पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र सञ्चालनको संशय

सम्पादकीय
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्नु गण्डकी प्रदेश र विशेषतः पोखरेलीका लागि निकै ठुलो उपलब्धि र गौरवको विषय हो । यसकारण पोखरेलीले गत १ जनवरीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनलाई एक उत्सवको रुपमा मनाए । यसबेला प्रकट भएको खुसी, गौरव र सुखानुभूति केही सातामै संशयमा परिणत हुन थालेको छ । के पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान हुन सम्भव छ ? यसका लागि सरकार र सम्बन्धित निकायले यथेष्ट अध्ययन र तयारी गरेका छन् ? कि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलकै नियमित उडान बन्द हुने नियति दोहोरिनेछ ? यी र यस्ता यावत सवाल र संशय अहिले पैदा भइरहेको छ । जुन निकै यथार्थ र गम्भिर पनि देखिन्छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई महिना बित्न लाग्दा पनि अन्तर्राष्ट्रिय उडान अनिश्चित छ । पोखराका पर्यटन व्यवसायी अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आन्तरिक उडानकै आभास भइरहेको गुनासो गरिरहेका छन् । गण्डकी प्रदेशका पर्यटन मन्त्री रेशम जुग्जालीसँग पनि यसको प्रष्ट खाका र जवाफ छैन । संघीय सरकारको सम्बन्धित मन्त्रालय सम्हालेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराती समेत यसबारे अन्यौलमै छन् । अरु त यसै अलमलमा हुने नै भए । बिहीबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमनमा आएका किरातीले मन्त्रालय सम्हालेको ३१ दिन मात्रै भएकाले बुझ्ने क्रममै रहेको जवाफ दिए र सर्वत्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको संशयमा ठोस जवाफ दिन सकेनन् । यसले नेपालको विकास पूर्वाधार, प्रणाली कुन रुपमा चलिरहेको छ ? धेरै कुरा प्रष्ट संकेत देख्न सकिन्छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणदेखि उद्घाटनका बेला सम्म पनि आवश्यक पूर्व तयारी किन गरिएन ? निर्माणका बेला नै यथेष्ट अध्ययन, बिश्लेषण बिना पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको भन्दै आलोचना समेत भएको थियो । यद्यपि, बिरोधका बाबजुद अन्तर्राष्ट्रिय विमानस्थल बन्यो । यो देशकै राष्ट्रिय गौरवको योजना थियो । जुन निर्माण हुन समग्र नेपाल र नेपालीका लागि सुखद कुरा हो । तर, अब उडानबेगर सञ्चालनमा आएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान कहिले हुन्छ ? यो अहम् सवाल बनेको छ । पोखरा विमानस्थलले फागुन ११ देखि रात्रीकालीन उडान सुरु गर्ने तयारी रहेको बताइरहेको छ । यसका लागि सरकारले उच्चस्तरीय तहबाटै कुटनीतिक पहल तत्काल गर्नु अपरिहार्य छ । अन्तर्राष्ट्रिय विमानस्थल बन्ने र नियमित उडान नहुने भैरहवाको नियतिबाट जोगाउने अरु योजना समेत सरकार र नागरिक उड्ययन् प्राधिकरणले तयार गर्नुपर्छ । अन्यथा, नामाकरण अन्तर्राष्ट्रिय विमानस्थल गरे पनि आन्तरिक विमानस्थलमै सीमित हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *