शिवशरण ज्ञवाली
ऊ म हुन पनि सक्छु ऊ आफै पनि हुन सक्छ । ऊ तपाई पनि हुन सक्नुहुन्छ । ऊ मपाईं पनि हुन सक्छ । ऊ १२ भाइ सम्पादकको आलोचना गर्ने रवि पनि हुन सक्छ पत्रकारितालाई लक्ष्य र जीवन बनाउने इन्द्र लोहनी, विजय कुमार, किशोर नेपाललगायतका थुप्रैथुप्रै समर्पित ज्ञातअज्ञात केन्द्र मोफसलमा प्रयत्नशील पत्रकार योद्धा पनि हुन सक्छ । अझ पर गएर हेर्दा ऊ राजनीति क्रान्ति, आन्दोलन, हुलबाजी, राजनीतिक पक्षधरता सबैप्रति निरपेक्ष रहेर हुलको विचार मात्रै होइन, बोल्न नसक्नेहरुलाई हरबखत आवाज दिन प्रयत्न गर्ने र कसैलाई मन परोस् या नपरोस् आफ्नो विचार निरन्तर प्रवाहित गर्ने विद्वान पत्रकार युवराज घिमिरे पनि हुन सक्छ । ऊ राजनीतिक पक्षधरता लिएर आन्दोलनमा झन्डा समात्ने पनि हुनसक्छ । रविले आलोचना गरेका १२ भाइ नभए पनि आलोचनाको निसानामा परेकामध्ये कोहीकोहीमा पनि ऊ भेटिन सक्छ । ऊ पत्रकार पनि हुन सक्छ नहुन पनि सक्छ । ऊ पढेको हुन पनि नहुन पनि सक्छ । तर ख्याल गर्नुहोला, कदाचित ऊ नपढेको रैछ भने पनि तपाईंको जीवनजगत् नबुझेको चाहि पक्कै होइन ।
ऊ गतनपतसँग घुमिरहन्छ । यायावर उसको जिन्दगी हो । कहिलेकाही भन्छ, ‘यो अगाडि हिडिरहेको बाटो गइराखे कहाँ पुगिएला ?’ अझ थप्छ, ‘मलाई त फर्कन त मनै छैन । तर के गर्नु ? बाध्यताले फर्कन्छु ।’ उसलाई अगाडि जाने नै चाहना छ । गएको पनि छ । ऊ अरुका जवाफप्रति खासै ध्यान दिन्न । उसका पनि त घरमा बा, आमा, श्रीमती, छोराछोरी सबै छन् । कटक्क मन खान्छ नि, सम्झदा । त्यसैले ऊ फर्कन्छ । तपाईंले गरिरहेको पेसा फर्केर पछाडि हेर्छ त ? परम्पराको अध्ययन गर्छ त ? इतिहास खोज्छ छ त ? देश विदेशको चलन के छ हेर्छ त ? उसले बुझेको छ, तपाईंको पेसाले यसो गर्दैन । बरु मै जान्ने मै सुन्ने भन्छ ।
जमानामा हो, ३० वर्ष अगाडि होला । कसैले ‘इखाली’ छापिदियो, उसलाई । कथाको पोयो यसरी फुक्दो रहेछ । दूरदराजको समाचार तिमीले गल्ती लेख्यौँ छाप्यौँ भन्दै
सम्पादकलाई चिठी लेखेछ, उसले । सम्पादकले चिठी छाप्न त छापेछ तर उसकै थर नै उल्टो छापिदिएछ । त्यो चिठी छापिन्छ कि छापिदंैन भनेर उसले पन्ध्र दिनदेखि कुरेको थियो । लेखेर हुलाकमा गएर दुई रुपैयाँको टिकट टाँसेर पठाएको थियो, विचरा ।
दिनदिनै पत्रिका हेर्न एक घन्टाको बाटो हिडेर आउँथ्यो ऊ हुलाकघरमा, आफ्नो चिठी छापिएको आशामा । तीनचार दिनपछिका बासी पत्रिका बल्ल आइपुग्थे, त्यहाँ । हुलाकी बालाई फकाएर ऊ पत्रिकामा लागेको स्टीच खोल्थ्यो अनि सरासर आफ्नो स्थान खोज्थ्यो । त्यसरी पल्टाउँदा भेटिएका कुनै समाचार उसले पढी पनि हाल्थ्यो । अमेरिकाका गगनचुम्बी महलमा जहाज ठोकिएर निस्केको आगोको लप्काको फोटो उसले त्यही पत्रिकामा हेरको थियो । आज पनि उसलाई त्यो फोटोको सम्झना छ । एकदिन त्यसरी पत्रिका हेर्दाहेर्दै ऊ अचानक बोल्यो, ‘थुक्क ! तेरो बाजे । मेरो थर नै इखाली बनाउने । यस्तो थर हुन्न है भन्ने यति कुरा पनि थाहा नपाउने ? के सही लेख्ला यसले ?’ टेबलमा खुरुखुरु आफ्नो काम गरिरहेका हुलाकी बाको कन्सिरी ‘तेरो बाजे’ भन्ने शब्दले तातेर आउँछ । अनि उनी जंगिदै टेबल ठोक्न पुग्छन्, ‘के भनिस् ? कसलाई भनिस् ?’
हुलाकी बाकोभन्दा उसको बल त बढी थियो तर बल छ भन्दैमा बामाथि जङ्गिनु हुँदैन । गाउँका भए पनि बा नै हुन् । सानामा कहीकतै उसलाई रक्षा पनि गरे होलान् । उसले आतिदैं तुरुन्तै हात जोडेर भन्यो, ‘होइन हुलाकी बा । होइन । तपाईंलाई भनेकै होइन । यो छाप्नेलाई पो भनेको हो त । हेर्नु त मेरो थरै बिगारिदिएछ ।’ तर हुलाकी बाको थर्काइ रोकिएन । हुलाकी बा रिसले बर्बराउँदै थिए, ‘अक्षरमाथि थुकिस् कुलङ्गार । आइन्दा ! अक्षरमाथि नथुक्नु । अक्षरमाथि नबस्नु ।’ बाको कड्डाइ उसको हात जोडाइले अलिक मत्थर भयो । तैपनि बा हैकम जमाउँदै बोले, ‘बोल्दा विचार पु¥याएर बोल्नुपर्छ । स्पीच कन्ट्रोल ।’
ऊ आफ्नो बोल्ने शैलीका कारण पछुताउँदै हुलाकी बाको गालीलाई नतमस्तक भएर सुन्यो । उसले हुलाकी बाका कुरालाई ठीकै मान्यो । ‘अक्षरमाथि नथुक्नु । अक्षरमाथि नबस्नु ।’ यो भनाइले उसलाई छोयो पनि । हुलाकी बाले उसलाई पत्रिका पढाए । प्रेमपत्र पढाए । रजिष्ट्ररी चिठी पढाए । गाउँ ठेगाना पढाए । कक्षाकोठामा गएर आफ्नो गाउँको नाउँ पढाए । घरघरमा गएर चिठी पठाए । चिठी लेख्दा छाडिएका खाली ठाउँ आफै भरेर पढ्न सिकाए । अलिअलि हल्काराको काम पनि सिकाए । सबै सिकाउने हुलाकी बाकै अफिसमा उसले मनमनै प्रण ग¥यो, ‘म पनि पढेर यस्तै पत्रिका छाप्छु ।’
ठूलो भएर ऊ काठमाडौँ पढ्न भनेर गयो । नभन्दै पत्रकारिता पढ्न पनि थाल्यो । पत्रकारिता पढ्न थालेपछि पत्रकारिता गर्न पनि थाल्यो । निशुल्क पत्रकारिता । सिक्दै पढ्दै । दैनिक साप्ताहिक दुवैमा उसको संलग्नता भयो । बिहान पढ्न जान्थ्यो । दिउँसो लखरलखर समाचार खोज्न डुल्थ्यो । कीर्तिपुरबाट रत्नपार्क आउँदाजाँदाको भाडा तिर्न पनि कुनै कन्ज्युस्याँइ गरेन ।
एकदिन सम्पादकले उसलाई सिकाए, ‘भाषणभूषण गरेका ठाउँमा जानु समाचार खोज्न । ठूलो मान्छे के बोल्छन्, त्यसलाई उल्टो पिरामिडमा जस्ताको तस्तै लेखेर ल्याउनु ।’ उसले मनमनै गम खायो, ‘भाषण समाचार !’ विचरो ! सम्पादकले पठाएपछि ऊ खरुक्क जान्थ्यो, कार्यक्रममा । कोठे कार्यक्रममा जाँदाको उसका अलग्गै अनुभूति छन् । कोठामा मान्छे टनाटन रहेछन् भने संचालक उसलाई भित्र छिर्नै दिदंैनथे । कार्यक्रम संचालक भन्थे, ‘ठूला पत्रकारमात्रै भित्र अरु सबै बाहिर बाहिर ।’
मन कटक्क काटिन्थ्यो, उसको । तापनि सम्पादकको आदेश मान्नैप¥यो । अनि ऊ ढोकाबाहिरैबाट सुनेर ल्याउँथ्यो, ठूला मान्छेका भाषण । अफिसमा आएर बडो दुख गरिगरि लेख्थ्यो तर सम्पादकले त्यो छाप्दैनथे । सम्पादकले उसले ल्याएकै समाचार हेरेर आफ्नै पाराले बनाउँथे । लाग्थ्यो, सम्पादकले लेखेको समाचार त्यो बोल्ने मान्छेले सुन्यो भने ऊ आफै पनि छक्क पर्छ होला । सम्पादकले समाचार आफै लेखेपछि उसको नामगोत आउने कुरै भएन ।
सम्पादकको त्यस्तो लेखाइ देख्दा ऊ आफै पनि छक्क पथ्र्योे । पढ्दा त उसले ‘नोज फर न्युज’ पढेको थियो । तर सुनेको थियो, ‘पत्रकारिता पढेरभन्दा गरेर सिकिन्छ ।’ सम्पादकले ‘त्यही गरेर’ सिकेका होलान् भन्दै उसले चित्त बुझाउँथ्यो । बाटोको छेउमा थुप्रिएको फोहर, आफैमाथि गाडीमा भएको दुव्र्यवाहर, सडकपेटीमा हुने अबाञ्छित गतिविधि, सरकारी कार्यालय, स्कुल कलेजका विकृति, भ्रष्टाचार कुनै कुरा पनि उसको नाकले सुध्नुँ हुँदैनथ्यो । नेताबाहेक अरु समाचार बन्नु हुँदैनथ्यो । सम्पादकले कहिलेकाही उसलाई निर्देशन पनि दिन्थे, ‘ऐक्यबद्धता जनाउँदै त्यो जुलुसमा तिमी जानू । जुलुसले तोडफोड गरे, कुटपिट गरे, धम्काए नदेख्नु । कोणसभामा नेता के बोल्छन्, त्यो लेखेर ल्याउनु ।’
सम्पादकले भनेको मान्नै प¥यो । उसले देख्यो, जुलुसले एक वृद्धाको नाङ्लो उठाएर फ्याँकिदियो । उसको पत्रकारिताले सुँधेन । फरक क्षमताको व्यक्तिले जीविकाका लागि लिएको तुलो हुलले किचकाच पा¥यो । उसले कलमले लेख्नै मानेन । बन्दमा गाडी चलाएको आरोपमा गाडी तोडफोड भयो । उसले देख्ने कुरै भएन । मस्जिद र मन्दिरमा चढेर जुलुसले मनपरि ग¥यो । उसले त्यसलाई सुगन्ध देख्यो । उसले त केवल नेताले भाषण गरेको देख्यो । लेख्दालेख्दै रोकेर नेताको भाषणमा अरुले जस्तै उसले पनि ताली बजायो । अनि नेताको भाषणको समाचार बनाएर ल्यायो । कक्षामा पढेको कुरा बदल्यो ‘नोज फर न्युज’ होइन ‘इयर फर स्पीच न्युज’ हो । समाचार उसले ल्यायो सम्पादकले सम्पादन गरेर आफ्नै नाममा लेखें । त्यसदिन भने सम्पादकले उसलाई माया गरेर भनिदिए, ‘भाइ ! तिम्लाई नाम चाहिएको छ भने लेख लेख्नु ।’ हुलाकी बासँग जस्तो ऊ आजकाल बोल्न सक्दैन । ‘मौन स्वीकृति लक्षणम् ।’
व्यस्त बजारको ठूलो पुरानो घरको चौथो तलामा पत्रिकाको अफिस थियो । अफिसमा कोठैकोठा थिए, हरेक पत्रकारका । त्यहाँ उसले एक महिला संवाददातालाई भेट्यो । जिल्ला पनि एउटै कक्षा पनि एउटै । कलेजमा नभेटे पनि पत्रिकाको अफिसमा भेट्दा ऊ हर्षले विभोर भयो । जिल्ला र कक्षा एउटै भए पनि ती युवती भने ऊ सँग भन्दा सहसम्पादकसँग पो नजिक रहिछन् । उसलाई ईष्या पनि लाग्यो । उमेर पनि मै सँग मिल्छ बरु । मनमनै गम खायो, ‘त्यो मोरो सुड्डो सहसम्पादकसँग यो नजिक छे । बरु मै सँग नजिक हुनु नि ।’ उसको अहम्ले उसलाई नै घोच्यो । तर बाहिर भन्न सक्ने त होइन, मरिगए ।
ऊ अफिस पुग्दा त्यो साथी सधैं पहिल्यै पुगिसकेकी हुन्थी । ऊ सरासर आफ्नो कोठामा जान्थ्यो तर त्यो संवाददाता भने सधैं सहसम्पादकका कोठामा हुन्थी । एकदिन उसले अचानक उनीहरु भएको कोठाको ढोका धकेल्यो । भित्रका दुवैजना आतिदैं पो उठे । त्यस दिन सहसम्पादकले उसलाई अर्डर दिए, ‘भाइ ! हामीले समाचार लेख्न लागेको बेला बाहिरबाट डिस्टर्व नगर्नु । केही सोध्न परे ‘नक’ गर्नु । यो नक गर्ने भनेको के रहेछ भनेर उसले धेरै वर्ष गम खायो । तर त्यो दिनदेखि उसले कहिल्यै सहसम्पादकको ढोका धक्काएन ।
अर्को दिन सहसम्पादकले अर्को फर्मान जारी गरे, ‘रातीले जहाँजहाँ भन्छिन्, तिमी त्यहीत्यही जानु । उनलाई नछाड्नु । उनीसँग गएको बेला तिम्ले लेख्नु पर्दैन ।’ ती संवाददाताले एकदिन उसलाई राष्ट्रिय सभा गृह लिएर गइ । सभा गृहको भित्र निस्पट अँध्यारो देखेर ऊ आफंै दङ्ग प¥यो । बाहिर उज्यालो भित्र अँध्यारो । फेरि उसले एकदिन चलचित्रका दुईटा टिकट लिएर आइ । उनले भनी, ‘सहसम्पादक सरले मिलाइदिनु भएको । हामीले फिल्म हेरेर समीक्षा लेख्नुपर्छ ।’
ऊ रातीको पछिपछि फिल्म हेर्न गयो । हलमा छिर्नेबेलामा सबैले उनीहरुलाई आँखा तानीतानी हेरें । उसले अप्ठ्यारो पनि मान्यो । चुपचाप बाल्कोनीको पछाडिको सिटमा गएर बसे, उनीहरु । तर अचम्म के भयो भने त्यो दिन फिल्म हेरेपछि राती त टाढाटाढा पो हुन थाली । हुँदाहुँदा त एकदिन सम्पादकको खबर भन्दै सहसम्पादकले उसलाई निर्देशन दिए, ‘तिमी न फिल्म हेर्न जानेका रहेछौँ । न त समीक्षा लेख्न नै । अब भोलिदेखि तिमी नआउनु ।’
उता आफ्नी साथी राती परपर गरेकोले किशोर मनमा उसको चोट त पहिल्यै पुगेको थियो अर्कोतिर पत्रकारिताबाटै हात धुनुप¥यो । ऊ एकछिन बिस्मित भयो । तापनि बाहिरिनै प¥यो । पत्रकारिताको अपरिभाष्य परिभाषा देखेर ऊ आफंै गम खायो ।
घुम्दै फिर्दै रुम्जाटार ऊ एकजना नेता सम्पादकको पत्रिकामा पुग्यो । उनी शहरमा सम्पादक गाउँमा नेता । पहिलो दिन नै उसलाई निर्देशन दिदैं ती नेता सम्पादकले भने, ‘हाम्रो पार्टीको राम्राराम्रो कुरा मात्रै लेख्नु अर्काको पार्टीको नराम्रोनराम्रो कुरा मात्रै लेख्नु ।’ कुरा सुनेर उसले चित खायो । कक्षामा गुरुले उसलाई पढाउँदा भन्थे, ‘पत्रकारिता भनेको आवाजविहीनहरुको आवाज ।’ काम गर्ने थलोमा सम्पादकहरु भन्थे, ‘नेता र दलको मात्रै समाचार लेख्नु अरु नदेख्नु । रामं्राभन्दा नराम्रा लेख्नु ।’
खै ! त्यो नेता सम्पादकको पत्रिकामा उसलाई त्यति दिलचस्पी लागेन । नेता सम्पादकको हैकम नै ठूलो । त्यो थेगुलाजस्तो नलागेपछि ऊ जान छाड्यो । सम्पादकले सानो मान्छेलाई खोज्ने कुरो भएन । एकाध मै हुम् भन्ने पत्रिकामा पनि काम ग¥यो । सबै निशुल्क नै काम गराउन खोज्ने । यो श्रमशोषणले गर्दा उसलाई विरक्त लाग्यो । समाचार पनि सत्यतथ्य र विश्वसनीयभन्दा पनि सम्पादकको तजबिज र नाफाघाटामा लेखिए । उसले बुझ्यो सम्पादकलाई मन नपर्ने कुरो लेख्नु हुन्न । सम्पादकले पनि एकदिन उसलाई सुनाए, ‘भाइ सत्यतथ्य लेखेर मात्रै हुँदैन । प्रकाशन पनि गर्न सक्नुपर्छ । मेरो बाध्यता तिमी बुझ्छाँै ।’
बाहिर पृष्ठभरि नै ज्याकेट विज्ञापन छाप्ने सम्पादकको बाध्यता किन नबुझ्ने उसले । सनसनी पो त समाचार हो । यो पनि बुझ्यो । ठूलो समाचार पत्रमा त देशभित्रको मात्रै नभएर बाहिरको पनि कुरो हुँदो रहेछ । सम्पादक त ठूलो मान्छे पो त । राष्ट्रिय अन्तराष्ट्रिय कुराहरु आउँछन् । राष्ट्रिय अन्तराष्ट्रिय भएर के गर्नु आफूले दुख गरेको पैसो दिने होइन । अनि उसले त्यो पत्रिका पनि त्यसै छाडेर हिड्यो ।
लाग्यो, उसलाई जिल्लातिर जानुप¥यो । शहरका पत्रिका त के पत्रिकाका आफूले लेखेको समाचारमा नाम समेत छपाउन नपाइने । जिल्लातिर फर्केको त पत्रिकाको मुहार सधैं एउटा । चारपन्ने । ब्ल्याकेन ह्वाइट । विज्ञापन पनि शुभकामना र श्रद्धाञ्जली । अरु त भए पो देशअनुसारको भेष चल्नै प¥यो । सम्पादक त जिल्लाका नेतै हुँदा रहेछन् । अन्यहरु कार्यकर्ता । शहरमा केवल आस्था मात्रै राख्थे यहाँ त नेता कार्यकर्ता । हाकाहाकी भन्ने रेडियो कार्यक्रम उसले पनि सुनेको थियो । हाकाहाकी भनेको के रहेछ, यो त जिल्लामा आएर पो बुझ्यो । जिल्लातिर सम्पादक भनेको सम्मान रहेछ । सम्पादक भनेको प्रतिष्ठा रहेछ । सम्पादक भनेको नेता रहेछ । सम्पादक भनेको अक्षर नर्कोनु रहेछ । सम्पादक भनेको व्यवस्थापक रहेछ । वास्तविक सम्पादकको कथाव्यथा कसले पो लेख्छ र ?
मोफसलमा पनि उसले लेख्नु पर्दो रहेछ । फरक यति रहेछ, उसले लेखेको समाचार यहाँका सम्पादकले काट्दा रहेनछन् । उसको नाम पनि छापिदिंदा रहेछन् । तर पार्टी भने एउटै हुनुपर्दो रहेछ । केन्द्रमा पत्रकारिता व्यापारीकारिताले खाएको थियो भने जिल्लामा पत्रकारिता दलकारिताले खाएको रहेछ । उसले पक्ष दलको पत्रकारिता पनि ग¥यो विपक्षी दलको पत्रकारिता पनि ग¥यो । सबैभन्दा बढी दुख उसलाई के लाग्यो भने सम्पादक नाम मात्रका हुँदा रहेछन् । सम्पादकको काम त संवाददाताले गर्दो रहेछ । उसले कैयौं वर्ष पत्रकारिता ग¥यो तर पत्रकार पहिचान पाएन । कारण ऊ दलविहीन थियो । पछि कसैले उसलाई सुझायो, ‘तँ यदि पत्रकारको परिचय लिन चाहन्छस् भने दलको सदस्य ले पहिले ।’
उसले कुरो बुझ्यो । अनि दलको सदस्य लियो । दलको सदस्यता लिएको भोलिपल्टै उसलाई पत्रकारिताको सदस्यता पनि मिल्यो । जिल्लामा उसले बुझ्यो समाचार भनेको केवल देखिने कुरा मात्रै हो । नदेखिने होइन । ‘राष्ट्रपतिले मन्दिरमा पूजा गर्नुभयो ।’ यो पो समाचार । हेलिकप्टरमा आएकी राष्ट्रपतिले चढेको बिना नम्बरको गाडीको व्यवस्था हतारहतार कसले ग¥यो ? उहीबाट पो आयो कि सँगै ? राष्ट्रपतिको स्वागतमा उभिने पार्टीका कार्यकर्ता कि आम सर्वसाधारण ? त्यो बेला सार्वजनिक सम्पतिको दुरुपयोग ककसले ग¥यो ? फोटो खिच्नेमा कार्यकर्ता थिए कि नागरिक अगुवा ? आम जनताको उक्त परिघटनाप्रतिको दृष्टिकोण ? जान्नेबुझ्ने समाजशास्त्रका अध्येता के भन्छन् ? यस्ता यावत् आम जिज्ञासाहरुको उत्तर जिल्लाको पत्रकारिताले खोज्नु हुँदैन भन्ने उसले देख्यो जान्यो ।
पाँच लाख खर्चमा पचास लाख बिल पचाएको हल्ला सुनेपनि वास्तविकता नखोज्नु भन्ने सुन्यो । सुन्तला खेतीबाट प्रशस्त आम्दानी भएको देख्यो तर कृषिमा भएको भष्टाचार उसले देखेन । राज्य प्रशासनमा भएको वेथिति उसको नजरमा परेन । केन्द्रमा नेताका मात्रै समाचार लेख्ने उसले जिल्लामा हाकिमहरुका पनि समाचार लेख्नु पर्ने बुझ्यो । विज्ञापनका लागि हात जोड्नुपर्ने बाध्यता सम्झयो । कार्यक्रममा गराइने आसनग्रहण बुझ्यो । धाक धम्की र वेवास्तामा समाचार परेको कुराको पनि गाँइगुँइ सुन्यो, उसले । आफूलाई आसन ग्रहण गराइएला कि नगराइएला भनेर पनि अल्झिनु पर्छ भन्ने उसले बुझ्यो । मन्चमा बसेपछि बोल्नै पर्ने, माला लगाउनुपर्ने नियमले समाचार हराउँछन् भन्ने उसले नबुझ्नु थियो । बुझेन । बोल्ने सक्नेहरुका आवाजले दिक्दार लाग्यो उसलाई । पत्रकारले पढ्ने पर्ने किताबहरु के के हुन् भनेर खोज्दा खासै भेटेन उसले । पत्रकारले लेखक बन्न प्रयत्न गरेको उदाहरण पनि देखेन । दिक्क लागेर त्यहाँबाट पनि ऊ उछिट्टियो ।
बाहिर आएर हेर्दा उसले बुझ्यो, जे भए पनि अक्षरको खेती गर्न सिकाउने पेशा यही हो । भोकभोकै काम गर्नेहरु छन्, त्यहाँ तिनलाई सलाम गर्नुपर्छ । यी दिनदिनै अक्षर कोर्नेहरुको कदर हुनुपर्छ । यी त काल्पनिक छन् । सिर्जनात्मक छन् । सिर्जना कल्पना नगर्नेहरुको जमात आजकाल बढ्दो छ । तिनीहरु नकारात्मक छन् । त्यस्तालाई हतोत्साही गरिनुपर्छ । आशावादितालाई पुरस्कृत । पत्रकारिताले आफ्नै ऐनामा आफ्नो अनुहार हेनुपर्छ । देवकोटाले उतिबेला पागल कवितामा लेखेको कुरा सधैं सत्य हुनुहुन्न । विपीले भनेको कथन पनि बदल्नुपर्छ । उसले हुलाकी बाका कुरा पनि सम्झियो । अक्षरमाथि नथुक्नु अथरमाथि नबस्नु । मनभरि यस्ता कुरा खेल्दाखेल्दै ऊ त भुसुक्कै
निदाएछ ।