बागलुङमा १० वर्षपछि चारपाङ्ग्रे लाइसेन्स परिक्षाको तयारी


खेमराज गौतम, बागलुङ

उपयुक्त जग्गा अभावमा १० वर्ष देखि रोकिएको चारपाङ्ग्रे सवारी चालक अनुमती पत्र (लाइसेन्स) परिक्षका लागि धौलागिरी यातायात व्यवस्था कार्यालय बागलुङले तयारी थालेको छ ।

लाइसेन्स परिक्षा (ट्रायल) का लागि मापदण्ड अनुसारको उपयुक्त जग्गा भाडामा लिएरै भएपनि चारपाङ्ग्रे सवारीको लाइसेन्स परिक्षा लिने व्यवस्थाका लागि यातायात व्यवस्था कार्यालय लागि परिरहेको छ । नयाँ मापदण्ड लागु भइसकेपछि यातायात व्यवस्था कार्यालय बागलुङले लिदै आएको चारपाङ्ग्रे र दुई पाङ्ग्रे सवारीको चालक अनुमती पत्र (लाइसेन्स)को परिक्षा स्थगन गरिएको थियो ।

पछि दुई पाङ्ग्रे सवारीसाधनको लागि भाडामा जग्गा लिएर ट्रायल परिक्षा सञ्चालन गरेपनि चार पाङ्ग्रेको ट्रायलका लागि भाडामा लिनका लागि समेत उपुयक्त जग्गा र पूर्वाधार अभावमा १० वर्ष देखि परिक्षा सञ्चालन गर्न नसकिएको हो ।

अहिले धौलागिरी यातायात व्यवस्था कार्यालयले पूर्वाधार सहितको जग्गा भाडामा लिएर चारपाङ्ग्रे लाइसेन्सको परिक्षाका लागि तयारी थालेको सूचना अधिकारी बद्रीनाथ गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार अहिले दुई पाङ्ग्रे सवारीको ट्रायल परिक्षा सञ्चालनका लागि ल्याइएको बागलुङ नगरपालिका–१ रामरेखाको माझी बस्ती नजिकैको जग्गामा चारपाङ्ग्रे सवारीको परिक्षा सञ्चालनका लागि जग्गा भाडामा ल्याउने तयारी भइरहेको छ ।

“दुई पाङ्ग्रे सवारीसाधनको ट्रायलका लागि भाडामा लिइएको जग्गाको मिति सकिदैछ, पुन ठेक्कामा लैजाने भनेका छौं, त्यो संगै चारपाङ्ग्रेका लागि आवश्यक पूर्वाधार मापदण्ड सहितको फेला परेमा भाडामै लिएर भएपनि एक वर्ष भित्रै चारपाङ्ग्रे सवारीचालक अनुमती पत्रको परिक्षा लिने योजना छ” गौतमले भन्नुभयो “अहिले कार्यालयलाई भाडामा जग्गा लगाएको धौलागिरी ड्राइभिङ इन्सिच्युटले दुई पाङ्ग्रे ट्रायल सेन्टर नजिकै चारपाङ्ग्रेका लागि ट्रायल दिनका लागि आवश्यक पूर्वाधार बनाइसकेको छ, उक्त पूर्वाधार मापदण्ड अनुसारको पाइएमा एकै स्थानमा दुई पाङ्ग्रे र चार पाङ्ग्रेको ट्रायल दिने व्यवस्था मिलाइनेछ ।”

अहिले प्राइभेट स्तरबाट सञ्चालनमा आएका ट्रायल सेन्टरहरु सिक्नका लागि उपयुक्त भएपनि परिक्षाका लागि मापदण्ड अनुसारको नभएको सवारीचालक अनुमती पत्रको शाखा प्रमुख श्याम थापाले बताउनुभयो । “परिक्षाका लागि केही थप पूर्वाधारहरु समेत चाहिन्छ, सिसि टिभि जडान सहित परिक्षाका दिने र लिनेका लागि केही कोठा सहितको खुल्ला पूर्वाधार आवश्यक पर्दछ” थापाले भन्नुभयो “ट्रायल निर्देशिकाको मापदण्ड अनुसार निर्माण भएको जुनसुकै संरचना भएपनि भाडामा लिएर परिक्षा दिने व्यवस्थामा लाग्छौं ।”

थापाले सवारी चलाउन सिक्ने र परिक्षा दिने स्थानमा केही फरक रहेको भन्दै मापदण्ड अनुसारको ट्रायल सेन्टर भाडामा लिएरै भएपनि चारपाङ्ग्रेको सवारी चालक अनुमती पत्र लाइसेन्सको ट्रायल दिने तयारीमा यातायात व्यवस्था कार्यालय बागलुङ पुगेको हो ।

जिल्लामा सवारीसाधनको चाप बढ्दै गएको र लाइसेन्स लिन पोखरा लगायतका ठूला शहरमा जानुपर्ने बाध्यातालाई मध्यनजर गर्दै १० वर्ष पछि चारपाङग्रे सवारी साधानको परिक्षा लिने तयारी भएको हो ।

अहिले धौलागिरी यातायात व्यवस्था कार्यालयले दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल तथा लिखित परिक्षाका लागि आइतबार, सोमबार, मंगलबार र बुधाबार बायोमेट्रिक, बिहीबार रिट्रयालको राजश्व बुझाउने, मंगलबार रिट्राय र बुधबार ट्रायल परिक्षा सञ्चालन गरिरहेको छ ।

जग्गा अभावका कारण बागलुङमा चारपाङ्ग्रे सवारी चालक अनुमती पत्र (लाइसेन्स) परीक्षा नहुँदा ठूलो खर्च गरेर परिक्षा दिनका लागि पोखरा सहितका अन्य ठूला शहरमा जानुपर्ने बाध्यता रहेको स्थानीय सविन पुनले गुनासो गर्नुभयो । धौलागिरी यातायात व्यवस्था कार्यालय बागलुङमा २०६९ सालदेखि चार पाङ्ग्रे सवारी चालक अनुमती पत्रको परिक्षा सञ्चालन गर्न सकेको छैन ।

२०६९ सालदेखि सवारी चालक अनुमती पत्र परिक्षाको नयाँ मापदण्ड लागुभएसंगै जग्गा अभावमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी चालक अनुमती पत्रको परीक्षा बन्द भएको थियो ।

दुई पाङ्गे्रका लागि माझीबस्ती नजिकै भाडामा जग्गा लिएर २०७४ सालदेखि दुईपाङ्ग्रे सवारी चालक अनुमती पत्रको परिक्ष पुन सञ्चालनमा आएपनि चारपाङ्ग्रेको परिक्षा हुन नसकेको धौलागिरी यातायात व्यवस्था कार्यालय बागलुङका कार्यालय प्रमुख पारसिंह थापाले बताउनुभयो ।

साविक धौलागिरीको चार जिल्ला हेर्नेगरी धौलागिरी यातायात व्यवस्था कार्यालय २०६५ सालमा स्थापना थियो । अहिले धौलागिरी यातायात व्यवस्था कार्यालयले दैनिक ४० बाईक र २० स्कुटर गरी ६० जनाको फर्म दर्ता गर्दै आएको छ । फाइल तस्बिर

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *