उन्नत व्यवस्था, प्रेमप्रसाद र नियति

सम्पादकीय
उन्नत व्यवस्था भएको देशमा एक नागरिक आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएर मर्नुपरेको खबर सायदै दुनियाँमा होला । त्यो पनि कुनै आक्रोश, आवेग या ‘मानसिक असन्तुलन’ भएर होइन, व्यापारमा बिचौलियादेखि उधारा खाने र राज्यको संस्थागत प्रणालीको विकासमा देखा परेका बेथितिले खराब पात्र र प्रवृत्तिबाट अनेकन हण्डर ठक्कर खाँदै बिक्षिप्त बनेर राज्य, व्यवस्था र प्रणाली प्रति गम्भिर प्रश्न उठाउँदै मर्छन् । त्यो पनि देशलाई गाली गरेर होइन, देश भित्रका खराब कार्यशैली, व्यवहार, आचरण भएकाहरु प्रति रोष व्यक्त गरेर म मरे पनि मेरो देश बाँचिरहोस् भनेर मर्छन् । यसरी इलामका प्रेमप्रसाद आचार्य (३६)ले मंगलबार साँझ संसद भवन अघि गरेको आत्मदाह ठिक कि बेठिक भन्ने बहसको एउटा पाटो होला । तर, उनले आत्मदाह गर्नुअघि लेखेका ६५३५ शब्द सहितका सवाल र सुझावले देश विदेशमा भएका नेपालीहरुको दिमाग रन्थनाइदिएको छ । र देशमै केही गरौं भन्नेहरुका लागि फेरि एकपटक सोचनीय बनाएको छ ।

प्रेम प्रसादले आत्मदाह गरिनु अघि उठाएका दर्जनौ सवाल देशको नीति निर्माण र प्रणालीसँग सम्बन्धित छ । जुन नीति र प्रणाली नहुँदा इमान्दार, मेहेनेती आफु जस्ता व्यक्तिहरु चरम तनाव, अपमान र उपेक्षा खेपेर बाँच्न बिबश हुनुपर्ने बताएका छन् । त्यसमा अनेकन संघर्ष गरेर उठ्ने प्रयास गर्दा पनि चौतर्फी व्याप्त बेथिति, बिचौलिया लगायतका कारण आत्मदाहको निर्णयमा पुगेको सार अन्तिम स्टाटसबाट देखिन्छ । आफुले व्यावसायिक जीवनमा पाएको हण्डर ठक्करको फेहरिस्त सहित सरकारलाई केही सुझाव पनि लेखेका छन्, जसमा नेपालको संसदमा गम्भिरतापूर्वक बहस हुनुपर्दछ । राष्ट्रिय उत्पादनमा भ्याट शून्य नीति, आकर्षक बजार क्रय बिक्रय नीति लागू, दर्ता नगरी खुलेका पसल बन्द, बिचौलिया उधारो बजारको अन्त्य, जग्गा जमिन पुस्तौसम्म हस्तान्तरण गरिने परिपाटीले नेपाली जनता अल्छी भएकाले एक जमिनको स्वामित्व एक ब्यक्तिलाई ५० बर्ष सम्मलाई मात्र दिने व्यवस्था गर्न सुझाएका छन् । शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायातमा निजीकरण निरुत्साहित, सार्वजनिक खरिद ऐनमा व्यापक सुधार, बैंकि मूलयांकन प्रणाली परिवर्तन, सहरका अनुत्पादक जग्गाले जति नै मुल्य गाउँका उर्वर उत्पादनशील जग्गाले पनि पाउनु पर्ने व्यवस्था लगायतका विषय उल्लेख गरेका छन् ।

देशमा नीतिगत समस्या कारण नेपालीले पाइरहेको सास्ती र सकस एकातिर छ भने भएका नीति नियमहरुको पनि प्रणालीगत रुपमा प्रभावकारी तबरले कार्यान्वयन नभएको बिडम्बनापूर्ण अवस्था छ । राज्य र यसका निकायको कमजोर भूमिकामा सत्ता र शक्तिको निकट भएकाहरुको हालीमुहाली छ । यो देशमा इमान्दार र स्वभिमानपूर्वक काम गरेर बाँच्न खोज्दा सर्वत्र समस्या भोगे पछि त्यसले स्वभाविक चरम निराशा र आक्रोश जन्माउँछ । तर, यसको विकल्प या समाधान आत्मदाह होइन र हुन सक्दैन । प्रेमप्रसादले जे जति शब्दमा आफ्ना भावना र स्पष्टिकरण लेखेर आत्मदाह गरे पनि यसले आत्मदाह ठिक हो भन्ने कुरा स्थापित गर्दैन । आत्मदाह या आत्महत्या कायरताको अन्तिम रुप हो । यद्यपि, यो देशमै इमान्दारिपुर्वक केही गर्न खोज्ने युवालाई गुमाएका मात्र छैनौ, सिंगो देश, राज्य र व्यवस्थाको यथार्थ तस्बिर उजागर भएको छ । यो घटना एक, दुई दिन शोक, समवेदना, भावना र सहानुभूति व्यक्त गर्नेमा मात्र सीमित नहोस्, संसद भवन अघि नै भएको घटनालाई सरकार र सांसदहरुले गम्भिरतापूर्वक लिएर नीति र प्रणाली सुधारमा तत्काल भूमिका खेल्नुपर्छ । न कि भोलिका दिनमा अरु कुनै पनि नागरिकले प्रेमप्रसादको नियति भोगेर आत्मदाह गर्न नपरोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *