लायन्सको बैठकमा आउने पाहुनालाई बागलुङको भाङ्गो उपहार दिईने

आदर्श अनलाइन, बागलुङ
सामाजिक संस्था लायन्स क्लबले बागलुङमा आउने लायन पाहुनालाई भाङ्गो उपहार दिने भएको छ । लायन्स क्लब डिष्ट्रीक ३२५ जे को बागलुङमा हुने क्याबिनेट बैठकमा सहभागी हुन आउने पाहुना लायनहरुलाई बागलुङमा उत्पादिन भाङ्गो उपहार दिने तयारी गरिएको क्याबिनेट बैठकका संयोजक नरेश कँडेलले बताए । लायन्स क्लब डिष्ट्रीक ३२५ जे को तेस्रो क्याबिनेट बैठक आगामी शुक्रबार र शनिबार बागलुङमा आयोजना गरिएको छ ।

‘लायन्स क्लबमा आवद्ध सात सय बढि साथीहरु यो बैठकमा भाग लिन बागलुङ आउँदै हुनुहुन्छ,’ संयोजक कँडेलले भने,‘उहाँहरु सबैलाई हामीले बागलुङको उपहार स्वरुप यहाँ उत्पादन भएको भाङ्गो प्रतिनिधि व्यागमै हालेर दिने निधो गरेका छौं ।’ लायन्स क्लब डिष्ट्रीक ३२५ जे अन्तर्गत बागलुङमा १५ वटा क्लब र एउटा लियो क्लब रहेको र आयोजक संस्थाको तर्फबाट यहाँ क्लबहरु मिलेर एक लाख रुपैयाँ भाङ्गो खरिद गरेको उनले जानकारी दिए ।

‘चटनी र अचारका लागि भाङ्गो यहाँको भाङ्गो निकै रुचाउने गरेको पाइन्छ, भाङ्गोको प्रचार प्रसार र ब्राण्डिङ पनि होस् भन्ने हाम्रो चाहाना हो,’ संयोजक कँडेलले भने,‘एक लाख रुपैयाँको भाङ्गो हामीले किनेका छौं । हरेक प्रतिनिधिको झोलामा कम्तीमा एक माना भाङ्गो राखेर दिन्छौं । कार्यक्रममा अतिथि बनेर आउने विशिष्ट व्यक्तिहरुलाई बागलुङमै उत्पादन भएको डाली मायाको चिनो दिने र त्यसभरी भाङ्गो राखेर दिने तयारी गरेका छौं ।’

उपहार दिनका लागि ताराखोला, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाबाट भाङ्गो किनिएको उनले बताए । यसरी उपहार दिंदा केही आर्थिक भार आयोजकलाई परे पनि यहाँको स्थानीय उत्पादनको प्रवद्र्धन हुने कँडेलको विश्वास छ । बुधबार बागलुङमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी क्याबिनेट बैठकको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । उक्त अवसरमा यहाँका स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्ने लक्ष्य समेत राखिएको बताईएको छ ।

यहाँको उत्पादनलाई प्रवद्र्धन गर्न क्याबिनेट बैठकमा सहभागीलाई खुवाउने खानामा पनि बागलुङमा उत्पादिन वस्तुहरु समावेश गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ । ‘कार्यक्रममा सहभागी हुन आउने प्रतिनिधि र पाहुनालाई सकेसम्म यहाँ उत्पादन गरिएका वस्तुहरु खाना खाजामा खुवाउने हाम्रो तयारी छ, कतिसम्म सम्भव हुन्छ हामी प्रयास गर्छौं,’ कँडेलले भने ।

उक्त अवसरमा बागलुङका १० वटै पालिकाका धार्मिक तथा पर्यटकीय सम्पदाहरुको प्रचार प्रसारका लागि बागलुङ लायन्स स्मारिका तयार पारिएको प्रचार प्रसार संयोजक श्रीकृष्ण पौडेलले बताए । क्याबिनेट बैठकका लागि बागलुङ आउँदा ढोरपाटन लगायत बागलुङका विभिन्न पर्यटकीय क्षेत्रहरुमा घुम्न जान चाहाना राख्नेहरुलाई त्यहाँसम्म पुग्नका लागि आवश्य समन्वय गरिने समेत उनले बताए ।

तेस्रो क्याबिनेट बैठकमा सहभागी हुनका लागि देशका विभिन्न ठाउँबाट लायन्स क्लब डिष्ट्रीक ३२५ जे अन्तर्गत आवद्ध क्लबहरुबाट ७०० प्रतिनिधि आउने रिजन चेयर पर्सन चन्द्र रेग्मीले बताए । बागलुङ बजारमा हुने क्याबिनेट बैठकका लागि सबै तयारी पूरा भएको उनले जानकारी गराए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *