२० बर्षमा बरेङमा छोरीहरुले भन्नेछन्,-‘धन्य सरकार’

सम्पादकीय
स्थानीय सरकारहरु गाउँ गाउँमा सिहंदरबारको रुपमा नआएको चौतर्फी गुनासो छ । अधिकार र अवसर नपाएकोमा आक्रोश पनि यसमा मिश्रित छ । प्रक्रियागत झण्झट, अप्ठ्याराहरुको सरलिकरणमा पनि सकस भएको नागरिकको रोष छ । कारण, केन्द्र सरकारदेखि, प्रदेश सररकार र स्थानीय सरकार सम्मले लोकप्रिय, जनमुखी कार्यक्रम ल्याउन नसकेको प्रतित हुन्छ । एकाध स्थानको सरकारहरु प्रति मात्र आम नागरिक तुलनात्मक रुपमा सन्तोष व्यक्त गरेको आभाष र अनुभूति हुन्छ । अधिक स्थानमा ठुलो गुनासो र आक्रोश छ । स्थानीय सरकारहरु तीन बर्षको अनुभव नजिक पुग्दा पनि अझै काम गराईमा अन्यौल र द्धिविधा प्रशस्त देखिन्छ । बागलुङ जिल्लाका गाउँपालिका र नगरपालिकामा पनि वाह कति प्रेरणादायक, दीर्घकालिन सोच, भिजन सहितको भन्ने उल्लेख्य कार्यक्रम र योजनाको अभाव देखिन्छ । यद्यपी, केही स्थानीय तहले तत्काल र दीर्घकाल दुवैमा राम्रो अर्थ,प्रभाव र सन्देश प्रवाह गर्न सक्ने कार्यक्रमहरु कार्यन्वयनमा आउन थालेका छन् ।

जिल्लाको दक्षिण बरेङ गाउँपालिकाले नेपाली परम्परागत समाजमा उपेक्षा, अपमान र बिभेदमा परेका छोरी लक्षित कार्यक्रम उज्यालो भविष्य कार्यक्रम ल्याएको छ । गाउँपालिकाले गाउँघरमा छोरीलाई हेरिने सामाजिक दृष्टिकोण अझै पनि गलत रहेकाले यसलाई परिवर्तन गर्न उज्यालो भविष्य बाल बचत कार्यक्रम सञ्चालन गरेको छ । यो कार्यक्रम अन्र्तगत छोरी जन्मेमा हरेक महिना एक सयका दरले २० वर्ष सम्म बालिकाको खातामा रकम गाउँपालिकाले जम्मा गरिदिनेछ । छोरा जन्मेमा भने एक पटक मात्र बालकको खातामा एक हजार जम्मा गरिदिनेछ । यसका लागि गाउँपालिकाले केही शर्त पनि राखेको छ । गर्भवति महिलाले स्वास्थ्य संस्थामा नियमित रुपमा चार पटक स्वास्थ्य परिक्षण, स्वास्थ्य संस्थामा सुत्केरी र ३५ दिन भित्र बच्चाको जन्मदर्ता गराएमा मात्र उज्यालो भविष्य कार्यक्रममा समावेश गरिने छ । उक्त सुविधा पाउनका लागि बच्चाको आमाबाबुले पनि गाउँपालिकासँगै छोरीको खातामा २० वर्ष सम्मनै एक सयका दरले रकम जम्मा गर्नुपर्नेछ । यदि छोरी २० वर्षको हुँदा सम्म आठ कक्षा पास नगरेमा, २० वर्ष उमेर नपुग्दै विवाह गरेमा गाउँपालिकाले जम्मा गरिदिएको रकम फिर्ता लिइनेछ । छोराछोरी जुन जन्मे पनि दुई बच्चाका लागि मात्र सोही सुविधा लागु हुनेछ । तेस्रो बच्चा भएपछि उज्यालो भविष्य बचतमा गाउँपालिकाले सहयोग नगर्ने जनाएको छ ।

बरेङ गाउँपालिकाले शुरु गरेको यो कार्यक्रम नेपाली समाजमा सामान्य तर हस्तक्षेपकारी कार्यक्रम हो । यो सानो शुरुवात हो तर यसको अर्थ, भुमिका, सन्देशका हिसावले कदापी सामान्य छैन । कारण यो कार्यक्रमले सुरक्षित प्रसुतिदेखि बाल बिवाह रोक्न, छोरीहरुको पठन पाठन र उज्वल भविष्य बनाउन बहुआयामिक भुमिका खेल्नेछ । छोरी भन्ना साथ गर्भ पतन या भ्रुर्ण हत्या समेत गर्न तयार हुने नेपाली समाजमा यस्ता कार्यक्रमहरुको प्रभावकारी कार्यन्वयन हुन जरुर छ । जसले हर छोरी चेलीहरुलाई बाँच्नका लागि कसैको अनुग्रह, आर्शिवाद र अनुदान जरुर हुने छैन । तल्लो तहको छोरी लक्षित कार्यक्रमको वचतले खर्च अभावमा किशोरी अवस्थामै पढाई छोड्न मात्र होइन, बिहे गर्नुपर्ने बाध्यता पनि अन्त्य गर्न भुमिका खेलेको हेर्दा अवश्य पनि अहिलेको स्थानीय सरकार, जनप्रतिनिधि, कर्मचारी र नागरिकलाई साँच्चिकै सरकार आएको र भएको अनुभूति हुनेछ । यस्तो सोच, निर्णय र योजना अरु क्षेत्र, बिषय र स्थानमा पनि अपरिहार्य छ । २० बर्ष पछि त्यहाँका छोरीहरुले बरेङ गाउँपालिकालाई धन्यवाद दिँदै भन्नेछन्,–‘धन्य सरकार’ ।
-आजको जागरण दैनिकबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *