कार्यसम्पादनमा उत्कृष्ट बन्यो जैमिनी

आदर्श अनलाइन, बागलुङ
कार्यसम्पादनमा बागलुङ जिल्लाका १० पालिका मध्ये जैमिनी नगरपालिका उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हालै सार्वजनिक प्रतिवेदन अनुसार कार्यसम्पादन मूल्याङ्कनमा बागलुङको जैमिनी नगरपालिका उत्कृष्ट भएको छ ।

आयोगले आर्थिक वर्ष २०८०÷८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन मूल्याङ्कनमा जैमिनी नगरपालिका उत्कृष्ट भएको हो ।

आयोगले स्थानीय तहले प्रविष्ठ गरेको विभिन्न १७ वटा सूचकका आधारमा देशभरका स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गरेकामा जिल्लाका १० पालिकामध्ये जैमिनी नगरपालिकाले सबैभन्दा बढी अंक प्राप्त गरी प्रथम हुन सफल भएको हो । जैमिनी नगरपालिकाले ६७ दशमलब ७३ अङ्क प्राप्त गरेको छ ।

नगरपालिकाले लिएको लक्ष्य, पारदर्शीता, शुसासन तथा कार्य सम्पादनका आधारमा जिल्लाका पालिका मध्ये सबैभन्दा बढी अंक प्राप्त गरेको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।

“सूचकहरुको आधारमा कार्यसम्पादन मुल्याङ्कनमा ६७ दशमलब ७३ अंक प्राप्त गरेको हो, यो जिल्लाका अन्य पालिका मध्ये उत्कृष्ट अंक हो” शर्माले भन्नुभयो “नगरपालिकाको संस्थागत निर्णय, माथिल्लो निकायलाई तिर्नुपर्ने विभिन्न कर, राजश्व संकलन तथा व्ययको अनुमान गरे नगरेको लगायतका १७ वटा सुचकहरुमा जैमिनी नगरपालिका राम्रो देखिएको हो, आगमी दिनमा यस्ता सूचकहरुलाई अझै बढाएर लैजानेमा छौं ।”

कार्यसम्पादन मूल्याङ्कनमा ढोरपाटन नगरपालिका दोस्रो भएको छ । ढोरपाटन नगरपालिकाले ६३ दशमलब ३६ अङ्क प्राप्त गरेको छ । त्यस्तै बरेङ गाउँपालिकाले ६१ दशमलब ९७ अंक प्राप्त गरी तेस्रो भएको छ ।

यस्तै तमानखोला गाउँपालिकाले ६१ दशमलब ५७, गलकोट नगरपालिकाले ६१ दशमलब ०१, बडिगाड गाउँपाकिलाले ५७ दशमलब ८७, बागलुङ नगरपालिकाले ५६ दशमलब ४०, ताराखोला गाउँपालिकाले ५४ दशमलब ३१, काठेखोला गाउँपालिकाले ५३ दशमलब ६० र निसीखोला गाउँपालिकाले ५२ दशमलब ४४ अङ्क प्राप्त गरेको छ ।

स्थानीय तहले विसं २०७९ असार १० गतेभित्र आर्थिक वर्ष ०७९÷८० को राजश्व र व्ययको अनुमान सम्बन्धित सभामा पेश गरे नगरेकोलाई पहिलो सूचक बनाइएको छ । आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्ययको अनुमान सम्बन्धित सभाबाट २०७९ असार मसान्तभित्र पारित गरे नगरेकोलाई दोस्रो सूचक बनाइएको छ ।

स्थानीय तहले घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे नगरेकोलाई तेस्रो सूचक बनाइएको छ ।

स्थानीय तहले आर्थिक वर्ष २०८०÷८१ को आय व्यय प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण २०७९ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे नगरेकोलाई चौथो सूचक बनाइएको छ । स्थानीय तहले आर्थिक वर्ष २०७८÷७९ को बजेट कार्यान्वयनको वार्षिक समिक्षा गरी सम्बन्धी विवरण २०७९ कात्तिक मसान्तभित्र सार्वजनिक गरे नगरेकोलाई पाँचौ सूचक बनाइएको छ ।

आर्थिक वर्ष २०७८÷७९ को राजश्व सङ्कलनको प्रक्षेपित लक्ष्य, आर्थिक वर्ष २०७८÷७९ को यथार्थ राजश्व सङ्कलन रकम, आर्थिक वर्ष २०७७÷७८ को यथार्थ राजश्व सङ्कलन रकम, आर्थिक वर्ष २०७८÷७९ मा कूल विनियोजित रकम, आर्थिक वर्ष २०७८÷७९ मा कुल पुँजीगत विनियोजित रकम, आर्थिक वर्ष २०७८÷७९ मा कूल पुँजीगत खर्च रकम, आर्थिक वर्ष २०७७÷७८ मा कायम भएको बेरुजु रकम, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग गरे नगरेको, स्थानीय तहले आवधिक योजना तर्जुमा गरे नगरेकोलाई सूचकमा समावेश गर्दै अंकभार दिएको छ ।

यस्तै शैक्षिक शत्र २०७९ मा कक्षा १ देखि ८ सम्मको औषध खुद विद्यार्थी भर्नादर, शैक्षिक शत्र २०७८ मा कक्षा ८ मा रहेका विद्यार्थी सङ्ख्या, शैक्षिक शत्र २०७९ मा कक्षा ९ मा रहेका विद्यार्थी सङ्ख्या, शैक्षिक शत्र २०७८ मा सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कुल विद्यार्थी सङ्ख्या, आर्थिक वर्ष २०७८÷७९ मा चार पटक गर्भ जाँच गर्ने महिलाको सङ्ख्या, आर्थिक वर्ष २०७८÷७९ मा २४ महिनासम्मका बालबालिकाको अनुमानित सङ्ख्या, पूर्ण खोप पाएका बालबालिकाको सङ्ख्यालाई सूचक बनाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *