साइवर सुरक्षाको सवाल

सम्पादकीय

नेपालमा पछिल्लो दश वर्षमा कुनै क्षेत्रको तिव्रतर विकास भएको छ भने त्यो प्रविधिमै भएको छ । विश्वका विकसित देशहरुको दाजोमा उल्लेख्य विकास हुन नसके पनि आफ्नै रफ्तारमा प्रविधिका क्षेत्रमा नेपालले पनि छलाङ मारिरहेको छ । र त अहिले मोवाइल हरेकजसो मानिसहरुको हात हातमा पुगेको छ । दुरदराजका गाउँहरुमा पनि प्रविधि र नेटवर्कको सहज पहुँच पुगिरहेको छ । प्रविधि मानिसहरुको दैनिक जीवनको अभिन्न अंग जस्ता बनिसकेका छन् । प्रविधिले मानिसको जीवनलाई सहज पनि तुल्याइदिएको छ । अर्को अर्थमा भन्दा प्रविधिले परनिर्भर समेत बनाइरहेको छ । चाहे त्यो व्यक्तिगत जीवनमा होस् या सरकारी, गैरसरकारी कामकाज, सेवा प्रवाहरुमा होस् । प्रविधिको उपयोग विनाको सेवा, काम, प्रगति कल्पना भन्दा बाहिरको जस्तो भइरहेको छ ।

प्रविधिको विकास र उपयोग मात्र बढेको छैन, सुरक्षा जोखिम पनि उस्तै देखिन थालेको छ । शनिवार मात्रै सरकारकै केन्द्रीय डेटा केन्द्रमा साइबर आक्रमण भयो । करिब चार सय सरकारी वेबसाइट डाउन भए । जसका कारण अन्तर्राष्ट्रिय उडान दुई घन्टासम्म ‘डिले’ भए । साइबर आक्रमणको सबैभन्दा ठूलो असर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखियो । अध्यागमन विभागको वेबसाइट डाउन भएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित भएका थिए । साइवर आक्रमणका कारण राहदानीदेखि ड्राइभिङ लाइसेन्ससम्मको सर्भरमा पटक–पटक समस्या आउने गरेको छ । सरकारी निकायले सेवा प्रवाह सहज बनाउन प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै गएको छ । अनलाइनमार्फत सेवा दिने सरकारी कार्यालयका वेबसाइट तथा सर्भरमा बारम्बार समस्या आउँदा सेवा प्रभावित हुँदै आएको छ । नेपाल प्रहरीको वेबसाइटमा पनि समस्या हुँदा तीन साताअघि पुलिस रिपोर्ट वितरण प्रभावित बनेको थियो । सर्वसाधारणले अनलाइन आवेदनमा चर्को दुःख पाउँदै आएका छन् । साइबर विज्ञहरूका अनुसार धेरै सेवाग्राही रहेका संस्थाको सर्भरमा हुने यस्तो आक्रमण मुख्यतः दुई किसिमका हुन्छन् । पहिलो– सर्भर डाउन गराएर सेवा रोक्ने र दोस्रो– सर्भर नै क्रयास गराउने । यसमा कुल खालको भन्नेमा अनुसन्धान भइरहेको छ ।

सरकारी वेबसाइटमा भएको आक्रमणले आइसिटीमा हाम्रो कमजोर धरातलको उजागर गरेको छ । ह्याक भएको या आन्तरिक प्राविधिक समस्या वा डस अट्याक जे भए पनि यसले साइवर सुरक्षाका सवालमा राज्यको अवस्था प्रस्ट्याएको छ । डेढ–दुई घन्टासम्म अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित हुँदा पनि केही समाधान र विकल्प खोजी गर्न नसक्ने कुराले देश विदेशमा बदनाम मात्र भएको छैन । साइवर सुरक्षामा नेपाल र नेपाली कति सुरक्षित छन् ? भन्ने कुरा पनि गम्भिरतापूर्वक उठेको छ । पछिल्लो समय त सरकारले नागरिकका हरेक व्यक्तिगत विवरणलाई नागरिक एप मार्फत र अरु प्रविधिको सहयोगमा दस्तावेजीकरण गरिरहेको छ । यस्ता घटनाले भोलिका दिनमा गोप्य कुराहरु बाहिरिने जोखिम छ । तसर्थ, सरकार र यसका निकायले समयमै साइवर सुरक्षालाई थप मजबुत बनाउने दिशामा कदम चालोस् । प्रविधिको उपयोगितासँगै यसका सम्भावित जोखिम र त्यसको नियन्त्रणमा पनि उत्तिकै गम्भिरताका साथ ध्यान दिओस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *