अर्गानिक परिकारको स्वाद लिन बनौ लेकमा पर्यटक


खेमराज गौतम, बागलुङ

एक वर्ष अघि सम्म गुमनाम रहेको बनौ लेक अहिले चर्चामा छ । बनौलाई आलु उत्पादनका हिसावले मात्रै चिनेकाहरु अहिले पर्यटकीय स्थलका रुपमा चिन्न थालेका छन् ।

पर्यटकीय क्षेत्रको विकासका लागि अत्यावश्यक रहेको सडक पूर्वाधारको सहजताका कारण पछिल्लो एक वर्षमा सयौं आन्तरिक पर्यटकहरु बनौलेक पुगिसकेका छन् ।

अहिले बनौमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकको चहल–पहल ह्वातै बढेको पाइन्छ । बनौमा आन्तरिक पर्यटकहरु बढ्न थालेपछि पर्यटकहरुलाई लक्षित घरी घरबास तथा विभिन्न होटलहरु समेत सञ्चालनमा आएका छन् ।

चिसो हावापानी सहित चिटिक्क परेको गाउँमा अहिले दृश्वलोकन, अर्गानिक परिकारको स्वाद तथा सूर्योदय हेर्नका लागि आन्तरिक पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् । समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा रहेको बनौमा एक वर्ष अघि मात्रै कालोपत्रे सडक पुगेपछि बागलुङ, पर्वत, म्याग्दी र काठमाण्डौ लगायतका क्षेत्रबाट आन्तरिक पर्यटकहरु यहाँ आउन थालेका हुन् ।

बनौमा आन्तरिक पर्यटकहरु बढ्न थालेपछि भारती सेनाबाट अवकास प्राप्त डम्मर बहादुर फगामीले ‘काकई सामइ घारबास’ समेत सञ्चालनमा ल्याउनुभएको छ । बनौमा सडकको सहजता संगै बढ्दै गएका आन्तरिक पर्यटकहरुलाई लक्षित गरी आफूले नौ महिना देखि घरबास सञ्चालनमा ल्याएको बताउनुभयो ।

“पर्यटकहरुलाई आउन सडकनै चाहिदो रहेछ, जब एक वर्ष अघि सडक कालोपत्रे भयो, तयसपछि यहाँ आउनेको संख्यामा उल्लेख्य वृद्धि भयो, सामाजिक सञ्जालको प्रभावका कारण समेत यहाँ आउनेहरुको संख्या बढी छ, राजमार्गसंग जोडिएका बागलुङ, पर्वत र म्याग्दी जिल्लाको सदरमकुामबाटै एक÷डेढ घण्टाको यात्रामा बनौ आउन सकिन्छ” फगामीले भन्नुभयो “५० लाखको लगानीमा घरबास सञ्चालनमा ल्याएको हुँ, अहिले एक रातमा २० जना सम्म पाहुँना राख्ने क्षमता घरबासको छ ।”

२४ वर्ष भारतीय सेनामा कार्यरत भई नायब सुबेदारबाट छ वर्ष अघि अवकास प्राप्त गरी गाउँ आउनुभएका फगामीले आफूलाई शहरको मोह नभएका कारण गाउँमै घरबास सञ्चालनमा ल्याएको बताउनुभयो । फगामीका अनुसार शुक्रबार र शनिबार आफ्नो घरबासमा पर्यटकको चाप हुँने र अघिपछिको समयमा थोरै मात्र पाहुँना आउने गर्दछन् ।

फगामीको काकई सामइ घरबासमा अर्गानिक परिकारका पारखीका लागि निकै राम्रो गन्तव्य बनेको छ । उहाँको घरबासमा लोकल कुखुरा, सिस्नो, कोदोको ढिडो, गुन्दु्रक, मकै, भट्ट, आलु, जौको ढिडो र खसीको मासु लगायतका परिकारको स्वाद लिन पाइन्छ ।

यहाँ आउने पर्यटकहरु शहर बजारको कोलाहल छल्न, हल्जुरेडाँडाबाट दृश्यावलोकन गर्न र देबीथान मन्दिर दर्शनका लागि आउने गरेको पाइन्छ । जलजला गाउँपालिका–९ स्थित बनौलेकमा सबैभन्दा बढी पर्यटकहरु बागलुङबाट आउने गरेको उहाँको भनाई छ । बनौ गाउँमा पर्यटकहरुको संख्या वृद्धि भएसंगै पछिल्लो समय घरबास संगै अन्य होटलहरु समेत सञ्चालनमा आउन थालेका छन् ।

चिसो हावापानीमा अर्गानिक स्वाद लिदै घरबासमा रमाउन बागलुङ बजारबाट बनौ आउनुभएका आन्तरिक पर्यटक नारायण रिजालले बताउनुभयो । “सामाजिक सञ्जालमा अहिले बनौ जाने लहडै चलेको देखे, बनौको विषयमा धेरै चर्चा सुनेकाले छ जना साथीहरु सहित बनौ आएका हौ” रिजालले भन्नुभयो “बेलुका घरबासमा अर्गानिक परिकारको स्वाद लियौं भने बिहानै देबीथान रहेको डाँडामा पुगेर दृश्यावलकन संगै तीन जिल्लाको सदरमुकाम देख्यौ, निकै आनन्द आयो, अहिले गर्मी पलाईसकेको अवस्थमा यहाँ निकै चिसो हावापनी रहेछ ।”

बनौ लेक पुगका पर्यटकहरुले देवीथानको डाँडामा बनाइएको बनभोज स्थलमा टेण्ट हालेर समेत बस्ने गरेका स्थानीय अमबहादुर गर्बुजाले बताउनुभयो । बनौलेकबाट धवलागिरिका तीन जिल्ला सदरमुकाम बागलुङ, बेनी र कुस्मा बजार एकैसाथ देख्न सकिन्छ । हल्जुरेडाँडाबाट देखिने सूर्योदयले दार्जलिङको झल्को दिने गरेको त्यहाँ पुग्ने पर्यटकहरुले बताएका छन् ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग बागलुङ–पर्वत खण्डको अर्मादीबाट एक घण्टामै पुग्न सक्ने स्थानमा रहेको बनौ पुग्ने सडक कालोपत्र भएपछि चर्चामा आएको पर्यटकीय गन्तव्य हो ।

कला, संस्कृतिको धनी रहेको बनौगाउँमा मगर समुदायको बाहुल्यता रहेको छ । उनीहरुको मारुनी नाच र मगर बाजा यहाँको पहिचानसमेत हो । उच्च पहाडी भेगमा पर्ने बनौंलेकमा उत्पादित आलु र निकै स्वादिष्ट हुने गरेको छ । बनौलेकबाट तीन जिल्लाका जिल्लाका सदरमुकामसँगै धवलागिरि, अन्नपूर्ण, निलगिरिलगायतका दर्जनाँै हिमशृंखलासमेत देख्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *