतामा संगीतमा ठुलो शक्ति हुन्छ । ध्यान र मन अन्यत्र मोडिएका बेलामा पनि गीत संगीतका धुनहरु बज्न थाले या गाइन थालियो भने हामी एकाएक आकर्षित हुन्छौ । मन्त्रमुग्ध हुन्छौ । कुनै यस्तो मानिस छैन होला, जो गीत संगीत मन पराउदैनन् । या संगीतले उनीहरुलाई तान्दैन । संगीत एक किसिमले भन्दा अन्र्तराष्ट्रिय भाषा हो । आज नेपाली भाषै नबुझ्नेले पनि संगीतको शक्तिका कारण सालको पात टपरी, गलबन्दी गीत किन गाउँछन् ? स्वभाविक छ की संगीतको त्यो मौलिक मिठास धुनले त्यो सम्भव र सहज बनाएको छ ।

तर, यति ठुलो शक्ति, सामथ्र्य र सन्देश बोेकेको संगीतमा कालोबजारी चलिरहेको तथ्य सार्वजनिक भएको छ । अग्रज पुराना कलाकारका कालजयी गीतहरु म्युजिक नेपालले बर्षौदेखी सिआरविटीदेखी डिजिटल बजार मार्फत बिक्री गरेर ठगी गरेको खबर सार्वजनिक छ । जुन खबरले सिंगो देश र संगीत बजार तरंगित छ । वस्तु विनिमय प्रथा सुरु भएपछि नाफा घाटाको हिसाब किताब हुन थाल्यो । जुनबेलादेखी नेपालमा ठगीको व्यापार हुन थाल्यो । जुन दिनदेखि सेवाका लागि दान दक्षिणा या भेटी दिन थालियो, त्यही वेलादेखि सेवाको पनि मूल्य सुरु भयो । यी स्वाभाविक कर्ममा अस्वाभाविक रुपमा ठगी गर्ने कार्य हर क्षेत्रमा बेथितिको रुपमा छरपष्ट देखिएको छ । यसैको एउटा रुप हो, संगीत बजारको ठगी । म्युजिक नेपालले संगीतकर्मी, गीतकार र गायकसहित चलचित्रकर्मीलाई यदी खबर सार्वजनिक भए जसरी नै गुमनाम शैलीमा ठगेको हो भने त्यो गम्भिर अपराधकर्म हो । यसलाई तत्काल थप अनुसन्धान गरेर कानुनी दायरामा ल्याउन जरुरी छ ।

पहिले गिति क्यासेट बेचेर थामिएको संगीतको बजार अहिले डिजिटल जमानाले ध्वस्त बनेको छ । सर्जक कलाकार बाँच्ने या कमाउने र टिक्ने भनेको सबै भन्दा बलियो आधार मेला महोत्सव बनेको छ । त्यस बाहेक युट्युुवमा आधारित संगीत बजार छ । यस्तो कठिन अवस्थामा सर्जक कलाकार तड्पिनु पर्ने र तीनैको सिर्जनाको कालोबजारी गरेर केही कम्पनी र व्यक्तिहरु भने रातारात धनी बन्ने परिपाटी निश्चय पनि संगीत बजार र देशकै लागि घातक छ । अर्को भाषामा भन्दा अहिले संगीतको मिठो धुनमा घुन लागेको छ । यसलाई केलाएर फाल्न सकिएन भने त्यसले अझ खराब परिणाम देखिने निश्चित छ । अहिले कालजली गीत सिर्जना र लगानी गरेकाहरु यो धरतिबाट बिदा भइसकेका छन् । तर, ती सर्जक, कलाकार, संगीतकार बितेर गइसके भनेर यो बिवाद र बहसलाई यतिकै छोड्नु हुँदैन । अहिलेको चरम ठगीमा बितेकाहरुले पनि न्याय पाउनु भनेको अहिलेका तमाम सर्जक र संगीत साधकले न्याय पाउनु हो । यसर्थ अब अर्को कुनै पात्र र कम्पनीले थप कालोबजारी गर्ने हिम्मत गर्न नसक्ने बातावरणका लागि अहिलेको समस्याको टुंगो लगाउन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *