आदर्श अनलाइन
बागलुङका पत्रकार सुमन जिसी फिरन्ते भएर घुम्नमा शौखिन छन् । र पछिल्लो केही बर्षमा सर्वाधिक घुम्ने सूचीमा पनि उनको नाम दर्ज छ । उनले हालै मात्र बागलुङ र रुकुमको सिमाना निसीखोला आसपासको हिउँ परिरहेको समयमा गरेको सामुहिक भ्रमणको फोटो र अनुभव साटेका छन् ।
उनी भन्छन्, ‘जन्मदेखि मृत्युसम्मको समग्र यात्राको नाम नै जीवन हो । जीवनका दौराणमा केही पल विशेष हुन्छन् । ती पलहरुलाई विशेष बनाउन अनेकौ कारणहरुले भूमिका खेलीरहेका हुन्छन् । जीवनलाई विशेष बनाउने ईच्छा सबैको हुन्छ तर त्यसका लागि कडा मिहेनत र त्याग आवश्यक पर्दछ । जीवनलाई विशेष बनाउनेहरुको भिडमा मैले पनि आफुलाई समावेश गरिरहेको छु अर्थात जीवनलाई विशेष बनाउने मेरो पनि इच्छा छ ।’
यात्रा अनुभव साट्ने क्रममा उनले अर्को महत्वपूर्ण कुरा पनि भनेका छन् । एउटै ठाउँलाई फरक फरक ऋतु (सिजन) मा हेर्ने मेरो ठुलो रहर छ । एकै सिजनमा त्यस ठाउँको सुन्दरतालाई हेरेर त्यसको सुन्दरताको बयान गरियो भने त्यो आधा अधुरो मात्र रहन्छ जस्तो मलाई लाग्छ ।
मेरो प्राथमिकतामा वर्तमानमा मैले जीवनयापनका लागि गरिरहेको जागिर पर्दछ । प्राथमिकतामा जागिर परे पनि यसबाट मेरो जीवन विशेष हुन्छ जस्तो मलाई लाग्दैन । मेरो विचारमा मानिसको जीवनलाई विशेष गराउनका लागि ऊ जुन कुरा गर्दा सबैभन्दा बढि खुशी हुन्छ त्यो कुरा गर्न पायो भने उसको जीवन विशेष हुन्छ । आफ्नो पेशा एकातर्फ भएता पनि म सबैभन्दा खुशी हुने भनेको “घुमफिर” मा हो । पेशा फरक भएकाले सधैभरी घुमफिरमै लाग्ने कुरा पनि भएन । तर, पनि आफ्नो जागिरे जीवनबाट केही समय निकालेर घुमिरहेकै हुन्छु । समय र परिस्थितिले साथ दिएमा भविष्यमा पनि धैरै ठाउँहरु घुम्ने योजना छ ।
मेरो जीवनमा उर्जा भर्ने एक मात्र तरिका भनेको निःसन्देह यात्रा हो । यात्रा गर्दा म धैरै नै उत्साहित हुने गर्दछु र जीवनमा भएका सबै कुराहरु त्यो यात्राले बिर्साइ दिने गर्दछ । समग्रमा जीवन भनेको पनि एक यात्रा नै हो ।
निसीखोला पुगिसक्दा पारी रहेका डाँडाकाडाँहरु हिउँले सेताम्मे भएको देख्न सकिन्थ्यो । त्यहाँ पुगेपछि हामीहरुलाई अर्को कुरा पनि थाहा भयो बाटोभर हिउँ भएकाले हामी रुकुमसम्म जान सम्भव नरहेको भन्ने जानकारी पाइयो । म मनमनै केही निराश भए, यस भन्दा पहिले पनि हामीहरु रुकुमका लागि जादै गर्दा बाटोमा पहिरो गएकाले फर्कनु परेको थियो भने यसपाली पनि हिउँले गर्दा हामीहरु रुकुम जान नसक्ने भयौं । रुकुम पुग्न नसके पनि हिउँ खेल्ने सपना भने पुरा हुने भयो भन्ने सोँचका साथ हाम्रो यात्रा पुनः शुरु भयो ।
यसभन्दा पहिलेको यात्रामा निसीखोला वरपरका डाँडाकाडाँहरु हरियाली थिए भने अहिले हिँउले गर्दा सेताम्मै भएका थिए । निसीखोलाबाट करिब १ घण्टाको यात्रा पार गर्दा बाटोमा हलुका हिउँहरु देख्न सुरु भईसकेको थियो । हामीहरु जति जती माथी जाँदै थियौं उतीउती बाक्लो हिउँले ढाँकीएका ठाउँहरु आउथ्यो । मध्यपहाडि लोकमार्गलाई पनि हिउँले पुरै ढाकिसकेको थियो ।
हिउँमा केही समय मोटरसाईकल अगाडि बढाएपनि हिउँले सबै बाटो छोपिसकेको ठाउँदेखि भने मोटरसाईकललाई हामीले अगाडि बढाउन सकेनौं । मोटरसाईकललाई त्यही छेउमा पार्क गरेर हामीहरु हिउँ सँग रमाउन सुरु ग¥यौं । हिउँको टुक्रा, हिउँको थुप्रो, हिउँको बिस्कुन हुँदै लटरम्म हिउँले ढाकिएको पहाडहरु नै देखिदै गए ।
हिउँ खेल्दै, हिँउमा फोटो खिच्दै हामी हिडेरै अगाडि पुग्न सक्ने ठाउँ सम्म जाने भनेर अगाडि बढ्यौ । हामीहरु त्यहाँ पुग्दा कोही पनि व्यक्तिले त्यो ताजा हिँउलाई नटेकेको पाईयो । हातमा हिउँ खेलाउँदै, हिउँका डल्लो बनाउँदै एकाअर्कालाई हिउँले हिर्काउँदै, विभिन्न पोज दिएर हिउँमा फोटो खिचाउँदै, हिउँका विभिन्न आकृति बनाउदै र तिनीहरुसँग फोटो खिचाउँदै हामी त्यही वातावरणमा एकचित्त भएर रमाएका थियौँ ।