दरबन्दीका चिकित्सक अभावमा सेवा प्रभावित

आदर्श अनलाइन, बागलुङ
विशेषज्ञ सहित २३ चिकित्सकको दरबन्दी रहेको धौलागिरी अस्पताल बागलुङमा दरबन्दीका जम्मा दुई चिकित्सक मात्रै कार्यरत छन् । एक मेडिकल सुपरीटेण्डेन्ट सहित १६ विशेषज्ञ र ६ मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. अमित ढुङ्गाना र फिजिशियन डा.अभिशेष वाग्ले मात्रै अस्पतालमा कार्यरत छन् ।

दरबन्दीका डाक्टर नआउदा छात्रावृति र करारका डाक्टरहरुको सहयोगमा विरामीको उपचार गराई राखेको धौलागिरी अस्पतालमा पछिल्लो समय छात्रावृति र करारका डाक्टर समेत घट्दा उपचार सेवानै प्रभावित भएको छ ।

चिकित्सक अभावमा धौलागिरी अस्पतालमा डेढ महिना देखि अत्यावश्यक रहेको प्रसुतीसेवा प्रभावित बन्दै आएको छ । विशेषज्ञ डाक्टर नहुँदा सामान्य ओपिडी सेवामात्रै सञ्चालनमा ल्याइएपनि गर्भवतीको जटिल समस्या र शल्यक्रिर्याका लागि पोखरा सिफारिस गर्न अस्पताल बाध्य छ । प्रसुती विभाग मात्रै हैन, चिकित्सक अभावमा बालरोग विभाग, नाक कान तथा घाँटी रोग विभाग र छाला रोग विभाग बन्द अवस्थामा छ ।

अस्पतालमा अहिले चिकित्सक अभावमा ओपीडि देखि इमरजेन्सी तथा आइसियु सम्मकोे सेवालाई प्रत्यक्ष प्रभाव पारेको धौलागिरी अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा.अमित ढुङ्गानाले बताउनुभयो ।

“एक हप्ता अघि मात्रै गण्डकी प्रदेश सरकारले करारका दुई मेडिकल अधिकृत पठाएको छ, अहिले तत्कालका लागि स्त्रीरोग विशेषज्ञ र बाल रोग विशेषज्ञ सहित केही मेडिकल अधिकृतको आवश्यकता छ, चिकित्सक अभावका बीच समेत अस्पतालको अन्य सेवा निरन्तर रुपमा चलेपनि प्रसुती विभाग, बालरोग तथा नाँक कान घाँटीरोग विभाग सञ्चालनमा निकै कठिनाई छ,” डा. ढुङ्गानाले भन्नुभयो “छात्रावृतिका डाक्टरहरुको भरमा चल्दै आएको अस्पतालमा लामो समयदेखि दरबन्दीका डाक्टर आउन सकेका छैनन्, छात्रावृतिका डाक्टरहरुको समयावधी सकिएपछि फर्कनु हुन्छ, कोरोना कहरमा थपिएका करारका डाक्टरहरुको करार नविकरण भएन, दरबन्दीका चारजना मेडिकल अधिकृतहरु अध्ययन बिदामा हुनुहुन्छ ।”

डा.ढुङ्गानाका अनुसार तत्कालै चार विशेषज्ञ र चार मेडिकल अधिकृत नभएसम्म अस्पतालका सबै विभागहरु सञ्चालन गर्न कठिनाई हुने बताउनुभयो । केहि महिना अघि सम्म छात्रावृति तर्फका ११ जना विशेषज्ञ चिकित्सक कार्यरत रहेको अस्पतालमा अहिले जम्मा पाँच जना मात्रै विशेषज्ञ रहेका छन् भने दरबन्दी अनुसार शुन्य मेडिकल अधिकृत रहेको अस्पतालमा करार र छात्रावृति तर्फका गरी जम्मा ६ जना र दरबन्दीका दुई जना गरी अस्पतालमा अहिले जम्मा १३ जना मात्रै चिकित्सक कार्यरत रहेको धौलागिरी अस्पतालका प्रशासकीय अधिकृत तेज प्रसाद न्यूरेले जानकारी दिनुभयो ।

“२३ जनाको दरबन्दी रहेको अस्पतालमा जम्मा १३ चिकित्सक छन्, जसमध्ये दरबन्दीका जम्मा दुई जना हुनुहुन्छ, दरबन्दी निकै पुरानो हो अहिले अस्पतालमा सघन उपचार कक्ष, बाल सघन उपचार कक्ष लगायत मानसिक रोग विभाग सहित धेरै सेवा थपिएका छन्” न्यूरेले भन्नुभयो “दरबन्दी अनुसारका मात्रैले समेत नथेग्ने अस्पतालमा अहिले चिकित्सकको चरम अभाव छ, दैनिक ओपिडी शाखामा मात्रै अहिले ४०० बिरामी आउछन्, अस्पतालको भौतिक पूर्वाधार समेत धेरै बन्यो, तर अस्पतालमा दरबन्दीका चिकित्सक ल्याउनै सकिएन ।”

न्यूरेका अनुसार चिकित्सकको समस्याका विषयमा स्वास्थ्य मन्त्रालय र गण्डकी प्रदेश सरकारमा समेत पत्र पठाइसकेको छ । छात्रावृतिका डाक्टरहरु समयावधी पुगेर फर्कनु र दरबन्दीका डाक्टर अध्ययन बिदामा बस्दा अस्पताल दोहोरो समस्यामा परेको छ । चिकित्सक अभावमा अस्पतालका सिमित चिकित्सकहरुले रात दिन खटेर विरामीको उपचार गरिरहेको अस्पतालको भनाई छ ।

छात्रवृतिमा अध्ययन गरेका विशेषज्ञ डाक्टरले दुई वर्ष दुर्गममा सेवा गर्नुपर्ने नियम अनुसार बागलुङमा आउने र दुई वर्ष सेवा गरेर जानेगरेका कारण अस्पतालमा अहिले चिकित्सकको समस्या बढेर गएको छ । पछिल्लो समय अस्पतालले विरामीका लागि डिजिटल प्रविधिबाट टिकट दिने गरेको छ भने अस्पतालको सरसफाईमा समेत व्यापक सुधार ल्याएको छ ।

तर विरामीको उपचारका लागि आवश्यक भनेको चिकित्सक नै रहेकाले चिकित्सकको अभावका कारण विरामीको चाप रहेको धौलागिरी अस्पतालमा समस्या सृजना भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *