शिवशरण ज्ञवाली
त्यति लामो यात्रामा ज्वाइ र जेठान पहिलो चोटि सँगै थियौँ । त्यस दिन भाउजूले पकाएको मीठो खिचडी ध्यू र दहीसित खाएर चिसो बिहानमा हामी पाल्पा हिडेका थियौँ, मोटरसाइकलमा । हामी फरकफरक मान्छे थियौँ तर भावना र सम्बन्धमा एक थियौँ । मेरो दाइले भन्नुहुन्थ्यो, ‘भाइ ! तँ त अजम्बरी ज्वाइ होस् ।’
हुनपनि ससुरालमा म ज्वाइ पनि हुँ छोरी पनि हुँ । दुवैको एकैसाथ प्रतिनिधित्व गर्न थालेपछि मलाई घरबाट ससुराल र ससुरालबाट घर कोसेली लिएर आतेजाते गर्न पनि कुनै अप्ठ्यारो लाग्दैन । मेरा आँसु त्यो घरमा पनि पोखिएका छन् । भाउजू र म तम्घासबाट फर्कदै थियौँ । गाउँपालिकाको कार्यालयनेर आइपुगेपछि हामीले विगत सम्झियौँ । नेटादेखि भित्र छिरेपछि भाउजू र म दुवै रोयौँ । रुनुको मज्जा पनि विछट्टै छ नि । तिनै आँसुले घर र ससुरालको सीमा मेटिदिएका छन् ।
अरुको ससुराल बदलिन सक्नेछ तर मेरो ससुराल कहिल्यै बदलिने छैन । मलाई ससुराल पनि घरै जस्तो लाग्छ । त्यही भएर नै मैले दाइलाई मोटरसाइकलको चालक बनाएर पाल्पा लिएर गएको थिएँ । फर्कदा त म पनि चलाएँ नि ! हार्थोकको ओरालोमा चलाएँ । रिडीदेखि फर्सोवासम्म चलाएँ । बाटोमा दाइलाई भने, ‘दाइ ! म मोटरसाइकल राम्रो चलाउन सक्छु । तर तपाईं पछाडि बसे पछि मलाई राम्रो चालक हँु भन्ने आत्मविश्वास आउँदैन किनकी मैले भन्दा अझ राम्रो तपाईं चलाउनुहुन्छ भन्ने भ्रम मेरो दिमागमा छ ।’
दाइले भन्नुभयो, ‘कक्षाकोठामा विद्यार्थीहरुलाई पनि आफूभन्दा जान्ने अरु छन् भन्ने यस्तै भ्रम पर्दो हो नि है ।’ मैले भने, ‘हो ! यही भ्रमले गर्दा उनीहरु आत्मविश्वास गुमाउन पुग्छन् । आत्मविश्वास गुमेपछि उनीहरु पढ्न सक्दैन । पढाइमा प्रगति गर्न सक्दैनन् । जो राम्रो भनिएको हुन्छ उही अगाडि जान्छ । जबकी ऊ भन्दा राम्रा ‘ब्याक बेन्चर’हरु पनि हुन सक्छन् ।’ हाम्रा बीचमा पढाइ लेखाइका अनेक कुरा पनि भए ।
छोरोले अघिल्लो दिनदेखि मावल जाऊँ भनेर पर्रा ठोकेको थियो । उसको स्कुलमा जाडो बिदा थियो । होमवर्क अलिकति सकेर मात्रै जाउँला भनेको थिएँ, मैले । आमालाई नातिको पढाइको साह्रै चिन्ता छ । यसपालि आमाले मलाई तोकेरै भन्नुभयो, ‘तैले नातिलाई बिगार्ने भइस् ।’ तर मैले उसलाई भनेको थिएँ, ‘छोरो ! होमवर्कको चिन्ता नगर्नु । म सर म्याडमहरुलाई फोन गरेर बाबु मावल गएको थियो । त्यसकारण होमवर्क गरेको छैन भनिदिउँला ।’ अगाडि पनि मैले यसरी उसले होमवर्क नगरेको कुरा सर म्याडमहरुलाई जाहेर गरिदिएको थिएँ ।
आजकाल विद्यार्थीहरुलाई शिक्षकशिक्षिकाहरुले असाध्यै माया गर्नुहुन्छ तर पनि विद्यार्थी र शिक्षकका बीचको सम्बन्ध भने प्रगाढ अझै बन्न सकेको छैन । विद्यार्थीहरु अझै पनि शिक्षक शिक्षिकालाई हाउगुजी ठान्दछन् । हाम्रो पाला त शिक्षकले भक्कु भकुर्थे । मै त्यस्तो भकु¥याइमा पटकपटक परेको छु । बोली पनि हिंसात्मक थियो । पढ्न जान्नेलाई पण्डित र नजान्नेलाई हली भनिन्थ्यो । शिक्षामा कोही पास र कोही फेल हुन्न भनिदंैनथ्यो । जान्ने सबै जान्ने र नजान्ने केही पनि नजान्ने हुन्नन् भन्ने पनि थिएन । किताब च्याते वा केरमेट गरे पनि पिटाइ खाइन्थ्यो । आजकाल बुझ्छु पढ्दा किताब च्यातिन्छ पनि र केरमेट हुन्छ पनि । पटकपटक केर्दा पनि कुरो नबुझिने हुँदो रहेछ । बच्चामा त झन् किताबमै केर्न मन लाग्थ्यो । केर्दा पनि रमाइलो लाग्थ्यो च्यात्दा पनि रमाइलो लाग्थ्यो । च्यात्नु र केर्नु पनि सिकाइ हो भन्ने कुरा त्यतिबेला सिकाइदैनथ्यो । त्यही भएर आजकाल किताबमै कैयौं लेखाइसम्बन्धी गतिविधि गराइएको होला ।
काठमाडौँमा दाइले टियु पढाउँदा एउटा कालो न कालो ध्वाँसे किताब बोकेर हिड्नुहुन्थ्यो । त्यो किताब त कलमको मसीले त्यस्तो ध्वाँसे भएको रहेछ । एकदिन यसो पल्टाएर हेरेको त दाइको किताबको कतै पनि सेतो ठाउँ थिएन । सेतो ठाउँ त दाइले लेखेर भ्याइसक्नु भएको रहेछ । छड्के, तेर्सो, ठाडो, बाङ्गोटिङ्गो सबै शैलीमा दाइले लेख्नुभएको थियो । दाइ ‘पोएर्टी’को नामुद शिक्षक । दाइ अङ्ग्रेजी, भाइ नेपाली, बा संस्कृत, भाउजू अर्थशास्त्र उनी पनि अङ्ग्रेजी । हाम्रो घरको पढाइ यस्तो थियो । सबैका किताब त्यस्तै केरमेट गरिएका हुन्थे । केरमेट गर्नु पनि पढ्नु हो भन्ने सिक्न मलाई चालिस वर्ष लाग्यो । मेरा कैयौं किताब केरिएका मात्रै होइन च्यातिएका पनि छन् । ओछ्यानमा सुतेर पढिरहेका बेला निद्रा लाग्यो भने किताब अलि पर फालेर सुत्ने बानी अझै पनि छ । त्यसरी फाल्दा किताब च्यातिएका पनि छन् । दिनदिनै लिएर हिड्दा पनि च्यातिएका छन् । एउटा किताब त शिक्षण अभ्यासमा आउनुभएकी एक विद्यार्थी साथीले टालीदिएर बनाइदिनुभएको पनि छ, मेरो । कहिले कलम हराउँछ कहिले किताबै हराउँछ । पैसा त हराएको छ, एकपटक । किताबको त के कुरा भयो र ? आजकाल हरायो त के भयो फेरि खोज्छु । तर बालबालिकाले हराए भने ? बालबालिकाले च्याते भने ? बालबालिकाले केरे भने ? हामी के गर्छौ सबैलाई अवगत नै
छ ।
मोबाइल केटाकेटीले हेर्छन् कि हामी अभिभावकले बढी हेर्छौ । म त छोरोले भन्दा कैयौं गुणा बढी हेर्छु । एकदिन आमालाई सोधें, ‘आमा ! केटोले मोबाइल हेर्दैन ?’ आमाले भन्नुभयो, ‘विचरा ! उसले कसको पाउँछ र हेरोस् ? न तैले दिन्छस् न बा ले दिनुहुन्छ । उसको र मेरो त त्यही टिभी न हो ।’ आमाको कुराले मन फाट्यो । त्यही भएर आउने दिन बिहानभरि मैले उसलाई मोबाइल थमाइदिएँ । टिभीको त ऊ पनि किरै हो । कार्टुन हेर्छ । राति सुत्ने बेला उसले कार्टुनमा हेरेका कुरा सरसर्ती मलाई सुनाउँछ । मनमनै लाग्छ, ‘टिभी हेर्नु पनि त पढ्नु रहेछ ।’
धेरै वर्षमा मैले रेडियो लगेर घरको दलानमा झुन्डयाएको छु । आमाको भन्दा छोराको माया लाग्यो मलाई । आमाले भन्नुहुन्छ, ‘उँधो माया हुन्छ ।’ मैले यो प्रश्न मेरा विद्यार्थीहरुलाई पनि सोधें, ‘आमाले माग्नुभयो भने तपाईंले चलाइरहेको एन्ड्रोइड मोबाइल दिन सक्नुहुन्छ ? कि तपाईंले माग्नुभयो भने आमाले उपहारमा पाएको नयाँ मोबाइल तपाईंलाई दिनुहुन्छ ?’ उनीहरुमध्ये धेरैको जवाफ थियो, ‘जति सजिलै आमाले दिन सक्नुहुन्छ त्यति सजिलै हामी दिन सक्दैनौँ ।’ केही अपवाद फरक हो । त्यही भएर होला आमाले धेरै चोटि भने पनि मैले रेडियो किनेको थिइन् । छोराको मायाले यसपालि मैले रेडियो लगेर दलानमा झुन्डाएँ । त्यो रेडियोमा बज्ने गीत, समाचार, फोनइन आदिआदि सुनेर छोराको भाषिक क्षमता वृद्धि होला भन्ने अपेक्षाले मैले तम्घासमा रेडियो किनें । बागलुङ, अर्घाखाँची र गुल्मीका बारेमा एफ. एम. रेडियोबाट उसले जानकारी पनि पाउला भन्ने लाग्यो । आजकाल आमा पनि खुशी हुनुहुन्छ रेडियो पाएर ।
क्याम्पसमा हामीले चर्चित लेखक खगेन्द्र सङ्गा्रैलालाई स्वागत गर्ने अवसर पायौँ । क्याम्पसका अध्यक्ष दिनबहादुर सर र क्याम्पस प्रमुख रामप्रसाद सरले निकै राम्रो स्वागत गरिदिनुभयो, उहाँलाई । कार्यक्रममा सङ्ग्रौलाले विद्यार्थीलाई पनि भन्न बाँकी केही राख्नुभएन शिक्षकलाई पनि भन्न केही बाँकी राख्नुभएन, हाँसीहाँसी । गाली गर्दा पनि हाँस्यौँ हामी पनि । आफूमा सिर्जनात्मक क्षमता कसरी विकास भयो भन्ने सन्दर्भमा उहाँले भन्नुभयो, ‘मेरा बा गाउँका सामन्त हुनुहुन्थ्यो । उहाँ घोडा चढेर हिड्नुहुन्थ्यो । बिहानमा रामायण लय हालेर पढ्नुहुन्थ्यो । मैले एकातिर रामायणको लय सुने अर्कोतिर घोडा हिड्दा उसको घाँटीमा झुन्डयाएको घन्टीको किर्लिङकिर्लिङ सुने । त्यही लय र त्यही किर्लिङकिर्लिङ आवाजले मेरो सिर्जनात्मक क्षमता विकास भयो ।’ आखिर सिर्जनात्मक क्षमताको विकासका लागि किताबी किरो त हुनु पर्दो रहेनछ । घोडाको घन्टी सुन्नु पनि त पढाइ रहेछ । ६५ वर्षदेखि लेखिरहेको लेखकले भनेको कुराले मेरो दिमाग रन्थनियो ।
आजकाल आफू मोबाइल हेर्दै होमवर्क गराउँदै गर्छौ, हामी । बालबालिकाले के लेख्छन् हामीलाई मतलब हुने कुरो भएन । तर लेख्न चाहि प¥यो । ध्यान मोबाइलतिर भए पछि कसरी उनीहरुको पढाइमा हाम्रो ध्यान कसरी जान्छ ? उनीहरुको पढाइको जिम्मा स्कुलका सर म्याडमहरुलाई दियो । सकियो ।
पाल्पाबाट हामी फर्सोवा दिदीकहाँ आइपुग्यौँ । दिदीले नानीबाबुहरुलाई भन्नुभयो, ‘तिमीहरुले होमवर्क ग¥यौँ ?’ हामी एकछिन बसेर केरुङ्गा गयौँ । पुग्ने बित्तिकै दाइले भाइहरुलाई भन्नुभयो, ‘होमवर्क गर, तिमीहरु फटाफट ।’ भोलिपल्ट मैले छोरालाई भने, ‘छोरा लौ हिड घर जाऊँ होमवर्क गर्नुछ ।’
बाले बिहान आज पनि नुहाउनुहुन्छ । बाले श्रीमद् भागवतको एक अध्याय सधै जप गर्दा वाचन गर्नुहुन्छ, मुखाखर । छोरोले त्यो सुन्छ । स्वास्थी व्रतकथाको पुस्तक पनि उसले पढ्यो, यसपालि । मैले ससुराल पनि यसको शैक्षिक महत्व छ, पढ्नुपर्छ है भनेर पढ्न लगाएँ । पढ्ने भनेको के लेख्ने मात्रै हो र ?
मलाई कहिलेकाही आफैंप्रति अनौठो लाग्छ । मैले होमवर्क गर्नु नपर्ने, कार्यालयको कर्मचारीले होमवर्क गर्नु नपर्ने, पालिकाका प्रमुख उपप्रमुखले होमवर्क गर्नु नपर्ने, सांसद सभासद्ले होमवर्क गर्नु नपर्ने, मन्त्री प्रधानमन्त्रीले होमवर्क गर्नु नपर्ने, राष्ट्रपतिले होमवर्क गर्नु नपर्ने तर ती ससाना कलिला मस्तिष्कहरुले होमवर्क गर्नुपर्ने ? होमवर्कको राष्ट्रिय चिन्तन के यही हो ?
मोटरसाइकल वा गाडी गुढ्दा एक गेयरबाट सुरु हुन्छ अनि बिस्तारै गति बढ्दै जाँदा गेयर बढ्दै जान्छ तर पढाइको गेयर त एक्कैपटक चार पाँचबाट सुरु गरेका छाँै, हामीले । त्यस्तो गेयर सफल कसरी होला र ?