आदर्श अनलाइन, पर्वत
जिल्ला सदरमुकाम कुश्मा बजारमा सञ्चालित निःशुल्क मुटु रोग परिक्षण शिविरमा ४ सय बढीको उपचार गरिएको छ ।
पर्वत अस्पतालको ३० औं स्थापना दिवस तथा छैटौं पर्वत महोत्सवका अवसर पारेर आयोजना गरिएको निःशुल्क मुटु शिविरमा ४०२ जनाले स्वास्थ्य लाभ लिएका हुन् । जसमध्ये १० जनाको मुटुको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । २१ जनाले नियमित जाँचमा बस्नु पर्ने अवस्था भेटिएको बरिष्ठ मुटृुरोग विशेषज्ञ डा.अनिल भट्टराईले जानकारी दिनुभयो।
सो अवसरमा निःशुल्क इको, इसिजी र निःशुल्क औषधी समेत वितरण गरिएको थियो । परिक्षणका क्रममा शल्यक्रिया गर्नुपर्नेका लागि विशेष छुटको व्यवस्था समेत मिलाइएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भट्टराईले बिरामीको परीक्षण गरेका थिए । ‘सेभ द हार्ट’ नामक संस्थाले शिविरलाई सहयोग पुर्याएको थियो ।
महोत्सवको अवसर पारेर सञ्चालन गरिएको शिविरबाट पर्वत, बागलुङ, म्याग्दी, कास्की र स्याङ्जाका नागरिकले लाभ लिएका छन् । आर्थिक अभावका कारण लामो समयदेखि रोग पालेर बसेकालाई सहज भएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो । उहाँका अनुसार शल्यक्रिया गर्नुपर्ने र फलोअप गर्नुपर्ने विरामीलाई पनि अस्पतालले सहजीकरण गर्ने भएको छ ।