आदर्श अनलाइन, काठमाडाैं
संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पतालका डा. किरण नकर्मीले बताए ।
नेपाल प्रेससँग उनले भने, ‘क्रिटिकल अवस्था थियो । शरीर ८० प्रतिशत जलेको थियो । ८० प्रतिशत शरीरको हिस्सा जल्नु भनेको एकदमै क्रिटिकल अवस्था हो । उहाँको बिहान ५ बजे निधन भयो ।’
इलाम घर भएका आचार्यले हिजो शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । प्रहरीले उद्धार गरी उनलाई अस्पताल पुर्याएको थियो । आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन्।
उनले केही समय आचार्यसँग कुरापनि गरेकी थिइन् । डा. कार्कीले राज्य, हामी हुँदाहुँदै किन यस्तो गर्नुभयो भन्दा आचार्यले कुरा कसैले सुन्दैन भन्दै दुःखेसो पोखेका थिए ।
राज्यमन्त्री कार्कीले भनेकी थिइन्— हाम्रो नयाँ सरकार बनेको थिो । एकपटक आउनुपर्ने थियो । हामी केही न केही गर्नेथियौँ । त्यसपछि आचार्यले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेलाई भेट्ने इच्छा व्यक्त गरेका थिए ।