सन्दीप लामिछाने प्रकरण, अदालत र संशय

सम्पादकीय
नेपाली क्रिकेटर सन्दीप लामिछाने खेल जीवनमा जति छिटो उदाए, र राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाए । त्यति नै छिटो र छोटो समयमा उनी आफ्नो उदाउँदो करियरलाई गम्भिर आरोप र विवादमा पारे । एक १७ वर्षीया किशोरीले काठमाडौंको गौशाला स्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई जबर्जस्ती बलात्कार गरेको आरोप सहित प्रहरी वृत्त गौशालामा उजुरी गरे पछि नेपाली क्रिकेट र नेपाली समाज पुरै तरंगित बनेको थियो । जाहेरी पछि लामिछाने विदेशमा प्रतियोगितामा सहभागी सन्दीप एकाएक सम्पर्कविहीन भएका थिए । प्रहरीले पक्राउ पुर्जी जारी गरी उनलाई पक्राउ गर्नको लागि इन्टरपोलसँग आग्रह गरेको थियो । जाहेरी परेको करिब एक महिनापछि असोज २० गते सन्दीप नेपाल फर्किएका थिए । प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो । उनी अब उच्च अदालत पाटनको आदेशमा रिहा हुने भएका छन् ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका लामिछानेले नेपाली क्रिकेटमा नयाँ सम्भावनाको उजागर गरेका थिए । तर, उनी जबरजस्ती बलात्कारको गम्भिर मुद्धामा मुछिए पछि उनी त विवादित र बदनाम बने नै, नेपाली क्रिकेट खेल क्षेत्र समेत बदनाम बन्यो । यद्यपि, अहिले यस मुद्धामा उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरिदिए पछि अनेकन सवाल र संशय उठिरहेको छ । लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ । तर, लामिछानेलाई धरौटीमा छाड्न अदालतले ५ वटा सर्त राखेको छ । ती सर्त उलंघन भएको अवस्थामा पुर्पक्षका क्रममा धरौटी माग गर्ने आदेश स्वतः निष्कृय हुने भनिएको छ । विदेश जान रोक लगाइएको छ । अदालतले लामिछानेको मोबाइल ट्रयाक गर्ने अधिकारसमेत प्रहरीलाई दिएको छ । पीडित किशोरी उनको परिवारलाई समेत भेटघाट गर्न नदिने शर्त आदेशमा उल्लेख छ । लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

नेपाली समाजको दुर्भाग्य भन्नुपर्छ, नेपाली चलचित्रका उदाउँदा नायक पल शाह जुन आरोपमा मुछिएर जेल जीवन बिताउन बाध्य भइरहेका छन्, नेपाली क्रिकेटका उदाउँदा प्रतिभाको रुपमा उदाहरणीय बनेका सन्दीप लामिछाने पनि उस्तै मुद्धामा मुछिए । जसका कारण सर्वाधिक महंगो रकम लिएर क्रिकेट खेलिरहेका सन्दीप एकाएक हिरासतमा पुग्दा खेलाडी, खेलप्रेमी सबै स्तब्ध भए । अब उच्च अदालत पाटनको आदेशले उनी प्रतिको आरोप र मुद्धाको प्रमाण कमजोर बनेको प्रतित हुन्छ । यद्यपि, जे जस्ता शर्तहरु राखिएका छन्, त्यसले उनलाई सहजै निर्दोष सावित हुने बाटो सजिलो देखिन्न । यदि उनी निर्दोष सावित भए भने त्यो नेपाली समाज र नेपाली क्रिकेटका लागि दुर्भाग्यपूर्ण मानिने छ । उदाउँदा प्रतिभाहरु प्रतिको नियोजित षड्यन्त्रको एक अर्को खतरानक रुप उजागर हुनेछ । यदी त्यसो हुन सकेन भने सेलिब्रेटी बनिरहेका खेलाडी या कलाकारहरुले त्यसको लाभ उठाउँदै गर्ने अबैध कर्म र आचरण उजागर हुनेछ । यसमा अदालतले सही समयमै मुद्धाको सही निरुपण गर्न आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *