बागलुङ नगरले सुन्यो महिला कर्मचारीका गुनासा

आदर्श अनलाइन, बागलुङ
सम्मान, हप्तामा एक दिन छुट्टी, सेनिटरी प्याड र पोशाकको व्यवस्था । यी बागलुङका होटलमा कार्यरत महिला कर्मचारीका माग हुन् ।

पुरुष सहकर्मीको हेप्ने प्रवृति, पाहुनाकै अगाडी हप्काउने, थर्काउने सञ्चालकको व्यवहार र तेसैमाथी होटलमा काम गर्छाै भन्दा समाजले हेर्ने दृष्टिकोण । उनिहरु आफ्नो मनोवल कमजोर भएको बताउँछन् ।

यो, बागलुङ नगरपालिकाले बिहीबार आयोजना गरेको बागलुङ बजारका होटलमा काम गर्ने महिला कर्मचारीसँगको छलफल कार्यक्रमका सहभागीको गुनासो हो । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने होटलमा कार्यरत अधिकाशं महिला कर्मचारीले सञ्चालक र सहकर्मीबाट मानविय व्यवहारको खाँचो रहेको बताए ।

नियुक्ती छैन, महिना दिन काम गर्दा एक दिन छुट्टी हुँदैन, अनिवार्य काम परेर छुट्टी लिए तलव काटिन्छ यो उनिहरुको अर्काे गुनासो थियो । ‘होटलले पोशाकको व्यवस्था गरिदिए हुन्थ्यो, सेनेटरी प्याड, प्राथमिक उपचार बक्स, खाना खाने समय छुट्टाइ दिए हुन्थ्यो, कहिले काँही गल्ती भइहाले पाहुँनाकै अगाडी गाली नर्गदिए हुन्थ्यो’, यो उनिहरुको अपेक्षा थियो ।

बागलुङ नगरपालिकाले सदरमुकामका २५ भन्दा बढी होटलमा कार्यरत महिला कर्मचारीसँग अन्तरक्रिया गर्ने गरी कार्यक्रम तय गरेको भएपनि कार्यक्रममा जम्मा ५ वटा होटलका महिला कर्मचारीको सहभागिता रहेको थियो ।

महिला कर्मचारीका समस्या, गुनासा सुनेर सुधार गर्न पहल र प्रतिवद्धता गर्ने उद्देश्य अनुसार कार्यक्रम गरेको भएपनि अधिकाशं होटलस सञ्चालकले कर्मचारी नपठाएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।

‘सबै क्षेत्रमा समस्या छन्, समधानको लागि समस्याको पहिचान र सुधारको पहल आवश्यक छ,’ उपप्रमुख खड्काले भन्नुभयो, ‘गुनासा सुन्न आयोजना गरिएको कार्यक्रममा सहभागी नपठाई दिएपछि समस्या अझ धेरै छन् भन्ने प्रष्ट भयो ।’

बागलुङ नगरपालिकाको उपप्रमुख पर्यटन पर्वद्धन कार्यक्रम अन्तर्गत होटलको गुणस्तर वृद्धि र सुधारका लागि सबैभन्दा पहिले कर्मचारीकै समस्या समधान गर्नको लागि छलफलको आयोजना गरिएको बताउनुभयो । उहाँले सदरमुकामका होटलमा कार्यरत कर्मचारीको पोशाक अनिवार्य गर्नुपर्ने बताउनुभयो । पोशाकमा एकरुपता, अतिथी सत्कार र स्वच्छ सफा र गुणस्तरीय व्यवसायबाट मात्र पर्यटन पर्वद्धन सम्भव हुने बताउनुभयो ।

नगरपालिका महिला कर्मचारीका सबै प्रकारका समस्यासँग सम्वेदनशिल छ, समधानको लागि साथमा छ, खड्काले भन्नुभयो ‘सञ्चालकका गुनासा सुन्यौ, महिला कर्मचारीका पनि सुन्यौ, चरवद्ध छलफल गर्नेर्छाै, सभ्य नगर निर्माणको लागि सबैको साथ आवश्यक छ ।’

पहिलो चरणमा बागलुङ नगरपालिकाले एक कर्मचारी एक पोशाक हस्तान्तरण गर्ने र होटल सञ्चालकले पनि एक÷एक जोर पोशाक कर्मचारीलाई प्रद्धान गर्ने गरी पहल भइरहेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताउनुभयो । सदरमुकामका होटलमा काम गर्ने कर्मचारीको पोशाकमा एकरुपता ल्याउने गरी तयारी भइरहेको उहाँको भनाई थियो ।

अन्तरक्रिया कार्यक्रममा बागलुङ नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सरस्वती रेग्मी, सगुन होटल बागलुङका सञ्चालक सञ्जय कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका कार्यबाहक अध्यक्ष नविन शिशिर, सह–सचिव तारानाथ आचार्य र सिर्जना पन्तले बोल्नुभएको थियो ।

उहाँहरुले होटल सञ्चालकले कर्मचारीलाई नियुक्ती दिएर काम गराउनुपर्ने, न्यूनतम पारिश्रमिक दिनुपर्ने, कर्मचारीको सम्मान, पेशाको सुरक्षा र क्षमता अभिवृद्धीको लागि पनि काम गर्नुपर्ने बताउनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *