आदर्श अनलाइन, बागलुङ
गाउँकै एक्ला युवा हुन् मित्रलाल गौतम । दिनभर कृषि कर्ममा रमाउदै आएका गौतमको काँधमा गाउँको आड भरोसा छ । बैदेशिक रोजगारी, शिक्षा र अवसरका खातिर गाउँमा युवा छैनन्, नत बालबालिका । गाउँमा मर्दा पर्दा एक्ला युवा मित्रलालकै भरमा छ बागलुङको बरेखानी गाउँ । बुढा पाका र एक्ला युवाको भरमा रहेको बरेखानी गाउँ बसाइँ सराईको नमूना गाउँमा चिनिन्छ ।
२८ वर्षका मित्रलाल गाउँमै बस्नी अड्डी कसेर कृषि कर्ममा लाग्नुभएको मात्रै छैन् अन्य गाउँलेको सहयात्री समेत हुनुहुन्छ । गाउँका साथीसंगी र दाजुभाई विदेश तथा बसाईसराँई गरेर गएपनि मित्रलाल आफ्नो कृषि कर्म, मेलापात र अर्मपर्ममा व्यस्त हुनुहुन्छ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–९ मा पर्ने बरेखानी गाउँमा पहिला २२ घर थिए । विकास, शिक्षा लगायतका सेवा सुविधाको अभावमा बसाईसराइका कारण अहिले जम्मा ७ घरमा मात्रै मानिस बसोबास गर्दछन् । बसाइँ सराईले गाउँ उजाड भइसक्यो तर, अझै गाउँबाट बसाइँ सराई गर्ने क्रम रोकिएको छैन ।
तर, तेही उजाड गाउँको १०० रोपनी बाँझो पाटोमा व्यवसायिक तरकारी खेति गर्न रोकिएको छैन । सिंगो बरेखानी गाउँमा बसाइँ सराईले बाँकी रहेका सात परिवार छन् । सातै परिवार अहिले कृषि पेशामा छन् । जस्लाई अगुवाई गर्नुभएको छ युवा कृषक मित्रलाल गौतमले । नगरपालिका भित्र रहेर पनि अत्यन्तै दुर्गम गाउँमा पर्ने बरेखानीमा सडक पुगेको बल्ल डेढ वर्ष भयो ।
“जंगलको बीचमा बरेखानी बस्ती छ, सोही स्थानमा पहिला २० घरमा मानिस बस्दथे । तर, गलकोटकै तिब्र बसाइँ सराई रहेको बरेखानीमा एक्लो युवा आफु मात्र रहेको मित्रलालको भनाई छ । अन्य सात घरमा मानिस भएपनि बुढापाका मात्रै छन्, विद्यार्थी अभावमा विद्यालय बन्दभएपछि बालबालिका अध्ययनका लागि बस्ने कुरै भएन” गौतमले भन्नुभयो “तर यहाँ व्यावसायिक कृषि खेती गर्न लागेको भने धेरै भयो ।
गौतमका अनुसार बसाइँसराइका कारण सोही गाउँमा २०४१ सालमा स्थापना भएको बरेखानी प्राथमिक विद्यालय विद्यार्थी अभावमै २०७२ सालमा बन्द भयो । आफु सहित सात घरकै मानिसहरुले व्यावसायिक तरकारी खेति गर्दै आएका आएको मित्रलाल बताउनुहुन्छ । पहिले तरकारी बोकेर गलकोट पु¥याउँनु पथ्र्याे, डेढ वर्ष अगाडीदेखि त्यो समस्या पनि हटेको छ । मित्रलालको झण्डै चार रोपनी जग्गामा अहिले सिमि, काउली, बन्दा, गाँजार र टमाटर छन् भने १० घार मौरी र २५ बोट कागती रहेका छन् ।
“बुबा खिमलाल गौतमकै प्रेरणाले विदेश नगएर गाउँमै बसेको छु, अहिले वर्षमा चार÷ पाँच लाख आम्दानी गर्नेगरी तरकारी खेति गर्दै आएको छु, भैसी बाख्राको स्याहार सुसरा गर्नै प¥यो, गाउँलेको खेतबारी खनजोत समेत आफैले गर्नु पर्दछ, तरकारी खेतिलाई अझै विस्तार गरेर लैजाने सोचमा छु ।” गौतमले भन्नुभयो । दुई दाजुहरु वैदेशिक रोजगारीका लागि विदेश गएपनि आफूले गाउँ छोड्न नसकेको गौतमलको भनाई छ ।
गौतमको घरमा दुई भैसी र चार बाख्रा छन् । उहाँले केही जग्गामा सुन्तला खेति समेत गर्ने योजनामा रहेको सुनाउनुभयो । सात घर मध्ये आफू सहित चार घरले उत्पादन गरेको तरकारी हटिया बजारमा विक्रि गर्दै आएको उहाँको भनाई छ । गौतमलाई कृषिमा प्रेरणा दिने गाउँकै एक व्यक्ति हुन् ललाम्बर गौतम । उहाँले व्यवसायिक कृषि खेती गर्न थालेको २० वर्ष भइसक्यो । उहाँको झण्डै चार रोपनी जग्गामा दुई प्लाष्टिक टर्नेल सहितको तरकारी खेती छ तर उहाँका परिवार विदेश भएको र आफूले बसाईसराइका कारण काम गर्ने मानिस पाउनै समस्या भएको दुखेसो गर्नुभयो ।
“गाउँमा कोही छैनन्, गाउँ धानेकै एउटा युवा मित्रलाल गौतम हुन्, अहिले म यता खेतमा बसाईसराइ गरेको छु तर दिउँसो बरेखानी पुगेर तरकारी खेती गर्दै आएको छु” लिलाम्बर गौतमले भन्नुभयो “गाउँमा बसाइँ सराईले सकिनै लाग्यो, अब मित्रलाल गौतम समेत कतै गए त्यहाँ बस्ने अवस्थानै छैन्, तरकारी खेति गर्न मन थियो, नातनातीना पढाउनका लागि बाँसखोला आएर बस्ने गरेका छौं, गाउँमा काम गर्ने मानिस छैनन् एक्लै गर्न सक्न छोडियो ।” कृषिकको लागि वार्ड र नगरपालिकाले सही निर्णय लिन नसक्दा कृषकहरुलाई समस्या पर्दै आएको गौतमको भनाई छ ।
तरकारी खेतिका लागि उर्भर भूमी रहेको बरेखानीमा बसाइँ सराई नरोकिए गाउँनै खाली हुने अवस्था आउने गौतमको भनाई छ । गलकोटका अधिकांश युवा वैदेशिक रोजगारीका लागि जापान लगायतका देशमा जाने र परिवार स्वास्थ्य तथा शिक्षाका लागि बसाइँ सराई गर्ने भएकाले बरेखानी गाउँ बिस्तारै उजाडिदै गएको छ ।