दोहोरी गीत प्रतिष्ठान, नेतृत्व चयन र विवाद

सम्पादकीय
नेपाली लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था हो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान । यसमा हजारौ कलाकार आवद्ध छन् । जसको यसै साता मात्रै धादिङ बेसीमा आठौं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले केही पदाधिकारीमा सर्वसम्मत र धेरैमा निर्वाचन मार्फत पदाधिकारी तथा सदस्य निर्वाचित गरेको छ । लगातारको पछिल्लो तीन कार्यकालमा निर्वाचन भएको दोहोरी प्रतिष्ठानको इतिहासका बाबजुद यसपटक अध्यक्ष सहित मुख्य पदमा सर्वसम्मत नेतृत्व चयन गर्नु सुखद विषय हो । त्यसमा अझ दोहोरी प्रतिष्ठान स्थापना भएको लामो समय पछि प्रतिष्ठानले पहिलो महिला अध्यक्ष रिता थापा मगरलाई पाएको छ । अरु पदाधिकारीमा सर्वसम्मत र निर्वाचनबाट बिजयी कलाकारहरु पनि कलाकारितामा अब्बल भएका पात्रहरु छन् । जसले स्वभाविक केही आशा र उत्साह पैदा गरेको छ ।

तर, दोहोरी प्रतिष्ठान महाधिवेशनको संघारमा आउँदा नै एउटा विषय र विवादले सिंगो देश तरंगित बन्यो । प्रतिष्ठानले सबैलाई समेट्न नसकेकाले बिष्णु खत्री लगायतको एक समूहले लोक दोहोरीको छुट्टै संस्था खोल्ने समाचार सार्वजनिक भयो । अग्रज कलाकार बमबहादुर कार्की अध्यक्ष र खत्री महासचिव हुने गरी अब निकट समयमै संस्था खोल्ने उद्घोष मात्र गरिएन, उनीहरु दोहोरी गीत प्रतिष्ठानको धादिङ महाधिवेशनमा सरिक समेत भएनन् । अर्को तर्फ महाधिवेशनमा सरिक भएका, त्यसमा पनि निर्वाचनमा पराजित भएकाहरुबाट चर्को असन्तुष्टि व्यक्त भइरहेको छ । खासगरी निर्वाचनमा देखिएको अस्वस्थ प्रतिस्पर्धाको परिदृश्य र मतगणनाको विषय निश्पक्ष नभएको विषयमा उनीहरुले प्रश्न र संशय निरन्तर उठाइरहेका छन् । उसो त प्रतिष्ठानको बिभिन्न कोष र आर्थिक पारदर्शिताको विषय पनि प्रष्ट हुन नसकेको असन्तुष्ट समूहको दाबी छ । अब बैशाखमा संस्था खुलेमा प्रतिष्ठान औपचारिक रुपमा बिभाजित हुनेछ ।

नेपाली कलाकार र कलाकारिताको हकहितका लागि नयाँ संस्था खोल्न लागेका पूर्व महासचिव खत्री तिनै पात्र हुन्, जो पछिल्लो तीन कार्यकालमा अध्यक्षमा लडेर पराजित भएका हुन् । प्रतिष्ठानका केही समूहले नियोजित र योजनाबद्ध रुपमै पाखा लगाएको उनको आरोप छ । निर्वाचनमा गए पछि हार जित स्वभाविक विषय हो । यसलाई जित्नेले अहंम् र हार्नेले प्रतिशोधको विषय बनाइनु हुँदैन । प्रतिष्ठान जस्तै समान्तार अर्को संस्था जन्माउने कुरा कदापि राम्रो होइन । यस्तो अवस्था आउनुमा कोको जिम्मेवार छन् ? लोक दोहोरी प्रतिष्ठानको नयाँ नेतृत्वले गम्भीरतापूर्वक समिक्षा गर्न जरुरी छ । र अझै पनि संस्था नखुलिसकेकाले सबैको साझा अपनत्वका लागि असन्तुष्ट समूहसँग बसेर अन्तिम कोशिस गर्नुपर्छ । राजनीतिक दल र नेताहरु मात्र पद या अवसरका लागि जे पनि गर्छन् भनेर तथानाम गाली गरिन्छ । यसमा कलाकार र प्रतिष्ठान पनि त्यही सूचिमा दर्ज हुने कुरा कदापि राम्रो होइन । दुवै पक्ष यसका लागि जिम्मेवारपूर्ण हिसाबले प्रस्तुत हुनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *