सहकारीमा समस्या भए समाधान गर्न सम्भव छ : अधिकारी

आदर्श अनलाइन, म्याग्दी
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) की उपाध्यक्ष शान्ति अधिकारीले सहकारी संस्थाहरुमा समस्या भएको खण्डमा समाधानका लागि लाग्नु पर्ने र समस्या समाधान हुने बताउनुभएको छ । नेफ्स्कुनको आयोजनामा हिमाली जिल्ला म्याग्दीको बेनीमा आयोजित व्यवसाय प्रवद्र्धन अभिमुखीकरण कार्यक्रममा उहाँले अहिले कुनै संस्थामा भएको सामान्य समस्यालाई लिएर समग्र सहकारी आन्दोलनलाइ नै बदनाम गर्न खोजिएको बताउनुभयो ।

नेफ्स्कुन नेपाल भरका १३ हजार भन्दा धेरै बचत तथा ऋण सहकारीहरुको छाता संगठन हो र यसले पनि सहकारीको उन्नतीकै लािग प्रयास गर्ने उहाँको भनाई थियो । सबै प्रकारका गरी देशभर ३५ हजार भन्दा धेरै सहकारी दर्ता भएको भए पनि सरकारले एकीकरणलाई प्राथमिकता दिँदै नयाँ दर्तामा कडाइ गरेकोले अहिले झण्डै दुई हजार सहकारी कम भएर ३३ हजारमा आइ पुगेको उहाँको भनाई थियो ।

समस्या कही कतै हुन सक्छ तर निम्न आयस्तर भएका अनि समुदाय केन्द्रीत भएर सहकारीले काम गर्ने भएकोले प्रत्यक्ष समुदाय सँग जोडिने संस्थालाइ मजबुत बनाउन पर्ने उहाँको भनाई थियो ।नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका महासचिव दामोदर अधिकारीले सहकारी समुदायमा आधारीत सदस्यको हितका लागि स्थापना हुने भएकोले यसलाई सदस्यप्रति नै उत्तरदायी बनाउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले सहकारी संस्थाहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुनु पर्ने बताउँदै तत्कालका लागि सहकारीलाई आर्थिक भार पर्न सक्ने भए पनि कर्मचारी र संस्थाकै लागि पनि दिर्घकालिन आर्थिक भार कम हुने बताउनुभयो । सहकारी संस्थाहरु बिधिमा चलेको खण्डमा कुनै समस्या नआउने बताउँदै अध्यक्ष र प्रवन्धकले ध्यान दिने हो भने सहकारी मात्रै नभएर अन्य संघ संस्थाहरु पनि नबिग्रने उहाँको तर्क थियो ।

संस्थालाई सुरक्षित र स्वच्छ बनाउनका लागि ध्यान दिनु पर्ने महासचिव अधिकारीको भनाई थियो । सहकारी सामाजिक कार्य हो र यसको नेतृत्वले भाषण भन्दा पनि काम गर्नु पर्ने भएकाले संस्थालाई जनउत्तरदायी बनाउनका लागि नै काम गर्नु पर्ने उहाँको भनाई थियो ।

जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले केन्द्रीय स्तरमा भएका संघहरुले केन्द्रमै कार्यक्रम गर्ने र रिमाोट एरियाको सहभागिता कम भयो भन्ने गरेको गुनासो गर्नुभयो । पोखरामा कार्यक्रम आयोजना गर्दै ढिला सूचना गरेर म्याग्दीका सबै सहकारी सहभागि भै दिए हुने भन्दै अपेक्षा गर्ने गरेको भन्दै राज्य तथा गैर राज्य तर्फका संघ संस्थाहरुले पनि कार्यक्रमहरुलाई विकेन्द्रीत गरेर अगाडी बढ्न पर्ने बताउनुभयो ।

जिल्ला सहकारी संघको अध्यक्षमा निर्वाचित भए पछि झण्डै १५० वटा कार्यक्रमहरु आफ्नो नेतृत्वमा भएको बताउँदै कार्कीले अब लगत्तै बृहत कार्यक्रमको आयोजना गर्ने समेत जानकारी दिनुभयो । नेफ्स्कुनको आर्थिक वर्ष २०७९/८० को बार्षिक कार्यक्रम अनुसार व्यवसाय विस्तार कार्यक्रम अन्तरगत म्याग्दीमा व्यवसाय प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको नेफ्स्कुनका कोषाध्यक्ष एवम् कार्यक्रमका अध्यक्ष दिपक पनेरुले बताउनुभयो ।

नेफ्स्कुनका सहायक कार्यकारी अधिकृत एवम् व्यवसाय विभाग प्रमुख दुर्गाप्रसाद ढकालले सहकारीलाई कसरी मजबुत बनाउने सन्दर्भमा अभिमुखिकरण गराउनु भएको थियो । कार्यक्रममा नेफ्स्कुनका सञ्चालक कमलादेवी गिरीलगायतले बोल्नु भएको थियो । कार्यक्रममा हिमाली जिल्ला म्याग्दीका बचत तथा ऋण सहकारीका प्रबन्धक तथा अध्यक्षको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *