पर्वतको नियती बदल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बने पदम गिरी

राजु पौडेल, पर्वत

दोस्रोपटक सांसद जितेका पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्दा पर्वतकै नियति बदलिएको छ । भौगोलिक अवस्थिति र शैक्षिक दृष्टिले अन्य धेरै जिल्ला भन्दा अगाडि भएपनि पर्वतबाट अहिलेसम्म कोही पनि संघीय सरकारको विभागीय मन्त्री बनेका थिएनन् ।

राणाशासन अन्त्यपछि बनेको सरकारहरूमा राज्य र सहायक मन्त्री भने ६ जना भइसकेका छन् । पञ्चायत सुरु भएको पाँच वर्षपछि २०२२ सालमा गणेशबहादुर गुरुङ राज्यमन्त्री भएका थिए । अहिले मोदी गाउँपालिकामा पर्ने देउराली लाङ्दीका गुरुङपछि त्यही ठाउँका पूर्व भारतीय सेना लालसिंह गुरुङ सहायक मन्त्री भए ।

२०३१ सालमा हालको जलजला–४, मल्लाज माझफाँटका डम्मरबहादुर मल्ल राष्ट्रिय पञ्चायत सदस्य भए । दोस्रो कार्यकाल पनि चुनाव जितेपछि उनी २०३९ सालमा यातायात राज्यमन्त्री भए । २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्य जितेका क्षेत्रबहादुर गुरुङ यातायात सहायक मन्त्री बने ।

२०४६ सालमा बहुदल आएपछि पनि पर्वतबाट कोहीपनि मन्त्री बन्न सकेनन् । पर्वतको दक्षिणी क्षेत्र हालको महाशिला–४, पाखापानी धुँवाकोटका देबहादुर पौडेल क्षेत्री २०५४ सालमा स्थानीय विकास सहायक मन्त्री भए । फलेबास–६ का डिल्लीराज शर्मा ०५६ को चुनावपछि सहायक मन्त्री बने ।

२०५६ सालको चुनावपछि फलेवास–६ देवीस्थानकै डिल्लीराज पौडेल भूमिसुधार सहायक मन्त्री भए । त्यसको १५ वर्षपछि पदम गिरीलाई एमालेले स्वास्थ्य जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दियो, जुन अवसरले मन्त्री नबन्ने पर्वतको नियति बदलेको छ ।

गाउँबाट केन्द्रसम्म

७९ सांसद जितेर प्रतिनिधिसभाको दोस्रो दल बनेको एमालेमा धेरै आकांक्षीलाई पछि पार्दै पदम गिरी जसरी मन्त्री भए, सांसद बन्न पनि उस्तै चुनौती पार गर्दै आएका छन् । ४६ वर्षीय गिरीले २५ वर्ष अगाडि गाउँ कमिटीबाट पार्टी राजनीति थालेका थिए ।

२०३७ सालमा विद्यार्थी संगठन अखिल पाँचौंमा आवद्ध भएका गिरी पृथ्वीनारायण क्याम्पसको स्स्ववियु सदस्य, उपसभापति र सभापति भएका थिए । विद्यार्थी राजनीतिपछि २०५४ सालमा दुर्लुङ गाउँ कमिटी सचिव भए । २०६७ मा पर्वत जिल्ला सचिवालय सदस्य हुँदै २०७२ मा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भए ।

दुई वर्षपछि ०७४ मा चुनावबाट गिरी प्रतिनिधिसभा सदस्य निर्वाचित भए । माओवादी केन्द्रको साथ पाएर चुनाव जितेका गिरी त्यसैबेला पनि मन्त्रीको आकांक्षी थिए ।

तर पर्वतबाट तीन पटक सांसद भइसकेका कांग्रेस नेता अर्जुनप्रसाद जोशीकै जस्तो गिरीको पनि चर्चा मात्रै भयो । पटकपटक सरकारको नेतृत्व गरिरहने कांग्रेसको केन्द्रीय सदस्य भएर पनि जोशीले कहिल्यै मन्त्री बन्ने अवसर पाएका थिएनन् । पुराना राजनीतिज्ञ अमृतप्रसाद जोशीको लिगेसी (छोरा) बोक्न अर्जुनप्रसाद हरेक पटक चुनाव जित्दा मन्त्री बन्ने सपना देख्थे ।

तर ०७४ मा वाम गठबन्धन हुँदा पदमसँग पराजित भएसँगै उनको मन्त्री बन्ने अधुरै रह्यो । त्यसबेला जोशीलाई पदमले १२ हजार ४५६ मतान्तरले हराएका थिए । गिरीले आफूसँगै पर्वतका दुवै प्रदेशसभा सदस्य पनि जिताएर लालकिल्ला बनाए ।

यसपटक पनि एमालेले गिरीलाई नै उम्मेदवार बनाएको थियो । पार्टी फुटको तात्तातो घाउ र ५ दलीय गठबन्धनविरुद्ध जित निकाल्न सजिलो थिएन । पार्टी अध्यक्ष केपी शर्मा ओली निकट भएर उम्मेदवार बन्नु थप प्रतिकुलता थियो ।

तर गिरीले आफूसँगै प्रदेशसभा सदस्यहरू पनि जिताए । राजनीतिक परिस्थितिले पनि उनलाई साथ दियो । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोड्दै नेकपा माओवादी केन्द्रले एमालेसँग सरकार बनाएपछि गिरीलाई मन्त्री बन्ने बाटो खुल्यो । पार्टी नेतृत्वले पनि दुई पटक जितेका र अवसर नपाएका सांसदलाई मन्त्री बनाउने नीति अपनाउँदा गिरीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाए ।

अनलाइन खबरबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *