माओवादीको मालिका गाउँपालिका समितिको पुर्नगठन

आदर्श अनलाइन, म्याग्दी
नेकपा (माओवादी केन्द्र) मालिका गाउँपालिका कमिटिमा रिक्त रहेको पदपुर्ती संगै पालिका कमिटि पुनःगठन गरिएको छ । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग पार्टी’ अभियान अन्तरगत पश्चिम म्याग्दीको दरवाङमा भएको कार्यकर्ता भेलाबाट गाउँपालिका कमिटिको संयोजक र सचिव चयन गरिएको माओवादी केन्द्रले जनाएको छ ।

कमिटिका तत्कालिन अध्यक्षले राजिनामा र सचिव वैदेशिक रोजगारमा गएको कारणले रिक्त भएको पदपुर्ति गरिएको हो । नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटी अध्यक्षमा अनुप गौचन र सचिवमा लालबहादुर घताने चयन हुनुभएको जनाइएको छ । गौचन नेकपा एकिकृत समाजवादीबाट माओवादीमा प्रवेश गर्नुभएको हो ।

नेकपा एमालेबाट माओवादीमा प्रवेश गर्नुभएका मालिका गाउँपालिका–१, का गंगाराम पौडेललाई पनि पालिका कमिटी सदस्यमा मनोनित गरिएको छ । भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इञ्चार्ज गोविन्द पौडेलले राष्ट्रपति चुनावको सन्दर्भमा माओवादी–काँग्रेस सहितका आठ दलीय गठबन्धन संविधान र उपलब्धीको रक्षाका लागि बनेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला संयोजक तथा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम बहादुर जुग्जालीले विकास निर्माण र सामाजिक काममा जोडिन आग्रह गर्दै चुनावमा गरेको बाचा अनुसार म्याग्दीमा परिवर्तन गरेर देखाउने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य चन्द्रबहादुर बुढाथोकीले जनताका समस्या, गुनासा, आवश्यकता पहिचान र सम्बोधनमा पहल गर्ने र पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले दुई महिने जनतासँग माओवादी अभियान सञ्चालन भएको बताउनुभयो ।

भेलाले मालिका गाउँपालिकाको सबै वडा र टोल स्तरमा कार्यकर्ता प्रशिक्षण, जनवर्गीय संगठन विस्तार, सदस्यता नविकरण, नयाँ सदस्यता वितरण, सहिद परिवार, घाइते, अपांग, जनयुद्धमा सेल्टर बसेका घरमा पुगेर घेटघाट गर्ने कार्यक्रम बनाइएको प्रदेश सदस्य तथा ईञ्चार्ज गौरी सेञ्चुरीले बताउनुभयो । कार्यक्रममा सहभागी नेता कार्यकर्ताहरुले यसपाली म्याग्दीलाई माओवादीले राम्रो अवसर दिएको बताउदै यसलाई परिवर्तन र विकासमा रुपान्तरण गर्ने प्रतिवद्धता जनाएका थिए ।

उता नेकपा एकीकृत समाजवादी म्याग्दीका अध्यक्ष कृष्णकुमाार विश्वकर्माले माओवादी प्रवेश गरेको समाचार सार्वजनिक भएपछि पार्टीले सचेत हुँदै कार्वाही गरेको सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गर्नुभएको छ । विश्वकर्माले जिल्ला कमिटीको सदस्य तथा युवासंघको जिम्मेवारीमा हुँदै संगठित सदस्य समेत नरहने गरी अनुप गौचनलाई कार्वाही गरिएको बताउनुभएको छ ।

विचारको कुरा हो, निर्णयमा हामी सबै स्वतन्त्र छौं नै, पार्टीको बैधानिक प्रक्रियामा हामी लागौंला, अनवरत आन्दोलन हो हार्न, थाक्न र भाग्न पाइन्छ, हामी त त्यही संघर्षमै लडि रहन्छौं भन्दै गौचनलाई कार्वाही गरिएको बिश्वकर्माले सार्वजनिक गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *