विपन्नको घरमा जस्तापातको छानो

डम्मर बुढा मगर, बागलुङ
खरको छानो हिउँदमा न्यानो र गर्मीमा शीतल हुने हुँदा ग्रामीण क्षेत्रमा एक दशक अगाडिसम्म बाक्दै खरका घरहरु भेटिन्थे । ढुङ्गा खानीभन्दा टाढाको गाउँमा त झन् खरैखरका घरहरु हुन्थे । परम्परागत घरका घर देख्दा निकै रमणीय लाग्थ्यो । तर, अहिले ती घरहरुले रुप रंग बदलेका छन् । जिल्लाको निसीखोला गाउँपालिकाका अधिकांश गाउँमा खरकै घरहरु हुन्थे । तर अहिले ति घरहरु रंगीचंगी जस्तापाताले छाइएका छन् ।

गाउँपालिकाको खरका छानो हटाउने नीति अनुसार जस्तापाता र ढुङ्गे घर बनिरहेका छन् । युवा शक्ति पलायन हुने, गाउँमा बालबालिका र बुढापाका मात्रै हुँदा वर्षेनी खरको घर छाउन समस्या हुन थालेपछि पालिकाले खरको छानो विस्थापित गरेर जस्तापाताले छाइदिएको छ । निसीखोला गाउँपालिका–३ की तुलसी विककले हरेक दुई÷दुई वर्षमा घरको छानो फेर्दै आउनु भएको थियो । आर्थिक अभावमा गुज्रिँदै आउनु भएकी विकलाई प्रत्येक दुई वर्षमा घरको छानोमा नयाँ खर फेर्न सकस हुन्थ्यो ।

वर्षौँदेखि चुहिने र पुरानो खरको छानोमा बस्दै आउनु भएकी विकको घरमा गाउँपालिकाले जस्तापाताको छानो हाल्दिएपछि उहाँलाई ठूलो राहत मिलेको छ । वनबाट खर काटेर ल्याउने कोही नहुँदा आफू चुहिने घरमा चार वर्ष बसेको सुनाउँदै गाउँपालिकाले पुरानो खरको छाने हटाएर जस्तापाता हाल्दिएपछि सहज भएको उहाँ बताउनुहुन्छ ।

“खरको घर त निकै झण्झटिलो हुँदो रैछ, एकै वर्षमा खर कामै नलाग्ने गरि कुहिन्छ, दुई वर्ष नबित्दै नयाँ खरले छाउनु पर्छ, खरको लागि प्रर्याप्त खरबारी पनि छैन तर पनि छरछिमेकीको सहयोग लिएर बास छाउँदै आएको थिए, अहिलेसम्म ढुङ्गा र टिनको घरमा बस्न पाएको थिएन’, उहाँले भन्नुभयो,– “हाम्रो सरकार, हाम्रो सरहरुले अहिले यति ठूलो गुन लगाउनु भयो, मत निकै खुसी छु, अब त बाचुञ्जेल यो घरमा छानो फेर्न नपर्ला कि ?”

खरको समस्या हुँदा कति समय आफूले पानी चुहिने अवस्था हुँदा सम्म पनि छानो फेर्न नसकेको नियति अब भोग्नु नपर्ने भएपछि स्थानीय उत्साहित छन् । वडा नम्बर ५ का तिलकुमार विक पनि गाउँपालिकाले घरको छानो जस्तापाताले छाइदिए पछि हर्षित हुनुहुन्छ । पुरानो घरमा खरले छाएर बस्दै आउनु भएका सुनार अहिले जस्तापाताले छाए पछि नयाँ जस्तै बनेको छ । विकले खरको घर जोखिम र झन्झटिलो भएको भन्दै गाउँपालिकाले जस्तापाता हालिदिएपछि आफूलाई अब सहज हुने बताउनुहुन्छ ।

“अहिले त घर पनि राम्रो भयो, खरको घर समय–समयमा छानो फेरि राख्नु पर्छ, जसले खर्च बढ्ने, झण्झट हुने गथ्र्यो, जस्तापाता हालेपछि त धेरै वर्ष हुन्छ, म त निकै समस्यामा थिए, गाउँपालिकाले टिनको छानो हाल्दिएपछि निकै खुसी लागेको छ,” सुनारले भन्नुभयो– “अब त ढुक्क भइयो, कयौं वर्ष छानो फेर्न पर्दैन, आगलागी हुने डर पनि कम भयो, पहिले आगो लागेर सबै जलेको थियो, त्यस बेला त मेरो उठिबासनै लाग्यो, सबैले सहयोग गरेर अहिले यो अवस्थामा छु ।”

निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा विपन्न परिवारको घरमा जस्तापाताको छानो हाल्न तीस लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो । अघिल्लो वर्षहरुमा १०३ घरमा जस्तापाताको छानो हालेको भन्दै यस वर्ष पनि बाँकी रहेका खरका खर विस्थापित गरि जस्तापाता हाल्ने उहाँको भनाई छ ।

उहाँले अति न्यून वर्गका घरमा जस्तापाता प्रदान गरिएको भन्दै पूर्ण रुपमा खरको घर विस्थापित गर्नसम्म यो कार्यक्रम निरन्तर सञ्चालन हुने बताउनुभयो । गाउँपालिकाले ७ वटा वडामा ७३ जनाको र प्रदेश सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गतका ३० जना गरि १०३ जनाको अघिल्लो पटक घर जस्तापाताले छाइएको र यस वर्ष गाउँपालिकाको ३० लाखले दुई दर्जन बढी खरका घरमा जस्तापाताको छानो हाल्ने गौतमले बचाउनुभयो ।

उहाँ भन्नुहुन्छ– “हाम्रो पालिकामा धेरै गरिब तथा विपन्न परिवार छन्, उनीहरुको जस्तापाता तथा ढुङ्गाको छानो हाल्ने अवस्था छैन, त्यस गर्दा गाउँपालिकाले नै जस्तापाताको छानो हाल्दिन थालेको हो, अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि बाँकी घरका घरहरुमा जस्तापाता हाल्ने हाम्रो योजना छ, अब केही समयमा त्यसको काम सुरु हुन्छ ।”

हरेक वडा कार्यलयबाट सिफारिस भएर आएका गरिब परिवारको घर जस्तापाताले छाइदिने उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले पालिका भित्र रहेका न्यून वर्गका परिवारबाट खरको छाना विस्थापित गरि जस्तापाता हाल्न माग भए अनुसार अब सबै खरका घरमा जस्तापाताले छाइने बताउनुभयो ।

खरको छानो भएको घर आगलागीको जोखिममा हुने र गाउँ घरमा युवा जनशक्ति नहुँदा वृद्धवृद्धालाई घर छाउन कठिनाई भएकाले खरको छानो विस्थापित गरेर जस्तापाता हालिएको उहाँको भनाई छ । पछिल्लो समय गाउँमा बालबालिका र वृद्धवृद्धा मात्रै हुन थालेपछि छानोमा खर फेर्न समस्या भइरहेको हुँदा उनीहरुलाई थोरै भए पनि राहत दिनका लागि गाउँपालिकाले घरको छानो विस्थापित अभियान सुरु गरेको अध्यक्ष घर्ती मगर बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *