नयाँ सहर आयोजना : करोडौँको बजेट, काम भने सुस्त

डम्मर बुढा मगर, बागलुङ
साँघुरो बजार । त्यसमाथि खोलाको जोखिम । नेपाल सरकारले दश नमुना सहरमा सूचिकृत गरेको बजार हो बुर्तिबाङ । निसी, भूजी र तमानको संगम स्थल मानिने बुर्तिबाङ बजार बागलुङको दोस्रो ठूलो व्यापारीक केन्द्र पनि हो । बुर्तिबाङ बजारलाई सरकारले नयाँ सहरको योजनामा सूचिकृत गरेको सात वर्ष बिति सक्यो । तर, अहिलेसम्मको प्रगति हेर्ने हो भने उत्साहजनक छैन । योजना सुरु भएदेखि हालसम्म करोडौँ बजेट विनियोजन भयो ।

रहेक वर्ष करोडौँका बजेट यहाँ परे पनि अझै अत्यावश्यकीय पूर्वाधारहरु निर्माण हुन सकेका छैनन् । पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट विनियोजन नहुँदा समस्या भएको आयोजना कार्यालय बताउँछ । बजारलाई पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षित र व्यवस्थित गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजना बुर्तिबाङमा करोडौँ बजेट खर्च भए पनि हालसम्म उल्लेख्य विकास नभएको स्थानीयको गुनासो छ ।

बुर्तिबाङ बजारलाई मध्यपहाडी लोकमार्गका आसपासका १० सहरमध्ये एक नमुना सहरका रूपमा विकास गर्ने योजनाका साथ आर्थिक वर्ष २०७२÷०७३ सालदेखि पूर्वाधार निर्माण कार्य भइरहेको छ । नयाँ सहरका रूपमा निर्दिष्ट क्षेत्रमा कालोपत्रे सडक निर्माण, व्यवस्थित विद्युतिकरण, खानेपानी, ढल निकासी लगायतको प्रबन्ध, उद्यान, खेल मैदान, मनोरञ्जन स्थल, हाट बजार लगायतको निर्माण कार्य व्यवस्थित हुनु पर्ने भनिए पनि अझैसम्म धेरै पूर्वाधार निर्माण हुन नसकेको स्थानीय प्रेमबहादुर विकले बताउनुभयो ।

उहाँले नाम मात्रै नयाँ सहरी योजना भएको तरका बजार क्षेत्रमा काम नभएको बताउनुभयो । बजार क्षेत्रमा सडकहरु साँघुरो हुँदा पैदल यात्रु तथा स्थानीय व्यापारीलाई दुर्खटनाको जोखिम भएको खत्रीको भनाई छ । बजार क्षेत्रका चोक, फुटपात तथा गल्लीहरु निकै जोखिमयुक्त रहेको भन्दै आयोजनाले बजारमा नयाँ पन दिन नसकेको उहाँ बताउनुहुन्छ ।

खत्री भन्नुहुन्छ– “बुर्तिबाङ नयाँ सहरी आयोजना सुरु भएको एक दशक हुनै लाग्यो, अहिलेसम्म केही प्रगति देख्न पाइएको छैन, बजारका सडकको हालत हेर्नु हुन्छ भने एउटा गाडी राम्रोसँग गुड्न सक्दैन, बसपार्क कुरा गर्नुहुन्छ भने पाँच वटा बस राम्रोसँग पार्क गर्न मिल्दैन, त्यो पनि पुरानो हो, खानेपानीको समस्या उस्तै छ, के भयो त खै ?”

ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका वडा अध्यक्ष बानबहादुर छन्त्यालले नयाँ सहर आयोजनाको काम सन्तोसजनक नभएको बताउनुभयो । उहाँले बुर्तिबाङ बजारमा गर्नु पर्ने काम धेरै भएको भन्दै आयोजनाले त्यस तिर चासो नदिएको बताउनुभयो । बजार क्षेत्रमा ढल व्यवस्थापन, खानेपानी लगायतको समस्या रहँदै आएको तर नयाँ सहर आयोजनाको कार्य क्षेत्र भित्र परे पनि सही तरीकाले काम नगरेको बताउनुहुन्छ ।

अध्यक्ष छन्त्याल भन्नुहुन्छ– “यहाँ गर्नु पर्ने काम धेरै छ, केही योजना पूरा भएको देखिन्छ, केही अलपत्र छन्, यहाँका नागरिक सन्तुष्ट हुने गरि काम भएको छैन, बजारनै खोलाको जोखिममा छ, यस तर्फ ध्याननै गएको छैन, बुर्तिबाङ बजारमा खानेपानीको समस्या भएको वर्षौदेखि हो, यो आयोजना संचालन भएको पनि दश वर्ष हुन लाग्न थाल्यो तर यति समस्या समाधान हुन सकेको छैन, आयोजनासँग सहकार्य गरेर काम गर्न हामी तयार छौँ ।”

बसोबासलाई व्यवस्थित गर्ने, बसाइँसरी तराईका जिल्ला तथा ठूला सहरहरुमा जानेहरुलाई रोक्न यस नयाँ सहर आयोजना सञ्चालन गरिएको थियो । नयाँ सहर निर्माणको सोच राम्रो भए पनि सोही अनुरुपको बजेट र काम नभएपछि आयोजनाका बारेमा स्थानीयको गुनासो र आक्रोश तीव्र देखिन्छ । २०७२÷०७३ मा बुर्तिबाङमा आयोजना कार्यालय स्थापना भए पश्चात १४ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गरिएको नयाँ सहर आयोजना बुर्तिबाङका निमित्त प्रमुख अभिषेक अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार करिब एक किलोमिटर बजारको ढल व्यवस्थापन भएको छ भने आयोजनाको कार्यालय भवन निर्माण गरि कुत्थाप्लामा सञ्चालन गरिएको छ । तर बसपार्क, उद्यान पार्क लगायतका काम भने अझै हुने सकेन । आयोजनाले व्यवस्थित बसोबास निर्माण तथा पूर्वाधार निर्माणका लागि ५६ रोपनी भन्दा बढी जग्गा समेत खरिद गरेको प्रमुख अधिकारीले जानकारी दिनुभयो जानकारी दिनुभयो ।

अधिकारीले बसपार्क, खानेपानी, उद्यान पार्क, फोहोर व्यवस्थान, खेल मैदान, मनोरञ्जन स्थल, हाट बजार जग्गा व्यवस्थापन गरि रहेको बताउनुभयो । यी पूर्वाधारहरु जग्गा प्राप्त गर्न नसक्दा निर्माण हुन नसकेको आयोजना प्रमुख अधिकारी बताउनुहुन्छ । सबै संरचनाहरु निर्माण गर्न जग्गा चाहिने र सार्वजनिक जग्गा बजार क्षेत्रमा नपाइँदा समस्या परेको अधिकारीको भनाई छ ।

उहाँ भन्नुहुन्छ– “हामीहरुले धेरै कामको सुरुवात गरेका छौँ, यहाँ जग्गा प्राप्त गर्नै मुस्किल भएको हुँदा संरचनाहरु निर्माण गर्न सकिएको छैन, जग्गा पाउने भए आवश्यक पूर्वाधारहरु बन्दै जानेछन्, हामीले जग्गा प्राप्तिका लागि कोसिस गरिरहेका छौँ, सडक बत्ती लगायतका कामहरु भइसको छ, अझै चार वटा मुख्य सडक निर्माण गर्न बाँकी छ ।”

आयोजनाले एक हजार रोपनी जग्गा किन्ने लक्ष्य रहेको उहाँको भनाई छ । यस आयोजनाका लागि चालु आर्थिक वर्षमा १५ करोड ६० लाख रुपैयाँ विनियोजन भएको अधिकारी बताउनुहुन्छ । भब्रेटामा सभाहलको काम सुरु भएको समेत जानकारी दिनुभयो । खप्तरीबाङमा बसपार्क निर्माणको तयारी गरेको पार्क निर्माणका लागि टेण्डर प्रक्रिया सुरु भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अहिलेसम्म हाट बजार र बुर्तिबाङ बजार संरक्षणका लागि तटबन्धन अझैसम्म हुन सकेको छैन । आगामी वर्षको बजेटमा तटबन्धनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रमुख अधिकारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “बजार क्षेत्रमा सरकारी जग्गा छैन, बजारभन्दा बाहिर जग्गा खरिद गरेर संरचना निर्माण गरेका छौँ, त्यही भएर स्थानीयको गुनासो आएको हुन सक्छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *