ढोरपाटनमा सामाजिक विकृति बिरुद्व वडाले थाल्यो अभियान

सुमन सुनार/बुर्तिबाङ

ढोरपाटन नगरपालिका वडा नं. ८ को कार्यालयले सामाजिक विकृति बिरुद्व अभियान थालेको छ ।

समाजमा बिद्यमान रहेका बिकृति, बिसंगति न्यूनिकरण गर्दै सभ्य समाज निर्माण गर्ने उद्धेश्यले वडा कार्यालयले अभियान थालेको हो ।

समाजमा व्याप्त जातिय बिभेद, घरेलु तथा महिला हिंसा, बालविवाह, बहुविवाह, जुवातास, घरेलु मदिरा उत्पादन तथा सेवन लगायतका विकृति रोक्न प्रयास थालिएको वडा अध्यक्ष नन्दे सुनारले बताउनुभयो । ‘सामाजिक विकृति न्यूनिकरण गरौँ, सभ्य समाजको निर्माण गरौँ भन्ने मुल नारा सहित वडा कार्यालयले अभियान थालेको उहाँको भनाई छ ।

जाँडरक्सी सेवनकै कारण घरेलु तथा महिला हिंसाका घटनामा बृद्धि भएकाले मनोमानी रुपमा गरिने मदिरा उत्पादन तथा बिक्री बितरणलाई व्यवस्थित गर्न लागिएको वडा अध्यक्ष सुनारले बताउनुभयो । ग्रामिण भेगमा सामाजिक चेतनाको अभावमा छुवाछुत, बालविवाह र बहुविवाह समेत अत्यधिक मात्रामा हुने भएकाले यसको न्यूनिकरणमा समेत वडाले विशेष योजनाका साथ लाग्ने वडा अध्यक्ष सुनारले बताउनुभयो ।

वडा कार्यालयले शनिबार बोबाङमा भेलाको आयोजना गरि स्थानीय जनप्रतिनिधी, राजनीतिक दल, कर्मचारी, समाजसेवी, बुद्धिजिवी लगायत सरोकारवालासँग समाज सुधारका लागि गर्नुपर्ने र तत्काल गर्न सकिने सम्भाव्य पहलमा बिषयमा छलफल गरेको छ । भेलाले सामाजिक विकृति न्यूनिकरणका लागि साविक बोबाङ गाविसको वडा नं. ४ मा जंगबहादुर विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय समाज सुधार समितिको गठन गरेको छ । साविकको वडा नं. ५ मा प्रेम विश्वकर्माको संयोजक र वडा नं. ६ मा दुर्गे सुनारको संयोजकत्वमा ११ सदस्यीय समाज सुधार समितिको गठन गरेको छ । उक्त समितिले वडामा हुने सामाजिक विकृति विसंगतिहरुमा विशेष निगरानी राख्नेछ भने त्यसको विरुद्धमा जनचेतनामूलक कार्यक्रम समेत गर्ने जनाइएको छ । कोही कसैले सामाजिक मर्यादा र नियम विपरितका सामाजिक विकृतिलाई बढावा दिने कार्य गरेको पाइएमा जरिवाना सहित प्रचलित कानुन अनुसार कारबाही गर्न भुमिका खेल्ने निर्णय गरिएको छ ।

भेलाले म्याद सकिएका, अखाद्य बस्तुको बिक्री वितरणमा नियन्त्रण गर्ने उद्धेश्यले स्थानीय बजार अनुगमन समेत गर्ने निर्णय गरेको छ । वडा कार्यालय र स्वास्थ्य चौकीको भवन निर्माणका लागि जग्गा व्यवस्थापनमा लाग्ने समेत निर्णय गरिएको वडा अध्यक्ष सुनारको भनाई छ । वडा सदस्य लिंकन घर्ति मगरको स्वागत मन्तव्य रहेको भेलाको सञ्चालन वडा सचिव विराज विश्वकर्माले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *