धौलागिरीको पहिलो बालमैत्री नगर बन्दै गलकोट


खेमराज गौतम, बागलुङ

बागलुङ जिल्लाको गलकोट नगरपालिका बालमैत्री नगर घोषणाको अन्तिम चरणमा पुग्न सफल भएको छ ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ वटा सूचकहरू पूरा गर्दै नगरपालिकाका ११ वटै वडा बालमैत्री वडा घोषणाका लागि नगरपालिकाले उपल्लो तहमा सिफारिस गरिसकेको छ । बालमैत्री नगर घोषणासंगै जिल्लाको १० पालिका मध्ये पहिलो बालमैत्री पालिका गलकोट हुनेछ ।

नगरपालिकाले फागुन महिना भित्रै बालमैत्री नगरपालिका घोषणा गर्नका लागि ११ वटै वडामा बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ सूचकहरु पूरा गरेर जिल्ला समन्वय समिति बागलुङमा पठाइएको गलकोट नगरपालिकाले जनाएको छ ।

गलकोट नगरपालिकाले बालमैत्री नगरपालिका घोषणाका लागि २०७७ मंसिरबाट सूचक पुरा गर्नका लागि आवश्यक पूर्वाधार, अभिमुखिकरण लगायतका काम थालेको थियो ।

नगरपालिकाले साविक धौलागिरी अञ्चलमा पहिलो बालमैत्री नगरपालिका घोषणाका लागि दुई वर्ष देखि लागि परिरहेको थियो । नगरपालिकाले दुई वर्ष देखि ११ वडामै बालमैत्री वडा घोषणाका लागि ११ जना सहजकर्ता र बालमैत्री नगरपालिका घोषणाका लागि एक जना अधिकृत स्तरको कर्मचारी समेत खटाएको थियो ।

नगरपालिकाले बालमैत्री नगरपालिका घोषणाका लागि आवश्यक शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार लगायतका ५१ सूचकहरु पुरा गरेर प्रमाणिकरणका लागि जिल्ला समन्वय समितिमा पठाइएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।

“नगरपालिकाले दुई वर्षदेखि अथक प्रयाश गरेर नगरलाई बालमैत्री नगरपालिका घोषणाका लागि बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका सबै सूचकहरु पुरा गरेका छौ” नगरप्रमुख गैरेले भन्नुभयो “स्वास्थ्यका सबै सूचकामा शत प्रतिशत नतिजा हासिल भइसकेको छ, शिक्षा, खानेपानी, बालविवाह, मालमैत्री संरचना, स्तनपान कक्ष, सार्वजनिक शौचालन तथा बालमैत्री पार्कको समेत व्यवस्थापन भइरहेको छ, केही पुराना संरचना बालमैत्री छैनन्, सुधार गर्न सक्नेलाई बालमैत्री बनाइयो, नगरपालिकाले नयाँ निर्माण गर्ने संरचनाहरु बालमैत्री बन्नेगरी मात्रै नक्सा पास गर्ने गरेको छ, बालविबाह अन्त्यका लागि सेचतनामूलक कार्यक्रम गरिरहेका छौं ।”

नगरप्रमुख गैरेका अनुसार यही फागुन महिना भित्रै बालमैत्री नगरपालिका घोषणा गर्नका लागि कार्यविधि अनुसार ११ वटै वडाको सूचकहरुको प्राप्त नतिजा सहित जिल्ला समन्वय समितिमा पठाएको र जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको जिल्ला स्तरीय बाल कल्याण समितिले नगरपालिकाका विभिन्न वडाको अनुगमन गरिसकेको छ ।

नगरपालिकाले बालमैत्री नगरपालिका घोषणाका लागि लगानी सम्मेलन, वडा स्तरमा बाल सञ्जाल गठन, बिद्यालय, अस्पाताल, वडा कार्यालय, प्रहरी चौकी तथा सामाजिक संघसंस्थाहरुलाई बालमैत्री बनाइसकेको छ ।

नगरपालिकाले बालमैत्री पूर्वाधार र कार्यक्रमका लागि हाल सम्म रु. दुई करोड ५० लाख रकम खर्च गरिसकेको छ ।

बालमैत्री नगरपालिका घोषणाका लागि आवश्यक सूचकहरु पुरा भइसकेको जिल्लास्तरीय समितिले निर्णय पश्चात गण्डकी प्रदेशस्तरीय समितिले अनुमोदन पश्चात बालमैत्री वडा घोषणा हुने छ ।

बालमैत्री वडा घोषणाका लागि नगरपालिकाले पठाएको ११ वटै वडाको सूचकको प्रतिवेदनका आधारमा अनुगमन गरिसकेको र २२ वटा सामान्य बुँदामा सुझाव पेश गरिसकेको जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले बताउनुभयो ।

नगरपालिकाले बालमैत्री वडाहरु घोषणाका लागि नगरका सबै वडाको प्रतिवेदन जिल्ला समन्वय समितिमा पेश गरेपश्चात नगरपालिकाले उक्त सूचकहरु पुरा गरे वा नगरेको विषयमा अनुगमन गरेको समन्वय प्रमुख थापाले जानकारी दिनुभयो ।

“अनुगमनका क्रममा धेरै सूचकहरु पूर्ण रुपमा पुरा भएको र केही सूचकहरु मापदण्ड अनुसारका पाइयो, कतिपय सूचकहरु यस्ता छन् जुन तत्कालै गर्न र देख्न संभव छैनन् जस्लाई नगरपालिकाले निरन्तर रुपमा बजेट बिनियोजन गरेर कार्यक्रम गर्दै जानु पर्दछ” थापाले भन्नुभयो “मुख्य कुरा भौगोलिक समस्याका कारण केही विद्यालयमा बालमैत्री संरचना बनाउन समेत समस्या छ, भिरालो जग्गा छ यो गलकोटको मात्र समस्या हैन, कतिपय सूचकहरु विस्तारै शत प्रतिशत पुरा हुनेगरी काम भइरहेको देखियो, अनुगमन पश्चात २२ बुँदे सुझाव पेश गरेका छौं जसमध्ये नगरपालिकाले तत्कालै चार÷पाँच सूचकहरुलाई थप प्रमाणिकरण गर्न देखिएको छ, पुन सुझावहरु कार्यान्वयनमा आएपछि अझै एक पटक अनुगमन गरेपछि मात्रै घोषणाका लागि अनुमती दिन्छौं ।”

समन्वय प्रमुख थापाका अनुसार नगरपालिकाले बालमैत्री नगर घोषणाका लागि गरेका प्रयासबाट आफू निकै प्रभावित बनेको बताउनुभयो ।

गलकोट नगरपालिका फागुन महिनाभित्रै बालमैत्री नगरपालिका घोषणा भएमा गण्डकी प्रदेशको चौथो बालमैत्री पालिका र साविक धौलागिरी अञ्चलको पहिलो पालिका हुनेछ ।

नगरपालिकाले भौतिक विकासका काममा मात्रै ध्यान दिने परिपाटीको अन्त्य गर्दै मानवीय विकासका सूचकहरू पूरा गर्न नगरपालिका ठूलो बजेट लगानी गरेको छ । बालमैत्री नगरपालिका घोषण पश्चात समेत नगरपालिकाले बालमैत्री नगरपालिका कायम गर्नका लागि निरन्तर बजेट विनियोजन तथा कार्यान्वयन गर्दै लैजानुपर्ने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिनुभयो । उपाध्यायका अनुसार बालमैत्री नगरपालिका घोषणा पश्चात समेत थुप्रै मानव विकासका कार्यहरु गर्न सकिने र यस्लाई प्रभावकारी बनाउनका लागि हाल पुरा भएका सूचकहरुले सहयोग पु¥याउनेछन् । बालमैत्री नगर घोषणाले सामाजिक विकृतिको न्यूनीकरणमा समेत सहयोग पुग्ने छ ।

नगरपालिकाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा निरन्तर समावेश गर्दै आएको अनुगमनका क्रममा पाइएको जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमले जानकारी दिनुभयो ।

बालबालिकाको शिक्षा, स्वास्थ्य, पूर्णखोप, स्तनपान, पोषण, बालविवाह, बालसहभागिता, बालमैत्री भौतिक संरचना, सामाजिक क्रियाकलापमा बाल सहभागिता र बालश्रमको अन्त्यलगायतका ५१ सूचकहरु पुरा गरेमा नगरपालिका बालमैत्री घोषणा गर्न मिल्ने राष्ट्रिय मापदण्ड रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *