आर्थिक तरलता,वित्तीय अपराध र अप्रिय घटना

सम्पादकीय/ देश मात्र होइन, विश्व अर्थतन्त्र यतिबेला संकटमा छ । आर्थिक मन्दीले चौतर्फी समस्या सिर्जना गरिरहेको छ । व्यापार व्यवसाय झन् भन्दा झन् ह्रासोन्मुख अवस्थामा छ । कोभिडका कारण शिथिल बनेको उद्योग व्यवसाय तंग्रिन नपाउँदै बैंक तथा वित्तीय संस्थामा आर्थिक अभाव पैदा भएको छ । जसका कारण एकातर्फ ऋण अनुदान प्रवाह हुन सकिरहेको छैन भने अर्को तर्फ ब्याज महँगिएको छ । यसको प्रत्यक्ष मारमा लाखौ करोडौं लगानी गरेका व्यवसायीदेखि सर्वसाधारण छन् । यस्तो संकट कहिले सम्म लम्बिने हो ? यसको सिकार कोको हुने हुन् ? यही कारण मुलुकमा कति संकट, सकस र अप्रिय घटना बेहोर्नु पर्ने छ ? यो सबै अनिश्चयको भुमरीमा छ ।

सूचना केन्द्रको पछिल्लो एक अध्ययन अनुसार साढे ६ महिनामा ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने व्यवसायीको संख्या तीन गुणाले बढेको छ । तीन महिनासम्म भाका नाघेको कर्जालाई असल कर्जा नै मानिन्छ । तीन महिनादेखि ६ महिनासम्म नाघे कमसल, ६ महिनादेखि एक वर्षसम्म नाघे शंकास्पद र एक वर्षभन्दा बढी समय भाका नाघेकोलाई खराब कर्जाका रूपमा वर्गीकरण गरिएको छ । यही वर्गीकरणका आधारमा चालू आर्थिक वर्षको १५ माघसम्म एक वर्षभन्दा बढी भाका नाघेको १३ हजार दुई सय २६ ऋणी कालोसूचीमा दर्ज छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन गुणाले बढी हो । यति मात्रै होइन, चालू आर्थिक वर्षको साढे ६ महिनामा कालोसूचीमा पर्नेको संख्या अघिल्लो सिंगो आर्थिक वर्षको भन्दा पनि धेरै हो । ०७८÷७९ मा वर्षभरि १३ हजार दुई सय १६ जना ऋण तिर्न नसकेर कालोसूचीमा परेका थिए । यो डरलाग्दो तथ्य सार्वजनिक हुँदै गर्दा बदनामीको त्रासले एकपछि अर्को व्यवसायी आत्मदाह गर्नेसम्मको निर्णयमा पुगेका घटना पनि बढ्न थालेका छन् । कर्जामै डुबेर कति नेपाली व्यवसायी, किसान वा अन्य पेसाकर्मीले आत्महत्या गरे भन्ने तथ्यांक सरकारी निकायसँग नै छैन । तर, वार्षिक सरदर पाँच हजारभन्दा बढीले आत्महत्या गर्ने गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म मात्रै दुई हजार चार सय ८० जनाले आत्महत्या गरेका छन्, तर यसमा कति व्यवसायी छ भनेर छुट्याइएको छैन । छिमेकी भारतमै प्रत्येक वर्ष औसतमा १० हजार किसानले आत्महत्या गर्दै आएको भयावह तथ्यांक छ ।

अहिले आत्महत्या या चरम डिप्रेशन पैदा हुनुका पछाडि मुख्य कारण आर्थिक तरलताकै समस्या हो । अघिल्लो साता मात्रै संसद भवन अघि आर्थिक कारोबार, व्यापार व्यवसाय र देशको बेथितिलाई कारण देखाउदै प्रेमप्रसाद आचार्यले आत्मदाह गरे । त्यसपश्चात एक पछि अर्को आत्मदाहको प्रयास गर्ने लहड चलिरहेको छ । पछिल्लो समय आर्थिक संकटका कारण व्यवसायमा संकुचन आएको छ । अहिलेको तरलता समस्या नै कालोसूची, वित्तीय अपराध र अप्रिय घटना बढ्नुको मुख्य कारण हो । व्यवसायीमा ऋणमाथि पहुँच नहुँदा वित्तीय अपराध बढ्ने भएकाले कालोसूचीमा पर्ने ऋणीको संख्या पनि बढ्दै गइरहेको छ । अतः यस्तो संकट र सकसपुर्ण अवस्थामा सरकारले जतिसक्दो छिटो तरतला समस्या समाधान गर्नमा भूमिका खेल्नुपर्छ । सर्वसाधारण, उद्योगी, व्यवसायी हतास, निराश भएर अप्रिय निर्णय गर्न होइन, नयाँ सोच, विकल्प, व्यवसायको विविधता तर्फ ध्यान दिन लाग्नुपर्दछ । अहिलेको समस्या कुनै एक दुई व्यक्ति र व्यवसायीलाई मात्र होइन, नेपाल र विश्वव्यापी रुपमा देखिएकाले आफु सम्हालिएर व्यवहार, व्यापार व्यवसाय सम्हाल्नमा केन्द्रित हुन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *