काठेखोला गाउँपालिकाले औद्योगिक ग्राम निर्माण गर्दै

डम्मर बुढा मगर, बागलुङ
बागलुङको काठेखोलामा औद्योगिक ग्राम निर्माण भइरहेको छ । केन्द्र सरकारको लगानीमा एक पालिका एक औद्योगिक ग्राम अन्तरत वडा नम्बर ७ रेश सुराजामा निर्माण थालिएको हो । कृषि उपज वस्तुहरुको बजारीकरण, व्यापार व्यवसायको प्रवद्र्धनका लागि यहाँ औद्योगिक ग्राम निर्माण गर्न थालिएको काठेखोला गाउँपालिका–७ रेशका अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

जिल्लामा सबैभन्दा पहिले काठेखोलाले औद्योगिक ग्रामको निर्माण थालेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ देखि नै निर्माण सुरु गरेको अध्यक्ष लामिछानेले बताउनुभयो । उहाँका अनुसार केन्द्र सरकारले पहिलो वर्ष ९२ लाख विनियोजन गरेको थियो । त्यस बजेटले संरचना निर्माण थालनी भइसकेको अध्यक्ष लामिछाने बताउनुहुन्छ । यस वर्ष केन्द्र सरकारले एक करोड विनियोजन गरेको भन्दै आगामी वर्ष औद्योगिक ग्राम निर्माण कार्य सम्पन्न हुने उहाँको भनाई छ ।

अध्यक्ष लामिछाने भन्नुहुन्छ– “औद्योगिक ग्रामको निर्माणको काम आगामी वर्ष सक्ने लक्ष्य छ, एक वर्ष खाली भयो, काम हुन सकेन, नत्र यस वर्ष सकिने थियो, यस वर्ष पनि केन्द्र सरकारले एक करोड बजेट विनियोजन गरेको छ, कामलाई तीव्रता दिने क्रममै छौँ, यस यहाँका स्थानीयहरुलाई बजारीकरणमा ठूलो टेवा पु¥याउने छ, संरचना निर्माणपछि तुरुन्तै औद्योगिक ग्राम संचालन गर्छौँ ।”

गाउँपालिकाका प्रवक्ता टिकासंगम विकले स्थानीयलाई व्यापार व्यवसाय र उत्पादनसँग जोड्न औद्योगिक ग्राम निर्माण भइरहेको बताउनुभयो । औद्योगिक ग्राम निर्माण गर्न अघिल्लो वर्षदेखि सुरु भए पनि अहिलेसम्म सम्पन्न नभएको उहाँको भनाई छ । अहिलेसम्म दुई वटा टहरा र यहाँसम्म पुग्ने सडक निर्माण भइसकेको प्रवक्ता विक बताउनुहुन्छ ।

“औद्योगिक ग्राम निर्माणले यहाँका आम नागरिकमा उत्साह जागेको छ, अहिले जग्गा व्यवस्थापन र केही संरचनाहरु निर्माण भएका छन्, सडक पनि निर्माण भइसकेको छ, अन्य कामलाई तीव्रता दिन थालेका छौँ,” उहाँले भन्नुभयो– “यो वर्षको बजेटको काम सुरु गर्न थालेका छौँ, औद्योगिक ग्रामले यहाँका नागरिकको जीवनमा केही परिवर्तन ल्याउने छ ।”

औद्योगिक ग्राम निर्माण पश्चात यहाँ साना, मझौला र ठूला सबै उद्योग यहाँ संचालन हुने भन्दै उद्योग गर्न चाहाने स्थानीयले यो ठाउँ गाउँपालिकाले उपलब्ध गराउने विकको भनाई छ । उहाँले औद्योगिक ग्रामले रोजगारी सिर्जना सुनुका साथै सामान्य वर्गको दैनिकीमा समेत परिवर्तन ल्याउने बताउनुभयो । गाउँपालिकामा रहेका युवा शक्तिलाई उद्योग, धन्दा, व्यापार व्यवसाय गर्न प्रेरितसमेत गाउँपालिकाले गर्ने उहाँ बताउनुहुन्छ ।

गाउँपालिकाले कृषकले उत्पादन गरेको तरकारी, फलफूल तथा दूधलाई बजारीकरणका लागि अक्षते बजारमा हाट बजार संचालनसमेत गर्ने तयारीमा रहेको गाउँपालिका उपाध्यक्ष तिलक थापाले बताउनुभयो । उहाँले काठेखोला बागलुङमा सबैभन्दा बढी कृषि उपज वस्तुहरु उत्पादन गर्ने पालिका भएको हुँदा कृषकलाई बजारको सहज पहुँचमा पु¥याउन र उचित मूल्य दिलाउन हाट बजार संचालन गर्न थालेको बताउनुभयो ।

उपाध्यक्ष थापाले भन्नुभयो– “औद्योगिक ग्राम वडा नम्बर ७ मा निर्माण हुँदै छ, यसले उद्योग संचालन गर्न सहयोग गर्ने छ भने अक्षतेमा संचालन हुने हाट बजारले कृषकलाई बजारको अभाव हुन दिने छैन, अब कोही पनि कृषक बजार नपाएर, उचित मूल्य नपाएर चिन्तित हुनु पर्ने छैन ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *