एक प्रहरी एक म्याट्रेस : हट्यो बिस्ताराको चिन्ता

–खेमराज गौतम, बागलुङ

बागलुङमा एक प्रहरी एक म्याट्रेस कार्यक्रम प्रभावकारी बनेको छ । जिल्लामा खटिएका सबै प्रहरीलाई पुग्ने गरी स्थानीय बागलुङका सबै पालिकाको सहयोगमा म्याट्रेस उपलब्ध गराइएको छ ।

एक प्रहरी एक म्याट्रेस कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालयलाई बागलुङका १० पालिकाको तर्फबाट ३८९ थान म्याट्रेस प्राप्त भएकाले प्रहरीलाई अब बिस्ताराको समस्या हटेको छ ।

बागलुङका विभिन्न क्षेत्रमा खटिएका प्रहरीलाई सरुवा हुँदा बिस्तारा ल्याएर आउने कार्यको अन्त्य भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयो ।

३८९ वटा म्याट्रेस रु.२४ लाखको लागतमा बागलुङका पालिकाले खरिद गरेर वितरण गरेका हुन् ।

“बागलुङका १० पालिकाले खरिद गरेर प्रदान गरेको म्याट्रेस अधिकांश प्रहरी युनिटहरुमा पुगिसकेको छ, एउटा जवान देखि कार्यालय प्रमुख सम्मलाई पुग्नेगरी प्रति म्याट्रेस रु. सात हजारका दरले पालिकाले खरिद गरेर प्रदान गरेका हुन्” ज्ञवालीले भन्नुभयो “अब प्रहरी सरुवा भएर आउदा बिस्तारा पोको पारेर ल्याउन पर्दैन, प्रहरी युनिटमा नै म्याट्रेस हुन्छ, प्रहरीले जनताको सेवामा खटिदै गर्दा राम्रो बिस्तारामा सुत्न आवश्यक छ, स्थानीय पालिकाहरुलाई धन्यवाद जस्ले प्रहरीको एक प्रहरी एक म्याट्रेस अभियानलाई सहयोग गरेकोमा ।”

बागलुङ जिल्लाका सबै प्रहरीलाई पुग्ने गरी पालिकाहरुको आर्थिक सहयोगमा एक मुष्ठ म्याट्रेस खरिद गरेर प्रहरी युनिटहरुमा पठाइएको छ ।

जनताको सुरक्षाका लागि खटिने प्रहरी चिसो भुईमा सुत्ने समस्याको समाधानका लागि पालिकाहरुबीचको साझेदारीमा म्याट्रेस खरिद गर्ने निर्णय अनुसार जिल्लामा खटिने ३८९ प्रहरीलाई म्याट्रेस वितरण गरिएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“प्रहरीलाई अझै समस्या छ, कति भुइमा सुतेको देखेको छु त केही प्रहरी चौकीमा रित्तो खाट छन्, सरुवा भएर आउदा प्रहरीलाई बिस्तारकै चिन्ता हुन्छ, बिस्तारा बोकेर हिड्ने बाध्यताको बागलुङमा अन्त्य भएको छ, अब जुन सुकै प्रहरी बागलुङ आउदा बिस्तारा बोकेर आउन पर्दैन, कुनै प्रहरी चौकीमा म्याट्रेस अभाव भएमा नगरपालिकाले दिन्छ” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “एक प्रहरी एक म्याट्रेस कार्यक्रम हाम्रालागि सानो होला तर प्रहरीको लागि ठूलो हो, उनिहरुलाई यस्ले धेरै फाइदा हुनछ प्रहरीको मनोबल बढ्छ ।”

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरिक्षक भुपेन्द्र गिरीका अनुसार बागलुङ नगरपालिकाले एक सय थान, गलकोट नगरपालिकाले ४५ थान, ढोरपाटन नगरपालिकाले २५ थान, जैमिनी नगरपालिकाले ३० थान, बडिगाड गाउँपालिकाले ३५ थान, काठेखोला गाउँपालिकाले ३५ थान, तमानखोला गाउँपालिकाले १८ थान, ताराखोला गाउँपालिकाले ३० थान, निसीखोला गाउँपालिकाले ३६ थान र बरेङ गाउँपालिकाले ३० थान म्याट्रेस सहयोग गरेका थिए ।

गिरीका अनुसार एक म्याट्रेसलाई रु. सात हजारमा पालिकाले आफै खरिद गरेका हुन् । “प्रहरी उपरिक्षक ज्यूको आदेश अनुसार म संयोजक भएर पालिका संग समन्य गरेर पालिकाहरुले म्याट्रेस खरिद गरेर दिनुभएको छ, अहिले बागलुङ नगरपालिका बोहकका सबै पालिकाका प्रहरी चौकीहरुमा म्याट्रेस पुगिसकेको छ” गिरीले भन्नुभयो “यहाँका पालिकाहरले प्रहरीका लागि अत्यावश्यक रहेको बिस्तारा खरिदका लागि जुन सहयोग गर्नुभयो त्यो सह्रायिन छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *