दिवस गुरुङ
नेपालकै एक मात्र शिकार आरक्ष हो ढोरपाटन । जैविक, प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण क्षेत्र, ३२ प्रजातिका स्तनधारी जनावरहरु पाइने ठाउँ । नाउर र झारल सिकारका लागि विश्वमै प्रख्यात गन्तव्य स्थल । दुर्लभ एवम् संरक्षित सुचीमा पर्ने डाँफे, मुनाल लगायतका १६४ प्रजातिका चराका प्रजातिहरु समेत पाइने आरक्ष देशकै एक आकर्षक पर्यटकीय गन्तव्य समेत हो ।
यो बागलुङ, म्याग्दी र पूर्वी रुकुमका विभिन्न भुभागमा एक हजार ३२५ वर्ग किलोमिटरमा फैलिएको छ । ढोरपाटन केवल उच्च पहाडी क्षेत्रको उपत्यका मात्र हैन, प्रकृतिको खुल्ला पुस्तकालय नै हो । उत्तर गंगा नदीले सिञ्चित ढोरपाटनले थुप्रै सम्भावना सहित अनगिन्ती इतिहास र कथाहरु बोकेको छ । ढोरपाटनको स्यालपाँखे, पाँखाथर, नबी, नौथर, छेन्टुङ लगायत थुप्रै गाउँहरुले भिन्न भिन्न कथा बोकेर पृथक जीवन बाँचिरहेका छन् ।
चित्रकारले कोरेको क्यानाभास झै ढोरपाटन
त्यसो त प्राकृतिक सौन्दर्यको कोणबाट पनि ढोरपाटन निकै चित्ताकर्षक छ । वर्षायाममा अनन्त सम्म देखिने फाँट वनफूलले हराभरा बन्छ । त्यहीँ फाँटमा आफ्नै सुरले चरिरहेका घोडाहरु देख्दा कुनै चित्रकारले कुशलापूर्वक कोरेका क्यानभास झै लाग्छ । अझ सेताम्य पर्दाको दृश्यले त यहाँ पुग्ने जो कसैको मन मोहित तुल्याउँछ ।
यहाँको मौसक पनि बडो बिचित्रको छ । क्षणमै छयाङ्ग खुल्ने आकाश छिनभरमै बादलले ढम्म ढाकिदिन्छ । हरेक याममा फरक–फरक रुप देखिने ढोरपाटन एकपटक पुगेर पुग्दैन । ६ वटा ऋतुमा पुग्ने हो भने हरेक पटक पृथक अनुभव गर्न पाइन्छ ।
बुकीः एक रोमाञ्चक यात्रा
ढोरपाटन घुम्नु भनेको अहिले केवल उपत्यका सेरोफेरो, गाउँ, मन्दिर, गुम्बाहरु घुम्नु जस्तो मात्रै छ । तर, बुकी यात्रा नगरी ढोरपाटन घुम्नुको मजा के मजा ? बुकी पुग्नेहरु भन्छन् । वर्षायाम सुरु भएपछि फाँटमा गाईवस्तुका लागि पर्याप्त चरण क्षेत्र हुँदैन । त्यसैले, ढोरपाटनका गोठालाहरु वर्षायाम सुरु हुनु अघि नै गाईवस्तु धपाउँदै ढोरपाटनबाट पनि माथि लेकतिर उक्लन्छन् । यसैलाई रैथाने भाषामा ‘बुकी उक्लने’ भन्दछन् ।
वैशाखमा लेकतिर उक्लिएका गोठालाहरु असोजमा मात्र ढोरपाटन र तल बोबाङ गाउँमा फर्कन्छन् । ढोरपाटनको बुकी क्षेत्र धेरै पर्यटकका लागि भर्जिन गन्तव्य हो । बुकी जाने परम्परा र गोठाला जनजीवनलाई नजिकबाट नियाल्न बुकी यात्रा एक रोमाञ्चक अवसर हुन सक्छ ।
सौखिन सिकारीको उत्कृष्ट गन्तव्य
ढोरपाटन पर्यटनका साथै सिकारका लागि प्रख्यात छ । यहाँ दुई सिजनमा वर्षेनी सिकार खेलिन्छ । कार्तिक–मंसिर र फाल्गुन–वैशाख गरी दुई सिजनमा शिकारको अनुमति दिइन्छ । ढोरपाटन सिकार आरक्ष कार्यालयले सिकारको अनुमति दिएको संख्या, सिकारीलाई सिकारका लागि सहजिकरण र नियमनको काम गर्दछ ।
यस आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ गरी ७ वटा ब्लक विभाजन गरिएको छ । तोकिएको ब्लक र निर्धारण गरिएको कोटाको आधारमा नाउर, झारल र बँदेलको सिकार गरिन्छ । यहाँ सिकार खेल्न देशी विदेशी पेशेवर सौखिन सिकारीहरु हरेक वर्ष आउँछन् ।
गुमनाम गुरिल्ला पदमार्ग
गुरिल्ला पदमार्ग अर्थात् छापामार हिँडेको बाटो । म्याग्दीको बेनी–दरबाङ हुँदै ढोरपाटन अनि ढोरपाटनबाट पूर्वी र पश्चिमी रुकुम हुँदै रोल्पासम्मको पदमार्ग हो । तत्कालीन सशस्त्र द्धन्द्धमा माओवादी छापामार हिँडेको बाटोलाई गुरिल्ला पदमार्ग भनेर नामाकरण गरिएको १० वर्ष बढी बितिसक्यो ।
१४, १९ र २९ दिन गरी तीन छुट्टाछुट्टै तरिकाले यहाँको पदयात्रा तय गर्न सकिन्छ । अन्नपूर्ण र धौलागिरी सेरोफेरोका पदमार्गहरुमा हुलका हुल पर्यटन आउँदा यहाँ भने फाट्टफुट्ट मात्र पर्यटक आउने गरेका छन् ।
सिकार पर्यटनले मात्र सिंगो ढोरपाटन आरक्षको पर्यटन थेग्न सक्दैन । यसका लागि साहसिक पर्यटक जस्तैः ट्रेकिङ, माउन्टेन बाइकिङ, प्याराग्लाइडिङ, रक क्लाइबिङ जस्ता सम्भावनालाई आधारभूत पूर्वाधार सहित ब्रान्डिङ गरिनु पर्ने पदयात्रीहरु बताउँछन् ।
तिब्बती जनजीवन र संस्कृति अध्ययनको थलो
सन् १९५९ मा तिब्बत र चीनबीच युद्ध चर्कियो । लाखौं संख्यामा रहेका चिनियाँ सैनिकको अगाडि तिब्बतीहरुको केही जोर चलेन । आफ्नो ज्यान जोगाउन उनीहरु आफ्नो थातथलो छाडेर भागे । कोही भारत छिरे त कोही नेपाल ।
सयौं सख्यामा विभिन्न समयमा कोही डोल्पा हुँदै त कोही मुस्ताङ हुँदै तिब्बती शरणार्थीहरु ढोरपाटन आइपुगेका थिए । उनीहरु आएको वर्षौ बित्दा ढोरपाटन र तिब्बतियन शरणार्थीहरुको जीवनमा थुप्रै बदलाव आयो । तिब्बतियनका लागि स्वीस सरकारले ढोरपाटनमै कार्पेट उद्योग खोल्यो । विभिन्न उन्नत प्रजातिका फलफूल र तरकारीहरु ढोरपाटन भित्रिए । शिक्षाको पहुँच बढ्यो । वर्षौ अगाडि ढोरपाटन बिमानस्थल र मिसन अस्पताल समेत सञ्चालनमा थियो । जुन आज बन्द र जिर्ण अवस्थामा छन् ।
अहिले धेरै तिब्बतियन शरणार्थीहरु बसाइँ सरेर कोही पोखरा, काठमाडौं पुगे त कोही स्थानीय सँग विवाह गरेर विभिन्न देशहरुमा पुगिसकेका छन् । अझै पनि केही तिब्बतियनहरु आफ्नो संस्कार, संस्कृति जोगाउदै ढोरपाटनमै बसिरहेका छन् । ढोरपाटन तिनै तिब्बती शरणार्थीको जनजीवन, रहनसहन र संस्कृति बुझ्ने एक महत्वपूर्ण थलो हो ।
सांस्कृतिक र धार्मिक गन्तव्य ढोरपाटन
उत्तरगंगा नदी पारि रहेको ढोर बराह मन्दिर धार्मिक हिसाबले प्रसिद्ध तीर्थस्थल हो । जनै पूर्णिमा, शिवरात्री लगायत विभिन्न चाडपर्वहरुमा यहाँ तीर्थालुहरुको भीड लाग्छ ।
ढोरपाटन आरक्षको हेडक्यावटरबाट ३ कि.मी. पूर्वमा रहेको छेन्टुङ गुम्बाको पनि आफ्नै इतिहास बोकेको छ । संरक्षण अभावमा जिर्ण बन्दै गइरहेको गुम्बा हेर्न पुग्नेहरुको संख्या पनि बाक्लै छ ।
यातायात र सञ्चारको सकस
पर्यटनको अथाहा सम्भावना बोकेको ढोरपाटनमा पछिल्लो केही वर्ष यातायात र सञ्चार सुविधा त पुगेको छ । तर, भरपर्दो हुन नसकिरहेको स्थानीय र आगन्तुक पाहुना पर्यटक गुनासो गर्छन् ।
ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि ढोरपाटनको दुरी जम्मा ३० कि.मि.छ । नेपालकै एक मात्र शिकार आरक्ष क्षेत्र पुग्ने सडकको बाटोले पर्यटकलाई फर्की फर्की आउन हौस्याउँदैन । कैयौं पटक योजना परिसकेको सडक अझै गुणस्तरीय बन्न सकेको छैन । वर्खायाममा त निकै सास्ती र सकस हुन्छ ढोरपाटन पुग्न । उत्तरगंगा नदीले जलमग्न उपत्यकामा पक्की पुल नहुँदा ढोरपाटनको आवतजावतमा पनि बाधा पुग्ने गरेको छ ।
ढोरपाटनमा अझै गुणस्तरीय र भरपर्दो सञ्चार सुविधा छैन । नेपाल टेलिकमले सुविधा दिइरहेको यस क्षेत्रमा घाम अस्ताएसँगै नेटवर्कले काम गर्दैन । बर्खायाममा कैयौं दिन यहाँका मानिसहरु सञ्चारविहीन हुन्छन् । ढोरपाटनमा राम्रो सञ्चार सँगै गुणस्तरीय इन्टरनेटको व्यवस्था अपरिहार्य भएको स्थानीय हर्के बिक बताउँछन् । यहाँका कति गाउँहरुमा अझै पनि विद्युत पुगेको छैन ।
प्रशस्त सम्भावनाहरु बोकेको यस क्षेत्रलाई नेपाली र विश्व पर्यटन बजारमा ब्रान्डिङ गर्न केन्द्रदेखि स्थानीय सरकारले प्रभावकारी कदम चाल्न नसक्नु दुखद पक्ष भएको स्थानीय गुनासो गर्छन् । ढोरपाटन सिकार आरक्ष, बुकी क्षेत्रको यथोचित प्रचार प्रसार, पूर्वाधार विकास, पदमार्गको स्तरोन्नति, सुविधायुक्त अर्गानिक होमस्टे र होटलको व्यवस्था गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य बन्ने निश्चित छ ।