अस्थिरताको अस्वस्थ खेल

सम्पादकीय
नेपालको राजनीति कति अस्थिर, प्रदुषित र घृणित छ ? पछिल्लो दुई महिनाको राजनीतिक उतार चढावका परिदृश्य हेरे काफी हुन्छ । दुई महिनाको उतारचढावपछि नेपाली राजनीति फेरि मंसिर ४ अघिको बिन्दुमा आइपुगेको छ । गत मंसिर ४ मा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन भयो । निर्वाचनका बेला सम्म नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा सहितको सत्ता गठबन्धन कायम थियो । जब चुनावको अन्तिम मत परिणाम सार्वजनिक भयो । तब सरकार गठनको अध्याय सुरु भएसँगै त्यसबेलाको सत्ता गठबन्धन भत्कियो । नेपाली कांग्रेसले प्रधानमन्त्री नदिए पछि नेकपा माओवादी र यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच्किए, र प्रतिगमन करार गर्दै दुई किनारा भएको नेकपा एमालेको साथमा प्रधानमन्त्री बने । प्रधानमन्त्री बनेर विश्वासको मत लिएको महिना दिन पुरा भएको छैन । अहिले राष्ट्रपति निर्वाचनको बेला सम्म आइपुग्दा फेरि सत्ता गठबन्धन भत्किएको छ । र फेरि पुरानै गठबन्धन ब्युँताइएको छ ।

नयाँ समीकरण बने सँगै सरकारमा रहेको राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा बुझाइ सकेका छन् । नेकपा एमाले फेरि प्रतिपक्ष बन्ने बाटोमा छ । भलै राष्ट्रपतिको निर्वाचन सम्म पर्ख र हेरको नीति अख्तियार गर्ने भएको छ । तत्काल सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता नबोलाउने नीति लिएको छ । र नयाँ गठबन्धनबाट कांग्रेसका रामचन्द्र पौडेल उम्मेदवार बनेका छन् भने नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिका उम्मेदवार बनेका छन् । पौडेल र नेम्वाङ दुवै पूर्व सभामुख हुन् । रामचन्द्र पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म सभामुख थिए । सुवासचन्द्र नेम्वाङले २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म पहिलो कार्यकाल संसदको नेतृत्व गरेका थिए । २०७० फागुन ६ गतेदेखि २०७२ साल असोज २७ गतेसम्म दोस्रो कार्यकाल सभामुख भएर संसदको नेतृत्व गरेका थिए । दुबै संविधानसभामा पनि उनले संविधानसभा अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् ।

निर्वाचनबाट राष्ट्रपतिका दुई उम्मेदवार मध्ये कुनै एक बिजयी बन्नेछन् । जो बने पनि आगामी फागुन २३ मा देशले तेस्रो राष्ट्रपति पाउनेछ । तर, यो सँगै खतरानक परिदृश्य र घटनाक्रम मुलुक अस्थिरता तर्फ उन्मुख छ । अहिले प्रधानमन्त्री रहेका प्रचण्ड निरन्तर रहन्छन् या बिचमै अरु राजनीतिक कुरुप खेलहरु हुन्छन् ? यसमा देशी विदेशी भूमिकाले देश फेरि पुरानै राजनीतिको फोहोरी खेल तर्फ गइरहेको छ । देशका मुख्य दल र तिनका शीर्ष नेताहरु बिना कुनै लज्जाबोध सीमित स्वार्थहरुका लागि जस्तो पनि निर्णय गर्ने र कदम चालिरहेका छन् । विचार, सिद्धान्त, दर्शन, नैतिकता, इमान्दारिता यी सबै मात्र भन्ने कुरा भएका छन् । देशमा आर्थिक संकट चुलिँदो छ । व्यापार, व्यवसाय, दैनिक चल्न चलाउन सकस भए पछि मानिसहरुमा चर्को फष्टेसन छ । पछिल्लो पाँच महिनामा मात्र पाँच लाख युवा विदेश गएको ताजा तथ्यांक छ । देशका गम्भिर समस्या समाधान गर्ने दिशामा सरकार ध्यान केन्द्रित गर्नुपर्नेमा दल र नेताहरु सत्ता स्वार्थकै दन्तबझान छ । देश फेरि अस्थिरताको चक्रमा फसेको छ । अब कदापि फेरि कुनै व्यक्ति या दलको स्वार्थ, प्रतिशोध र पद मोहका कारण देशलाई अस्थिरतामा लैजाने धृष्टता कसैले नगरुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *