बागलुङ बेनी सडकमा सधैको सास्ती


–खेमराज गौतम, बागलुङ

बागलुङ देखि रत्नेचौर हुँदै बेनी जाने सडकमा राज्यले गरेको लगानी बालुवामा पानी जस्तै बनेको छ ।

अहिले उक्त सडकमा कतै खाल्टाखुल्टी छन् त कतै सडकको नाली नै बनेको छैन । कालोपत्रे भइसकेको स्थानमा कालोपत्रे उप्किएको छ भने कालोपत्रे नभएको सडक धुलाम्मे छ ।

बागलुङको बाङ्गेचौर देखि रत्नेचौर सम्मको ११ किलोमिटर कालोपत्रे सडक वर्षेनी मर्मत भइरहेको भएपनी बीच–बीचमा बाढी, पहिरोले कालोपत्रे बगाएको छ भने कतै खाल्टा खुल्टी छन् ।

यस्तै रत्नेचौर देखि बेनी सम्मको ६ किलोमिटर सडक कतै कालोपत्रे, कतै ग्राभेल छ । उक्त सडकमा कालोपत्रे उप्किएर खाल्टाखुल्टी बन्दा र निरन्तरको पहिरोका कारण सवारी चल्ने नसक्नेगरी विग्रिएको छ ।

बागलुङ देखि रत्नेचौर सम्मको सडक सडक डिभिजन कार्यालयले वर्षेनी मर्मत गरिरेको भएपनि सडकको हालत भने सुध्रिन सकेको छैन । रत्नेचौर देखि म्याग्दीको खबरा सम्मको सडक निर्माण व्यवसायीको चरम ढिलासुस्तिका कारण उक्त सडक अलपत्र छ ।

रत्नेचौर देखि खबरा सम्मको चार किलोमिटर सडक मध्ये तीन किलोमिटर सडक २०७६ सालमा कालोपत्रे गरेपनि वर्षदिन नपुग्दै उप्किएको थियो भने एक किलोमिटर सडक २०७६ सालदेखि कालोपत्रे हुन नसक्दा यात्रुलाई वर्खामा हिलो र हिउँदमा धुलोले सास्ती बनाएको स्थानीय सुरज सापकोटाले गुनासो गर्नुभयो ।

“कहिले नाली बन्छ कहिले सडक, एकै पटक निर्माण भए बल्ल टिकाउ हुन्थ्यो, सडक डिभिजन कार्यालयको दुरदर्शीता नभएर होकी, तीन महिना पहिला सडकका खाल्टालुल्टी टालिन्छ, तीन महिना पछि नाली मर्मत गर्दा पुन सडक बिग्रन्छ” सापकोटाले भन्नुभयो “काम नभएको हैन, अहिले कुडुँलेमा नाली बनेको छ भने रत्नेचौरमा कालोपत्रे भइरहेको छ तर कुडुँलेमा नाली छ कालोपत्रे छैन रत्नेचौरमा कालोपत्रे गरिएको सडकमा नाली मर्मत गर्नुपर्ने अवस्थामा छ, रतनेचौर देखि बेनी सम्मको सडकमा जम्मा एक किलोमिटर मात्रै सडक राम्रो छ अन्य सडक क्षतविक्षत छ, आएको बजेटले काम भएपनि सडक टिकाउ नभएको हुनसक्छ ।”

बागलुङ देखि रत्नेचौर सम्मको कालोपत्रे खण्डमा खाल्टाखुल्टी भएकाले यात्रुलाई समस्या भएको छ भने रत्नेचौर देखि बेनी सम्मको केही सडक कालोपत्रे पश्चात उप्किएको छ भने केही खण्ड अहिले सम्म कालोपत्रे हुन सकेको छैन ।

सडक डिभिजन कार्यालय अन्र्तगत रहेका सडकहरुको वर्षेनी मर्मत संभार भइरहने भएपनि पुरै नयाँ सडक बनाउन बजेटको अभाव हुने सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी तथा इन्जिनियर कृष्ण बहादुर खड्काले जानकारी दिनुभयो ।

“सडक मर्मतका लागि वर्षेनी बजेट आउछ तर थोरै बजेटले गर्दा सडकको मर्मत संभार मात्रै गर्न बजेट पुग्छ, रत्नेचौर देखि बेनी सम्मको सडक पूर्वाधार कार्यालय अन्र्तगत ठेक्का सञ्चालित भएकाले हामीले हेर्न मिल्दैन उक्त सडक कालोपत्रे भएर समेत उप्किएको छ भने कतै अलपत्र छ” खड्काले भन्नुभयो “बाङ्गेचौर देखि रत्नेचौर सम्मको ११ किलोमिटर सडक हामीले वर्षेनी मर्मत गरिरहेका छौं, अन्य स्थानमा समस्या छैन तर कुडुँलेको पाङ्ग्रे खोला र कालिका पानि उद्योग नजिर्क निरन्तरको पहिरोले सडक पुरै निर्माण गर्न आवश्यक हुन्छ, हामीले मर्मतको बजेटले निर्माण गर्न सक्दैनौं, तीन करोड बजेट आउने कुरा छ, आएमा उक्त समस्या समेत हट्छ ।”

बागलुङ र म्याग्दीको सिमाना, कुडुँलेको तिरुपती चोकमा नाली सुधार भएकाले सडक कालोपत्रे गर्नका लागि बजेट माग भइरहेको र कालोपत्रे भइरहेको सडकमा असार अघि सम्म नालीको काम सक्ने डिभिजन सडक कार्यालयको भनाई छ ।

रत्नेचौर देखि बेनीको खबरा सम्मको चार किलोमिटर कालोपत्रेको काम २०७४ सालमा शुरु भएपनि अझै सम्पन्न हुन नसकेको हो । निर्माण कम्पनीको चरम लापरर्वाहीका कारण सडक अधुरै रहेको छ । रु. १२ करोड १७ लाख लागतमा सो सडक कालोपत्रेको ठेक्का नागार्जुन देव एण्ड सायर बिएन जेभीले लिएको भएपनि कालोपत्रे सम्पन्न हुन नसकेको हो । अब तत्कालै काम थाल्ने र चैत्र महिना भित्र सडक डिभिजन कार्यालयलाई चार किलोमिटर सडक हस्तान्तरण गर्ने निर्माण व्यवसायी नारायण जिसीले बताउनुभयो ।

“त्यतिबेलै सडक सक्नेगरी काम भएको थियो ९० प्रतिशत काम पहिलै सम्पन्न भएको थियो भने एक किलोमिटर सडक ग्राभेल गरेर छाडिएको थियो, कालोपत्रे गरेको तीन किलोमिटरमा समेत पहिरो खसेर कालोपत्रे विग्रिएको छ” ठेकेदार जिसीले भन्नुभयो “चैत्र महिना भित्रै बाँकी सडक कालोपत्रे गर्ने र कालोपत्रे गर्दा बिग्रिएको सडकको मर्मत संभार गर्ने छु ।” जिसीका अनुसार कालोपत्रे गर्नुअघि सडक फराकिलो बनाउने, नाली निर्माण र ग्राभेल स्तरको काम सम्पन्न भई कालोपत्रे गरेको सडक मर्मत सम्भार पछि हस्तान्तरण गर्ने बताउनुभयो ।

नयाँ सडकहरुलाई बजेट बिनियोजन हुँदा सडक डिभिजन अन्र्तगतका सडकहरुलाई कम बजेट आउदा सडक मर्मत संभारमा समस्या आएको हो । सडक कालोपत्रे सम्पन्न पश्चात सडक डिभिजन कार्यालयलाई बुझाइने र उक्त सडकको मर्मत संभार सडक डिभिजनले गर्नेगरी अहिले बागलुङका अधिकांश कालोपत्रे सडकहरु हस्तान्तरणको प्रकृयामा छन् ।

अहिले कुडुले देखि रत्नेचौर सम्मको सडक रु. २० लाखको लागतमा ठेक्का मार्फत मर्मत संभार भइरहेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

पछिल्लो समय कालीगण्डकी करिडोर अन्र्तगत मालढुङ्गा देखि पर्वतको जलजला हुँदै बेनी जाने राजमार्ग विस्तार भइरहेकाले ठूला सवारीसाधनहरु समेत वैकल्पिक मार्गको रुपमा बागलुङ हुँदै रत्नेचौर बेनी पुग्ने गरेका छन् । राजमार्ग चौडा पार्दै स्तरोन्नतीको काम भइरहेकाले वैकल्पिक मार्गमा ठूला सवारीसाधन सञ्चालनमा आउदा बागलुङ देखि रत्नेचौर हुँदै बेनी जाने सडक जीर्ण बन्दै आएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *