सरोजराज पन्त
यो समय नेपाली घरआँगनमा श्रीस्वस्थानी व्रत कथाको सुन्ने सुनाउने महिना हो । यसको बारेमा यतिबेला पक्ष विपक्षमा अनेकौ बहस पनि नभएका होइनन । तथापि नेपाली श्रद्धालु भक्तजन एक छाक शुद्ध अनाज खाई प्रत्येक दिन बिहान, मध्याह्न र साँझमा श्रद्धाभक्तिपूर्वक शिवपार्वतीको पूजा गर्ने गरिन्छ । पौषशुक्ल पूर्णिमादेखि प्रारम्भ भई माघ शुक्लपूर्णिमासम्म हिन्दु धर्मावलम्बीले यो कथा सुन्ने, सुनाउने चलन छ । कथामा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर व्रत बसेको र त्यसपछि मनोकाक्षा पूरा भएको विश्वास स्वरुप स्वस्थानीको व्रतकथा प्रचलनमा रहि आएको छ । स्कन्दपुराणको केदारखण्ड र माघमाहात्म्य, पद्मपुराण आदि ग्रन्थमा यस विषयमा चर्चा भएको छ । यसरी व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याधी पनि नष्ट हुने विश्वास गरिन्छ । यस अवसरमा काठमाडौँको साँखुस्थित शालीनदी, पशुपति, गौरीघाट, सतीदेवीको अङ्गपतन भएको मानिने पवित्र धार्मिक स्थलहरूमा श्रद्धालुहरुको घुइँचो लाग्ने गर्दछ ।
स्वस्थानी शब्द स्वस्थानमा ई प्रत्यय लागेर बनेको पाइन्छ । स्वस्थान भन्नाले आफैँमा रहने वा आफ्नै वरपर रहने मातृशक्ति देवीको आराधना हो । स्वस्थानी व्रत हिन्दुले मात्र मनाउने र स्वस्थानी व्रत कथाभित्र पर्ने लावण्यदेश, सालीनदी, गौरीघाट, मृगस्थली, किराँतेश्वर, बागमती नदीलगायतका क्षेत्रहरू नेपालभित्रै पर्ने हुनाले नेपालको स्थानीय एवं मौलिक पर्वका रूपमा स्वस्थानी व्रतलाई लिइन्छ । यसरी महिना दिनभर घरघरमा वाचन एवं श्रवण गरिने श्रीस्वस्थानी व्रतकथाको महत्व धार्मिक एवं आध्यात्मिक रूपले मात्र नभई समाजमा रहेका अनेकौ विकृतिलाई हटाउनका लागि प्रेरित रहेको छ ।
यो स्कन्धपुराण, केदारखण्डको माघ महात्म्यमा रहेको कथा हो । यसलाई ३१ अध्यायमा विस्तार गरिएको छ । नेपाली समाजमा कथा परम्पराको सनातन र लोकप्रिय परम्परा स्वस्थानी व्रतकथा निर्विवादित र आलोचनारहित बन्न सकेको छैन । अनेकौ अधिकारमुखी चेतनाको विकास भएको तर साँस्कृतिक चेतना नहुर्केको हुनाले यहाँ अनेकौ विवाद आउने गरेका छन । स्वस्थानीबारे बुझ्न ‘स्वस्थानी व्रतकथा’ का मुख्य पात्रहरू ब्रह्मा, विष्णु, महादेव, पार्वती–सती, दक्ष प्रजापति, विरणी, शिव शर्मा, गोमा हुन् ।
यस विषयमा अमेरिकाको पेनस्टेट विश्वविद्यालयमा एसियाली अध्यययन, महिला अध्ययन, लैंगिकता तथा यौनिकता पढाउने जेसिका भेन्टिन बिर्कन्होल्जले यस अघि नेपालमा स्वस्थानी व्रतसँग सम्बन्धित विषयमा विश्लेषण गरी एउटा पुस्तक तयार पारेकी छन् । दुई दशकको अथक अध्ययनपछि उनले प्रकाशित गरेको पुस्तकमा स्वस्थानीको बारेमा हुने दुईवटा तथ्यलाई विश्लेषण गरेकी छन ।
भेन्टिनले करिब ८०० प्रकारका स्वस्थानीका किताब फेला पारेंको र तीमध्ये प्रकाशन मिति उल्लेख गरिएका, आकारप्रकार नबिग्रिएका र पूरा कथा भएका करिब दुई दर्जन छानेर पढेंको र १७ औं शताब्दीदेखि २१ औं शताब्दीसम्म आइपुग्दा स्रोत पुस्तक र अहिलेको पुस्तकमा धेरै भिन्नता आएको उनी बताउँछिन् । यसै गरी बस्नेतको अनुसन्धानमूलक आलेखमा हालसम्म पाइएको सबैभन्दा पुरानो स्वस्थानीको किताव नेपाल संवत् ६९३ (वि.सं. १६२९) को स्वस्थानपरमेश्वर्या व्रतकथा हो । यो संस्कृत भाषामा लेखिएकोे हस्तलिखित पुस्तक हो । त्यसको ३० वर्षपछि नेवारी भाषामा लेखिएको स्वस्थानी रहेको पाइन्छ । यो अहिले राष्ट्रिय अभिलेखालयमा संग्रहित छ । त्यसको झण्डै ११८ वर्षपछि मैथिली भाषामा लेखिएको स्वस्थानी किताव भेटिएको छ । नेपाली भाषामा लेखिएको पहिलो किताव वि.सं. १८६७ मा लेखिएको हस्तलिखित स्वस्थानी व्रतकथा हो । यिनै प्रमाणको आधारमा स्वस्थानी कथा १७ औं शताब्दीभन्दा पुरानो मान्न सकिन्छ ।
स्वस्थानीमाथि भएका विभिन्न अनुसन्धानमध्ये जेसिका भ्यान्टाइन बर्किनहोल्जले लेखेको रिसाइटिङ गडेस द न्यारेटिभ्ज अफ प्लेस एन्ड द मेकिङ अफ हिन्दुइजम इन नेपाल शीर्षकको किताब पछिल्लो हो । अहिलेसम्म प्राप्त सबभन्दा पुरानो स्वस्थानी कथा सन् १५७३ को रहेको पाइन्छ । यो संस्कृतमा थियो । अर्को प्राप्त प्रति सन् १६०३ को नेपालभाषामा थियो । ईश्वर बरालले सन् १६०१ को नेपाली भाषामा लेखिएको स्वस्थानी केशर पुस्तकालयमा देखेको चर्चा पनि छ । मल्लकालमा पशुपति पुराण, स्वयम्भु पुराण, नेपाल महात्म्य आदि रचना गरिएको र पछिल्लो कालका यी सिर्जना पुरानो परम्पराकै निरन्तरता भएको पाइन्छ । स्वस्थानीको मूल कथा शिव भट्ट ब्राह्मणबाट सुरु हुन्छ । गोमाको जन्म तथा अनमेल विवाह, नवराजको जन्म तथा विवाह, गोमा र चन्द्रावतीको स्वस्थानी व्रत र अन्तमा नवराजको राजामा वरणपछि गोमाले पाएको सुख तथा सन्तोषलाई स्वस्थानी कथाको सार मानिन्छ । कर्म गर फलको आस नगर भन्ने चलन रहेको तत्कालीन समाजमा जीवन र जगतका प्रेरणादायी मधुरता समेटिएको छ । ‘स्वस्थानी व्रतकथा’ आफू, आफ्नो स्थान, आफन्तको सहभागितामा उनीहरूकै हित–कल्याण तथा धन–सम्पत्ति र सुख–ऐश्वर्यका लागि व्रत बस्ने र सुन्ने–गरिन्छ । यस्ता बिषयमा लगभग तीन सय वर्षसम्म यही प्रारम्भिक कथा प्रचलनमा रहेको र प्रचलित कथाका अन्य प्रसङ्गहरू पटक–पटक गरेर पछिल्ला समयमा थपिएका हुन सक्छन् ।
नेपाली समाजमा साहै्र लोकप्रिय रहेको यो स्वस्थानी व्रतकथाका केही प्रसङ्गहरु भने आलोचित रहेका छन् । ती विषयहरु मध्येको मुख्य विषय लैङ्गिक न्यायसँग सम्बन्धित रहेको छ । यसमा सात वर्षकी वालिका गोमा र ७० वर्षका बृद्ध शिव शर्माबीचको अनमेल विवाहको विषयले नेपाली समाजमा परापुर्व कालमा यस्ता अनमेल विवाह भएकाले आलोच्य बनेको छ । यो कथाको एउटा प्रसङ्गमात्र हो यसका अनेकौ सकरात्मक पक्ष पनि छन भनी यसलाई स्वाभाविक रूपमा स्वीकार गरिएको भए पनि छ । तथापि कथामा असल र खराव व्यवहार भएका मानिसको फरक फरक दृष्टिकोणले चर्चा गरिरहदा यो विषयले सर्वत्र यसैप्रकारको विवाहलाई प्रोत्साहित गरिएको भन्ने पाइदैन । विवाहयोग्य उमेरका स्त्री–पुरुषका शारीरिक विकासका प्रसङ्गले यो विषय स्वतः एउटा घटनामात्र रहेको पुष्टि हुन्छ । त्यसो त त्यतिबेलाको समाजमा पनि विवाहको उमेर निर्धारण गर्ने आधार यौवनावस्था हो भनिएको पाइन्छ । मातृप्रधान र पितृप्रधानताउन्मुख समाजको ऐतिहासिक अध्ययन यो व्रत समापनका दिनमा १०८ गणनाको रोटीको प्रसादको विषयलाई आलोचना गरिन्छ । यसमा यो १०८ सख्याको रोटी श्रीमानलाई, श्रीमान् नभए छोरालाई, छोरा नभए मितका छोरालाई, मितका छोरा पनि नभए नदीमा बगाइदिने तर छोरी र अन्य महिलालाई दिने प्रावधान नभएकोले समाजमा रहेको पुरुषप्रधानतालाई निकै महत्व दिएको पाइन्छ । सन्तानको लिङ्ग फरक हुनु स्वाभाविक जैविक हो तर लिङ्गका आधारमा सन्तानबीच गरिने विभेद आजको समाजकालागि स्वीर्कायोग्य देखिँदैन ।
तथापि सौभाग्य, उत्तम पति, ऐश्वर्य एवं शिवशक्तिको कृपा पाउनकालागि स्वस्थानी भगवतीको पूजन नितान्त जरुरी रहेको भनिन्छ । यस कथामा अहङ्कारले विनाश गराउँछ । बाहिरी स्वरूपलाई मात्र हेरेर आफ्नी छोरी सतीदेवी महादेवलाई दिन नमानेका दक्ष प्रजापतिले विष्णुको छलबाट सतीदेवीसँग महादेवले विवाह गरेको प्रसङ्ग स्वस्थानीमा छ । आजको समाजमा मन मिलेमा आमा वावाको आँखा छल्ने चलन, छल गर्ने चलन नरहेको होइन । यसमा महादेवलाई नाना प्रकारले गाली एवं निन्दा गरेको सुन्न नसकी सतीदेवीले यज्ञ कुण्डमा हाम्फाली प्राण त्याग गरेको एकातिर छ । आपलना पतिको निन्दा कसलाई स्विकार्य होला भने विषय यसमा छ । अर्कोतिर नवराजकी पत्नी चन्द्रावती आफ्ना पति राजा भएको खबर सुनी चाँडोभन्दा चाँडो भेट्न लालयित भएकी स्वस्थानीको प्रसाद अहङ्कार गरी फालेको कारणले गर्दा ठूलो दुःख र कष्ट पाउनु परेको कथा छ जसबाट खाना फाल्न नहुने देखिन्छ । यसैगरी प्रेमको गहन चर्चामा सतीदेवीलाई महादेवले कैलाश र आफ्नो ज्योति स्वरूपको दर्शन दिएपश्चात् यी दुई पतिपत्नीबीच सुमधुर सम्बन्ध रहेको देखिन्छ । सतीदेवीले आफ्ना पतिले खाने भाङ, धतुरोको हिफाजतसँग राखिदिने र भोजन पतिले नखाएसम्म आफूले पनि नखाने जस्ता कार्यबाट पति प्रेम दर्शाउँछ । यसर्थ देहत्याग गरेकी सतीदेवीलाई समेत बोकेर विक्षिप्त भई हिँड्नु सतीदेवीको सम्पूर्ण अङ्ग पतन भइसक्दा पनि चाल नपाएको चर्चाले आपसी प्रेम र सदभाव कस्तो हुुनुपर्दछ भन्ने देखाइएको छ । महादेवको पत्नीप्रतिको प्रेम एकपक्षीय मात्र होइन हामी सबैको यस्तै प्रेम आवश्यक छ भन्ने सन्देश पाइन्छ ।
यतिमात्र होइन यस कथामा परस्त्रीलाई आँखा गाड्नु हुँदैन भन्ने कुराको स्पष्ट चर्चा भएको छ । यसैगरी स्वस्थानी कथाले अन्धाधुन्ध कसैमाथि पनि पूर्ण विश्वास गर्नु हुँदैन भन्ने सन्देश दिएको छ । जबकि पार्वतीलाई छकाउन महादेव किराँत रूप भई जङ्गलमा बसेको थाहा पाई पार्वती पनि किराँतिनी रूप भई महादेवलाई आकर्षित गर्दा महादेव ती किराँतिनी पार्वतीसँग विवाह गर्न तयार भए तर किराँतिनी रूप धारण गरेको पार्वतीले आफ्नो घरमा जाऔँ भनेर आफ्नो पिताको (हिमालय पर्वतको) घरमा लग्दा महादेव लज्जित भएका जस्ता कुरा स्वस्थानीको कथामा पाइन्छ । अहिलेका जालन्धरले पार्वतीलाई छल गर्न आएमा यो प्रसङ्ग काम लाग्ने कि नलाग्ने र पार्वतीले पत्ता लगाएपछि आलोचित बन्ने नबन्ने यो पाट पनि सिक्न र छर्लङ्ग बन्न आवश्यक छ । यस कथामा पितृभक्तिको राम्रो सन्देश रहेको पाइन्छ । नवराज गर्भमा रहेको बेला उनका पिता शिव शर्मा सुत्केरी खर्च जुटाउन विदेशिएकाले नवराजले आफ्ना बाबुको खोजखबर गरी मरेको पत्ता लगाई पितृको उद्धार गर्ने कार्य गरे । धर्मशास्त्रमा कुनै पनि पुत्रले पितृको उद्धार नगरी आफ्नो सुखभोगमा मात्र लाग्न नहुने चर्चा रहेको छ । यदि यसो गरेमा मनुष्यहरु घोर नरकमा पर्दछन भनिएको छ ।
वर्गीय आधारमा हेर्दा तत्कालीन समयमा वर्गीय भेद थियो । शक्ति र सामर्थको ठूलो भूमिका रहेको थियो । पार्वतीसँग समागमको इच्छा राख्ने जालन्धर, निर्दोष वृन्दालाई छलपूर्वक समागम गर्ने विष्णु, शतिmका कारण फरक निर्णयका पात्र बने । जालन्धर र महादेवबीच शक्तिको भेदको कारण पुराणकारहरूले जालन्धरकी पत्नी वृन्दालाई विष्णुबाट बलात्कृत तुल्याए, तर महादेवकी पत्नी पार्वतीलाई चाहिँ बचाए । कमजोर पुरुषकी स्त्री तिनका पतिको निरीहताका कारण बलात्कृत हुनु स्वाभाविक ठानियो । यस्ता विषयमा नारीवादीहरुको प्रश्न आउने अबस्था स्वस्थानी कथाभित्र प्रसङ्गले उठाएको छ । यसले समाजमा पार्ने मनोविज्ञानको विश्लेषण हुनु जरुरी छ ।
शक्ति र राजनीतिको आधारमा हेर्दा स्वस्थानी व्रतकथाको अन्तिम अध्यायमा गोमा ब्राह्मणीले आफ्ना दुई बुहारी चन्दावती र लावण्यवतीलाई विभिन्न उपदेश दिई ढुकुटीको साँचो हस्तान्तरण गरेको प्रसङ्ग छ । हाम्रो नेपालको राजनीतिमा र समाजमा पनि नयाँ पुस्तालाई मौका दिनुपर्ने सन्देश लिने कि नलिने ? सथै काम र उमेरले पाका भएको व्यक्तिको सम्मान गर्दै उनीहरूले सिकाएको पाठलाई मनन र अध्ययन गर्ने कि नगर्ने ? समय अनुसार यसको भाव अध्ययन गरी अगाडि बढने हो भने पक्कै पनि समाजको चौतर्फी विकास हुनेछ । समाजका प्रत्येक सदस्यहरू प्रति सम्मान र समान व्यवहार, सद्भाव एवं सहिष्णुता कायम गरी न्याय र नैतिकतामा आधारित पहुँचयोग्य समानताको प्रवर्द्धन गर्ने र विना भेदभाव स्रोतसाधनको परिचालन गर्न पाउने अधिकार सबैले पाउन वातावरण बन्नु पर्दछ ।
स्वस्थानी व्रत र कथालाई महिलाहरुको साक्षरतासँग जोडेर हेर्न किन नसकिने, घरमा स्वस्थानीको किताब हुनैपर्ने र किताब भएको घरमा स्वस्थानी वाचन गर्नैपर्ने लोक विश्वासले यसलाई बढावा दिएको वा नदिएको अध्ययन गर्ने कि नगर्ने ? यस व्रत अवधिमा नियमित स्नान गर्नुको साथै हातगोडाका नङ काट्नु पर्ने, चोखो सफा खानपान र व्यक्तिगत सरसफाइलाई जोड दिएको स्वस्थानी व्रतको सवल पक्ष मान्ने कि नमान्ने ? संस्कृति कुनै स्थिर र अपरिवर्तनशील तत्व होइन । समयको गतिअनुसार सान्दर्भिक सुधार गर्न र गरिनु आवश्यक छ ।
स्वस्थानी व्रतको इतिहास र सान्दर्भिकतामाथि बहस गरी यस कथाको विरोध वा समर्थन गर्नेभन्दा पनि इतिहास, प्राचीन प्रबन्ध र परम्पराका विषयलाई किन र केका लागि बनाइयो के यो सुरक्षित गर्न जरुरी छ वा छैन ? त्यसैले हाम्रो समाजमा चलिआएको स्वस्थानी कथाले नेपाली समाजमा रहेका विकृति तथा विसङ्गति हटाई स्वस्थ समाज निर्माण गर्ने सन्देशका रूपमा लिन र न्यायपूर्ण मानव समाज निर्माण गर्नकालागि बुद्धिमानी रुपमा अघि बढ्नु आजको आवश्यकता हो ।