सविनाको खेल्ने रुचि पुरा गर्ने बा–आमाको चाहना

अमृत बास्कुने, म्याग्दी

सविना बिक । प्रेम विक र फुलमायाँ विककी माइली छोरी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पौवाकी १५ वर्षीया विकको रुचि उमेरसँगै खेलकुदमा बढ्दो छ ।

गत हप्ता बेनीमा सम्पन्न भएको महिला ६ किलोमिटर दौड प्रतियोगितामा प्रथम । १५ सय र ३ हजार मिटर दौडमा गाउँपालिकामा मात्र होइन् जिल्लामै स्वर्ण जितेर प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने अवसर ।

उमेर मात्र होइन, उमेरसँगै छोरीले रुचिको क्षेत्रबाट घर भित्राएका मेडल र प्रमाण पत्रले प्रेम र फुलमायाँको समेत मन लोभिएको छ ।

राष्ट्रपति रनिङशिल्डमा उत्कृष्ट स्थान हासिल गर्दै प्रदेशसम्म पुगेकी सविनाले पहिलो पटक नगद ८ हजार रुपियाँ लिएर घर आउनुभएको थियो । ‘छोरीले पुरस्कार लिएर आएपछि हौसला बढाउँनको लागि गाउँलेसँग मिलेर जन्मोत्सव मनायौ,’ फुलमाया भन्नुहुन्छ ‘बालबालिकालाई उनिहरुको रुचिको क्षेत्रमा प्रोत्साहन गर्दा थप राम्रो गर्ने हौसला मिल्दो रहेछ ।’

यसपटक म्याग्दी महोत्सवमा स्वर्ण पदक हात पर्दा पाँच हजार नगद पुरस्कार प्राप्त गर्नुभएको थियो । पैसा पुरस्कार लिएर घर आएकी छोरीलाई फुलमायाले भुड्को उपहार दिनुभयो । भुड्कोमा पैसा राखेकी सविनाको धेरै पैसा जम्मा गरेर राम्रो कपडा, सुनका मुन्द्रा किन्ने सपना छ ।

‘बेनीको दौड प्रतियोगितामा जान्छु भन्थी, ठुला मान्छे दौडने ठाउँमा ग्राहो हुन्छ नजाउ भनेकी थिए,’ फुलमाया भन्नुहुन्छ, ‘जान्छु जितेर आउँछु भन्थी जितेरै आइ, अब भने उसको इच्छा अनुसार सहयोग गर्ने सोच बनाएकी छु ।’

तीन सन्तान, तीन वटै छोरी । प्रेम र फुलमायालाई आफ्न्त, इष्टमित्रले छोरा पनि चाहिन्छ है, नभनेका होइनन् । तर, प्रेम र फुलमाया भने छोरीहरुलाई उनिहरुकै रुचिको क्षेत्रमा सक्षम बनाउनको लागि आफुले सक्दो प्रयास गर्ने बताउनुहुन्छ । परिवारको आवश्यकता पुरा गर्नको लागि सविनाका बाबा प्रेम तीन महिना अगाडी कतार जानुभएको छ ।

२०६४ मंसिरमा जन्मिएकी सबिनाले विद्यालय स्तरीय छोटो तथा लामो दुरीका दौडमा सहभागिता जनाउँदा पदक प्राप्त छुटाउनु भएकै छैन् । सानो उमेरमै खेल क्षेत्रमा छोरीको बढ्दो लगाव देख्दा प्रेम र फुलमायालाई पनि यहि क्षेत्रमा अगाडी बढ्न प्रेरणा, हौसला र साथ दिने सोच पलाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *