अन्तर्राष्ट्रिय विमानस्थल, दुर्घटना र देश

सम्पादकीय
हुन त हवाई यातायातलाई सुरक्षित यात्रामा राखिएको छ । तर, नेपालको सन्दर्भमा हवाई यातायात न सुरक्षित छ, न भरपर्दो नै । कहिले मौसम खराबी त कहिले अरु कुनै कारण देखाएर उडानमा ढिलाईले यात्रुलाई उत्तिकै सकस र सास्ती हुन्छ । सुरक्षित भनेर गरिने हवाई यात्रामा मौसम खराब हुँदा त जोखिमपूर्ण छ नै, मौसम अनुकुल हुँदा समेत अनेक दुर्घटना र जोखिमका घटना भइरहेकै छ । आइतबार पोखराको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सीताराम पुल छेउ सेती खोंचमा एति एयरको विमान दुर्घटना भयो । दुर्घटनाग्रस्त विमानमा ७२ जना सवार रहेका थिए । यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार तीमध्ये १५ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् । काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि उडेको जहाज दुर्घटनाको कारण अहिले सम्म खुल्न सकेको छैन ।

विमान दुर्घटनाको अनुक्रममा पोखरामा भएको दुर्घटना यस्तो बेला छ, जुन बेला हालै मात्र पोखरा अन्तर्राष्टिय विमानस्थलको उद्घाटन भएको छ । भलै उडान हुन सकिरहेको छैन । यस दुर्घटनाको समाचारले अब पोखराको अन्तर्राष्ट्रिय हवाई उडानमा गम्भिर असर पुग्ने देखिन्छ । चाहे त्यो गण्डकी प्रदेश क्षेत्रका प्रवासमा भएका नागरिक होउन् या बाह्य पर्यटक । उनीहरुले यहाँ आउँदा धेरै पटक सोच विचार गर्नेछन् । अर्को तर्फ नेपालको हवाई यातायातमा पुराना जहाजहरुको प्रयोग गरेर गम्भिर खेलवाड गरिरहेको चर्चा पनि हुने गरेकै छ । आखिर हवाई यातायात सुरक्षित र भरपर्दो किन बन्न र बनाउन सकिरहेको छैन ? पुनः गम्भिर बहस गर्नुपर्ने अपरिहार्य विषय बनेको छ । अहिले पोखरा दुर्घटनामा मौसम ठिक हुँदा हुँदै पनि किन दुर्घटना भयो ? यसका बारेमा सरकारले सम्बन्धित निकाय मार्फत छानविन समिति गठन गर्छ । एक थान प्रतिवेदन पनि तयार हुन्छ । तर, यस्ता दुर्घटना छानविन र प्रतिवेदन केबल कर्मकाण्डमा मात्र सीमित हुने गरेको खराब विगत नेपाल र नेपालीका सामु छ । जसले दुर्घटना किन भइरहेको छ ? र भोलिका दिनमा हवाई दुर्घटनाको जोखिम कम गर्न सरकार र सरोकारवा समेतको यथोचित ध्यान र गम्भिरता देखिदैन ।

हुन त दुर्घटना भन्न साथ यो एक भवितव्य हो । दुर्घटना सोच्दै नसोचेको घटना हो । तर, नेपालमा अधिक यस्ता दुर्घटनाहरु भएका छन् । जसमा सरकार र सरोकारवाला निकायले समयमै नीतिगत, प्रणालीगत, समय सापेक्ष प्रविधिगत लगायतका विषयमा गम्भिरतापूर्वक कदम चाल्न नसक्दा र यसमा निश्चित स्वार्थ समूहको घेराबन्दीमा परेर त्यस अनुरुप कार्य गर्दा गराउँदा पनि हवाइ दुर्घटना भइरहेको छ । यसमा अतः पोखराको जहाज दुर्घटनालाई सरकारले गम्भिरतापूर्वक लिनुपर्छ । सरकारले मन्त्री परिषद बैठक मार्फत सोमबार देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । तर, सरकारले शोक मनाउने मात्र होइन, अबका दिनमा फेरि यस्तै दुखद र अप्रिय घटना दोहोरिन नदिन यथोचित कदम चाल्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *