आदर्श अनलाइन, बागलुङ
जिल्लाको काठेखोला गाउँपालिकाको सेवा प्रवाहको बारेमा जनचासो र जनगुनासो सम्बोधन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । काठेखोला गाउँपालिकाको आयोजना र लेखन नेपालको सहजीकरण भएको कार्यक्रममा उठेका सार्वजनिक सेवा प्रवाह र काठेखोला गाउँपालिकाले सम्पादन गरेका विकास निर्माण योजना बारेका प्रश्नहरुको जवाफ दिँदै जनप्रतिनिधि र कर्मचारीहरुले थप जिम्मेवार भएर काठेखोला निवासी नागरिकको सेवामा लाग्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले गाउँपालिका सम्पादन गरेको हरेक कार्यक्रम र योजनाको बारेमा नागरिकले थाहा पाउनुपर्छ भनेर सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उनले जनतासंग गरेको बाचा अनुसार गाउँपालिकाका प्रशासकिय भवन निर्माणका लागि जग्गा प्राप्तीका लागि अन्तिम कसरत भैरहेको समेत जानकारी गराउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले निर्वाचनका कारणले यो आर्थिक वर्षका योजनाहरु कार्यान्वयनमा जानका लागि केही ढिलाई भए पनि सबै योजना प्रभावकारी रुपमा सम्पन्न गर्नेगरी गरी कामले तिब्रता पाएको बताउनुभयो । उहाँले हाल सम्म गाउँपालिकाबाट १२ वटा ऐन निर्माण भएर कार्यविधि बन्ने तयारीमा रहेको बताउनुभयो । उहाँले गाउँपालिकाको विकासका लागि आन्तरिक राजस्वका दायराहरु बढाएको जानकारी दिनुभयो ।
गाउँपालिकालका प्रमुख प्रशासकिय अधिकृत खजराज गौतमले सेवालाई चुस्तदुरुस्त बनाउनका लागि कर्मचारीहरु लागि परेको बताउदै यो आर्थिक वर्षमा गाउँपालिकालको चालु बजेट ४९ प्रतिशत र पूँजीगत बजेट ११ प्रतिशत खर्च भएको जानकारी दिनुभयो ।
अधिकांस योजनाहरु अहिले कार्यान्वयनको चरणमा रहेकाले पूँजीगत बजेटको खर्च कम देखिए पनि समयमै सबै योजनाहरु सम्पन्न गरेर पूँजी बजेटको वित्तीय प्रगति बढ्ने उहाँको भनाई छ । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय पत्रकार समेत रहेका भरत सापकोटा, स्थानीयहरु तुलबहादुर थापा, यामदिप पुन, प्रेमबहादुर खड्का, हर्कबहादुर कँडेल लगायतले विभीन्न जिज्ञासा तथा गुनासो राखेका थिए ।
उनीहरुले कर्मचारीले समयमा कार्यालय उपस्थीत भएर सेवा नदिएको, जनप्रतिनिधिहरु औपचारिक उद्घाटन र भाषणका कार्यक्रममा सिमित भएको, सुगम ठाउँलाई हेरेर निर्माण गरिएको दररेटका आधारमा योजना इस्टीमेट गर्दा कार्यान्वयनमा समस्या आएको, एक वडा एक प्राविधिक कार्यक्रम नारामै मात्र रहेको र प्राविधिक नहुँदा धेरै समस्या झेल्नु परेको छ, खानेपानी समस्या रहेका तथा स्थानीय स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नभएको गुनासो गरेका थिए ।
सेवाग्राहीबाट उठेका प्रश्नको गाउँपालिका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेजबहादुर थापा तिलक, प्रमुख प्रशाकिय अधिकृत खगराज गौतम, स्वास्थ्य शाखा प्रमुख रामचन्द्र लामा, योजना अधिकृत उत्तम पौडेल, प्रमुख इन्जिनियर विनोद लामिछाने, कृषि शाखा प्रमुख भावना रोकाले जवाफ दिएका थिए । कार्यक्रममा पत्रकार संगम घर्तीमगरले काठेखोला गाउँपालिकाले प्रवाह गर्ने सेवा बारेमा अध्ययन गरिएको नागरिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सार्वजनिक सुनुवाईको पत्रकार प्रकाश बरालले टिप्पणी गरेका थिए भने कार्यक्रमको सहजीकरण पत्रकार विजय रानाले गरेका थिए ।